शताब्दी पुरुष जोशीको निधनमा सरकारले राष्ट्रिय सम्मानसहित सार्वजनिक विदा दिने

शताब्दी पुरुष जोशीको निधनमा सरकारले राष्ट्रिय सम्मानसहित सार्वजनिक विदा दिने

३० असोज, काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने निर्णय गर्ने बताए । यद्यपि सरकारले निर्णय गरिसकेको छैन ।

शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई ‘राष्ट्रिय सम्मान’का साथ बिदाइ गरिने भएको छ । गृहमन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जोशीको पार्थिव शरीर ललितपुर महानगरपालिका परिसरमा राखेर नेपाल प्रहरीको एक टुकडीले शोक सलामी दिने निर्णय भएको बताए ।

ललितपुर प्रहरी परिसर प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले पनि दिउँसो ४ बजे ललितपुर महानगर परिसरमा शोक सलामीका लागि तयारी गरिएको बताए । शोक सलामी दिएर जोशीको शव ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई हस्तान्तरण गरिने छ ।

आइतबार दिउँसो ललितपुर महानगरपालिका परिसरमा जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका मन्त्री श्रेष्ठले पत्रकारहरुसँगको कुराकानीमा आफूले एक दिन विदा दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको बताए ।

‘भर्खरै मैले सम्माननीय प्रधानमन्त्रीज्यूसँग समन्वय गरेँ । संस्कृति मन्त्रालयले प्रस्ताव बनिसकेको छ’ उनले भने, ‘शताब्दी पुरुष सत्यमोहन जोशीज्यूको निधनमा सरकारको तर्फबाट शोकको रुपमा एक दिन राष्ट्रिय विदा दिने निर्णय भएको छ, यसको आधिकारिक सूचना सरकारी माध्यमबाट आउनेछ ।’