अब पैसा नभएकै कारण शिक्षा र स्वास्थ्यबाट वञ्चित हुनुपर्दैन : कांग्रेस प्रवक्ता

अब पैसा नभएकै कारण शिक्षा र स्वास्थ्यबाट वञ्चित हुनुपर्दैन : कांग्रेस प्रवक्ता

काठमाडौँ । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले चुनावपछि कांग्रेस नेतृत्वमा गठबन्धनकै सरकार बन्ने बताएका छन् । उनले गठबन्धनको सरकार बनेपछि पैसा नभएकै कारण शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवा सुविधाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य हुने बताए ।

‘विगतमा नेपाली कांग्रेसकै नेतृत्वमा ठूलो प्रयासपछि यो संविधान जारी भएको हो । गत निर्वाचनमा हामी प्रतिपक्षमा पुग्यौँ, सरकारले संविधानले व्यवस्था गरेका आधारभूत अधिकार नै जनतालाई दिन सकेन,’ उनले भने, ‘यो चुनावमा हामी विश्वस्त छौँ । चुनावपछि हाम्रै गठबन्धनको सरकार बन्छ र संविधानले परिकल्पना गरेबमोजिम अब पैसा नभएकै कारण शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवासुविधाबाट वञ्चित हुनुपर्ने अवस्था रहने छैन ।’

सोमबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले गठबन्धनले संविधानमा भएका व्यवस्थाहरूको कार्यान्वयन गर्ने र लोकतान्त्रिक संस्कृतिलाई जीवन पद्धति बनाउने कुरामा जोडबल दिएको बताए ।

Europass CV in Nepal

उनले युवालाई स्वदेशमै रोजगारीको वातावरण तयार गर्ने स्पष्ट योजना र खाका सरकारले प्रस्तुत गर्ने बताए । ‘हामी युवाहरूलाई स्वदेशमै रोजगारीको वातावरण बनाउन तत्पर छौँ । त्यसका लागि आगामी सरकारले त्यसको स्पष्ट योजना र खाका लिएर आउनेछ,’ उनले भने, ‘हामी विगत्‌को सरकारले जस्तो घरघरमा ग्याँस, पानी जहाज भन्नेजस्ता हावादारी घोषणा गर्दैनौँ । हाम्रो गठबन्धन जनताको अधिकारप्रति समर्पित सरकार बनाउने कुरामा प्रतिबद्ध छ ।’

उनले मुलुकले अहिले ठूलो व्यापारघाटा बेहोर्नुपरिरहेको भन्दै गठबन्धन सरकारको जोड मुलुकको आर्थिक समृद्धिमा हुने बताए । ‘गठबन्धनको सरकारको प्राथमिकतामा नागरिकको जीवनलाई सहज बनाउने योजनाहरू छन् । अब बन्ने सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता सुनिश्चित गर्नेछ,’ उनले भने ।

Europass CV in Nepal