काठमाडौं : आसन्न निर्वाचनमा प्रतिनिधिसभाका उम्मेदवार एवं पूर्वसभामुख ओनसरी घर्तिमगरले राजनीतिक स्थायित्व स्थापनाका लागि आफूले उम्मेदवारी दिएको बताएकी छन्।काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएकी घर्तिमगरले प्रतिगमनविरुद्ध र राजनीति स्थायित्वका लागि उम्मेदवारी दिएको बताएकी हुन्। सो क्षेत्रमा आयोजित कार्यक्रममा उनले जोरपाटी-साँखु सडक स्तरोन्नतीका लागि पहल थाल्ने बताइन्। रोजगारी वृद्धि आफ्नो पहिलो प्राथमिकता रहेको उनको भनाइ छ।
काठमाडौं उपत्यकामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेकी हुन् । उनले भनेकी छन्, ‘जोरपाटी–साँखु सडको स्तरोन्नति तथा सम्पन्न गराउने काम जसरी ढिलाई भएको छ । म घोषणा गर्न चाहन्छु– आगामी दुई वर्षमा यदि त्यो कार्य मैले सम्पन्न गर्न सकेन भने म राजीनामा गर्छु ।’
साँखु बजार र साली नदीको पर्यटकीय स्थलका रुपमा विकास गर्ने, जर्सिङपौवालाई संग्राहालयका रुपमा विकास गर्ने उनको प्रतिवद्धता छ । दक्षिणढोका, मुलपानी लगायतका क्षेत्रमा रहेको डुबानको समस्या समाधानका लागि योजना बनाएर काम गर्ने उनको घोषणा छ ।
मूलपानीमा निर्माणिधिन क्रिकेट रंगशाला छिट्टै सम्पन्न गर्न भूमिका खेल्ने, एयरपोर्ट निर्माणका क्रममा समस्यामा परेकाहरुको समस्या समाधानका लागि पहल गर्ने, कोटेश्वरको जाम हटाउन पहल गर्ने, नाङलेभारेमा कृषि तथा वन विज्ञान कलेज स्थापनालाई मूत रुप दिएर अगाडि बढाउने उनको प्रतिवद्धता छ ।
युवालाई रोजगारी बृद्धि, खेलकुदमा आर्कषण बढाउने, तरबारी उत्पादन र बजारीकरणका लागि योजना बनाएर काम गर्ने, महिला अधिकार हकहितका लागि काम गर्ने लगायतका उनको प्रतिवद्धता छ ।





