दाङ २ का उम्मेदवार ई. अधिकारीले गरे बाचा पत्र सार्वजनिक

दाङ २ का उम्मेदवार ई. अधिकारीले गरे बाचा पत्र सार्वजनिक

कात्तिक दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ई. बिशाल अधिकारीले आफ्नो बाचा पत्र सार्वजनिक गरेका छन् । घोराहीमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले २५ बुँदे बाचा पत्र सार्वजनिक गरेका हुन् ।

बाचा पत्रमा उनले सूचना प्रविधि, कृषि, पर्यटन, रोजगारी र भौतिक पूर्वाधार विकासलाई प्रथामिकतामा राखेका छन् ।

ई. अधिकारीले दाङ उपत्यकालाई व्यवस्थित शहरका रुपमा विकास गर्न दाङ उपत्यका विकास प्राधिकरण स्थापना गर्ने बताए । उनले अर्गानिक दाङ, आत्मनिर्भर दाङ, कृषि प्रयोजनका लागि निःशुल्क विद्युत, कृषि संकलन केन्द्र, सिटी बस सञ्चालन, घोराही–लमही सडक मार्ग अन्तरगत कुइरेपानी–अर्जुन खोला सडकखण्डको बैकल्पिक सडक निर्माण गरिने बाचा पत्रमा उल्लेख गरेका छन् ।

उनले दाङलाई सूचना तथा प्रविधिको हब बनाउने बाचा पत्रमा उल्लेख गरेका छन् । घोषणा पत्र सार्वजनिक गर्दै दाङ भ्यालिलाई सिलिकन भ्यालीको अवधारणामा विकास गर्न सूचना तथा प्राविधिक हब बनाउने र युवालाई स्वदेशमै रोजगार सिर्जना गर्ने बताए ।

त्यसैगरी दाङलाई शैक्षिक हब, नारायणपुरमा विमान स्थल निर्माण, घोराही–तुलसीपुर मुख्य बजारमा विद्युत भुमिगत गर्ने, महाभारत र चुरे पर्वतको फेदीमा साइकल रुट निर्माण गर्ने ई. अधिकारीले बाचा पत्रमा उल्लेख गरेका छन् ।

दाङ क्षेत्र नम्बर २ बाट ई. अधिकारीसँगै एमाले महासचिव शंकर पोखरेल, गठबन्धनबाट माओवादी केन्द्रकी केन्द्रीय सदस्य रेखा शर्मालगायत १५ जना चुनावी मैदानमा छन् ।