मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

यूएईमै अस्ताए रोल्पाका पूर्व राष्ट्रिय भलिबल खेलाडी दीपक डाँगी

Himali Patrika 1 मिनेट पढाइ

रोल्पा । पूर्व भलिबल खेलाडीसमेत रहेका रोल्पाका एक युवकको यूएईमा मृत्यु भएको छ । रोजगारका लागि तीन वर्षअघि यूएई पुगेका रोल्पा नगरपालिका–८ जंकोटका दीपक डाँगीको गत शुक्रबार मृत्यु भएको परिवारले जनाएको छ।

तीन वर्षअघि सुरक्षा गार्डको रुपमा काम गर्न त्यहाँ पुगेका दीपक केही वर्ष नेपाली सेनामा आवद्ध रही राष्ट्रिय भलिबल खेलाडी भइसकेका थिए । उनी सेनाको जागिर छाडेर खाडीमा आकर्षक मानिएको सुरक्षा गार्डको काम गर्न पुगेका थिए । मृत्युको कारणबारे ठोस जानकारी नपाइएको परिवारले जनाएको छ ।

हाल लिबाङमा बसोबास गरिरहेका उनका छिमेकी लालबहादुर डाँगीले मृत्युको अचानक खबर पाए पनि के कारणले मृत्यु भयो भन्ने जानकारी नपाइएको बताए । करिब ३३ वर्षीय उनका घरमा श्रीमती, छोराछोरी, बाआमा र भाइबहिनी छन् ।

करिब ६ फिट अग्ला उनलाई राम्रो खेलाडी ठानेर नेपाली सेनाले खेलाडीका रुपमा भर्ना गरेको थियो । तर यूएईको आकर्षक जागिर पाइने आशले उनी त्यहाँस्थित इजीएसएस कम्पनीमा सुरक्षा गार्डको रुपमा काम गर्न पुगेका थिए । दीपक यूएईस्थित रोल्पाली युवाहरूले गठन गरेको संस्था अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजमा पनि आवद्ध थिए । उक्त संस्थाले अप्ठ्यारो परेका युवाका लागि सहयोग गर्दैआएको बताइन्छ ।

दीपकको निधनप्रति दुःख व्यक्त गर्दै समाजका अध्यक्ष सन्दीप थापाले दुःखद् घटना भएको प्रतिक्रिया दिएका छन् । समाजको पहलमा मृतकको शव नेपालस्थित घरमा पठाउने तयारी गरिएको दुबइमा रहेका समाजका प्रवक्ता शेरबहादुर डांगीले बताए । उनका अनुसार केही दिनअघि खाडीमै त्रिवेणी गाउँपालिका रोल्पाबाट रोजगारका लागि पुगेका अर्का एक युवाको ज्यान गएको थियो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।