काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली भाषा, साहित्य र संस्कृतिका धरोहर ‘शताब्दी पुरुष’सत्यमोहन जोशीको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । एक विज्ञप्ति जारी गर्दै प्रचण्डले आइतबार बिहान १०३ वर्षको उमेरमा निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका हुन्।
जारी विज्ञप्तिमा भनिएको छ,‘नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाई स्थापित गर्न उनले गरेको योगदान सम्पूर्ण नेपालीका लागि चीर स्मरणीय रहनुका साथै १०३ वर्षको उमेरमा पनि उहाँको सामाजिक क्रियाशीलता विश्वभरिका मानव समुदायलाई उत्प्रेरणाको श्रोत बनेर रहने छ ।’
नेपाल सरकार र नेपाली जनताले जोशीको योगदान र क्रियाशीलताको सदा उच्च सम्मान गरिरहने प्रचण्डले विश्वास लिएका छन्।
जोशी बाबु शंकरराज जोशी र आमा राजकुमारीका सुपुत्रका रूपमा वि. सं. १९७७ साल वैशाखमा ललितपुरमा जन्मेका हुन्। नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षणमा लागेका उनलाई नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको थियो।
उनले हाम्रो लोक संस्कृतिका लागि पहिलोपटक वि. सं. २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रोपटक वि. सं. २०१७ सालमा र कर्णाली लोक संस्कृति नामक ग्रन्थको लागि उनले संयुक्त रूपमा तेस्रोपटक वि. सं. २०२८ सालमा मदन पुरस्कार प्राप्त गरे। उनले सुप्रबल गोर्खा दक्षिणबाहुलगायत धेरै पुरस्कार र सम्मान समेत पाएका छन्। २०७१ सालमा त्रिमूर्ति निकेतनले उनलाई ‘शताब्दी पुरुष’सम्मान दिएको थियो।





