भैरहवा । कांग्रेस केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले यहाँस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रोजगारीका लागि स्थानीयलाई प्राथमिकता दिइने आश्वासन दिएका छन् । विमानस्थलमा नयाँ रोजगारी खुलेका बेला स्थानीयले प्राथमिकता पाउने उनको भनाइ थियो ।
सत्ता गठबन्धनबाट रुपन्देही–३, मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खाँणले शनिबार यहाँ आयोजित कार्यक्रममा स्थानीयले जग्गा उपलब्ध गराएपछि मात्र विमानस्थल निर्माण भएकाले रोजगारीमा स्थानीयले प्राथमिकता पाउने बताए । ‘स्थानीयले जग्गा नदिएको भए विमानस्थल निर्माण हुन्थेन,’उनले भने, ‘त्यसैले पुस्तौंदेखि बसोबास गर्दै आएको जग्गा उपलब्ध गराएर योगदान पुर्याएकाले नै रोजगारीमा पहिलो प्राथमिकता पाउनुपर्छ ।’
खाँणले विमानस्थल यस क्षेत्रको आर्थिक समृद्धिको ढोका खोलेको जनाउँदै यहाँ हुने हरेक गतिविधिसँग स्थानीयलाई जोडेर आत्मनिर्भर र रोजगाररत बनाउनु आफूहरुको पहिलो प्राथमिकता रहेको बताए ।
‘मैले सुरुदेखि नै भन्दै आएको कुरा यही हो, यहाँका स्थानीय हरेक कुराहरुमा प्राथमिकतामा पर्नुपर्छ, उनीहरुले विमानस्थललाई अपनत्व ग्रहण गर्नुपर्छ र आत्मनिर्भर पनि बन्नुपर्छ,’ उनले भने ।