नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइँ’को ट्रेलर रिलिज

नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइँ’को ट्रेलर रिलिज

नेपालको हिमाली क्षेत्रहरुमा छायांकन भएको बलिउडको मल्टीस्टारर फिल्म ‘उचाइँ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार निर्माण कम्पनी राजश्रीको यूट्युब च्यानलबाट सार्वजनिक भएको २ मिनेट ५१ सेकेन्ड लम्बाईको ट्रेलरले मित्रताको कथा बोल्छ । अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर र बोमन इरानीको मित्रताको वरिपरि फिल्म घुमेको ट्रेलरबाट प्रस्ट्याइएको छ ।

आफ्नो जन्मदिनमा डेनीले संसारकै अग्लो शिखर सगरमाथा घुम्न जाने प्रस्ताव साथीहरुलाई राख्छन् । तर, पाको उमेरका कारण साथीहरु सगरमाथा जान तयार हुँदैनन् । तर, अचानक डेनीको निधन भएपछि उनको अधुरो सपना साकार गर्न अमिताभ, अनुपम खेर र बोमन सगरमाथा यात्रामा निस्कन्छन् । सगरमाथा यात्राको क्रममा आउने आरोह-अवरोहलाई नै ट्रेलरमा देखाइएको छ ।

ट्रेलरमा नेपालका सेताम्मे हिमालसँगै सगरमाथालाई पनि लोभलाग्दो रुपमा देखाइएको छ । यसले नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो सघाउ पुग्न सक्ने देखिन्छ । अगामी ११ नोभेम्बर २०२२ अर्थात् कात्तिक २५ गतेबाट प्रदर्शनमा आउन लागेको ‘उचाइँ’को २०७८ सालको कात्तिकमा नेपालमा छायांकन भएको थियो । नेपालमा फिल्मको छायांकनका लागि २० करोड खर्च भएको थियो ।

बलिउडका भेट्रान निर्देशक सूरज बडजात्याद्वारा निर्देशित यस फिल्ममा नेपाली कलाकारहरु परमिता राज्यलक्ष्मी राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी लगायतको पनि अभिनय छ । परमिताले फिल्ममा बलिउड अभिनेत्री नानी गुप्ताको डमी पात्र निभाएकी छन् ।