छोरी साक्षी राखेर नयाँ कीर्तिमानसहित प्रतियोगिता जित्न पाएँ

छोरी साक्षी राखेर नयाँ कीर्तिमानसहित प्रतियोगिता जित्न पाएँ

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरा रंगशालामा बुधबार भएको ज्याभलिन थ्रो प्रतियोगितामा नेपाल पुलिसकी चन्द्रकला लामगादेले कीर्तिमान कायम गर्दै स्वर्ण पदक हात पारिन् । उनले ज्याभलिन थ्रो ४७.६० मिटर टाढा पुर्‍याउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

यसअघि नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा पनि चन्द्रकलाले बनाएको कीर्तिमान १३ औं सागमा लक्ष्मी चौधरीले भंग गरेकी थिइन् । लक्ष्मीले सागमा ४५.२७ मिटर ज्याभलिन फाल्दै कीर्तिमान बनाएकी थिइन् । तर, पोखरामा जारी नवौं खेलकुदमा चन्द्रकलाले ४६.६० मिटर टाढा फालेर आफ्नै नाममा कीर्तिमान लेखाउन सफल भएकी हुन् ।

प्रतियोगिता जितेपछि लामगादेले स्वर्ण पदक पहिरिरहँदा उनीसँगै दूध नछुटेकी आफ्नो डेढ वर्षीया छोरी पनि सँगै थिइन् । चन्द्रकलाले प्रतिस्पर्धा गरेका बेला भने छोरीलाई उनकी बहिनीले सम्हालेकी थिइन् । जब चन्द्रकलाले ज्याभलिङ थ्रोमा नयाँ कीर्तिमान बनाइन्, उनी दौडदै छोरी अंगाल्न पुगिन् । खोसिएको कीर्तिमान फिर्ता ल्याउँदा चन्द्रकलाको अनुहार जति उज्यालिएको छ, त्यो भन्दा बढी डेढ वर्षीया छोरी साक्षी राखेर स्वर्ण पदक जित्दा उज्यालिएको छ ।

Europass CV in Nepal

‘छोरी साक्षी राखेर नयाँ कीर्तिमानसहित प्रतियोगिता जित्न पाएँ । नेपाल पुलिस क्लब, विदेशमा हुनुहुने मेरो श्रीमान, भाइ सबैको सपोर्टले नै यो सम्भव भयो’, लामगादेले खुसी बाँडिन्, ‘एकदमै खुसी लागिराखेको छ ।’

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत नै असोज २९ गते भएको सटपुट प्रतियोगितामा पनि लामगादेले स्वर्ण पदक हात पारेकी थिइन् । उनले महिलातर्फको प्रतिस्पर्धामा १४.४० मिटर सटपुट फाल्दै स्वर्ण जितेकी थिइन् ।

पूरा भयो कीर्तिमान फिर्ता ल्याउने सपना

एथ्लेटिक्स अन्तर्गत नै कहिले सटपुट त कहिले ज्याभलिन थ्रोबाटै लगातार कीर्तिमान बनाइरहेकी चन्द्रकला ज्याभलिन थ्रोको कीर्तिमान १३ औं सागमा लक्ष्मी चौधरीले भंग गरेपछि खिन्न थिइन् । तर, यसपटक जसरी पनि आफ्नो गुमेको कीर्तिमान फिर्ता ल्याउने संकल्प गरेकी थिइन् । त्यही अनुसार आफूले कडा मिहिनेतका साथ प्रतियोगिताको तयारी गरेको र सफल पनि भएको चन्द्रकलाले प्रतिक्रिया दिइन् ।

‘सागमा स्वास्थ्य पनि ठीक थिएन, राम्रोसँग तयारी गर्न नपाउँदा राम्रो गर्न पाइन, बैनी (लक्ष्मी चौधरी) को चाहिँ राम्रै भयो । उसले मेरो रेकर्ड ब्रेक गर्‍यो’, चन्द्रकलाले भनिन्, ‘यसपटक त ब्रेक भएर कीर्तिमान जसरी पनि मेरै नाममा ल्याउनुपर्ने थियो । सोचेजस्तै भयो ।’ यसपटक लक्ष्मीले ४५.५६ मिटर ज्याभलिन फाल्दै रजत पदक जितिन् । उनले स्वर्ण पदक नजिते पनि आफ्नो पुरानो प्रदर्शनमा सुधार ल्याइन् ।

‘रंगशालामा तयारी गर्न पाइनँ’

चन्द्रकलाले नवौं राष्ट्रिय खेलकुदको तयारी दशरथ रंगशालामा गर्न पाइनन् । ‘काठमाडौंमा पनि रंगशालामा ट्रेनिङ गर्न दिइएन, टुँडिखेल कताकता पुगेर गरियो’, उनले भनिन्, ‘रंगशालामै तयारी गर्न पाएको भए अझै राम्रो गर्न सक्थें । तर, खुसी नै छु ।’

राष्ट्रपति रनिङ शिल्डबाट सटपुट र ज्याभलिन थ्रोमा भाग लिन थालेकी चन्द्रकला छैटौं राष्ट्रिय खेलकुददेखि राष्ट्रिय खेलकुदमा सहभागी हुन थालेकी हुन् । ‘सातौंपछि भने नेपाल पुलिससँग आवद्ध भएर राष्ट्रिय खेलकुद खेल्न थालेको हुँ’, उनले भनिन् ।

सुरुमा सटपुटमात्रै खेलेकी चन्द्रकलाले पुलिससँग आवद्ध भएपछि ज्याभलिन थ्रोलाई पनि निरन्तरता दिन थालेको खुलाइन् । ‘पहिले राष्ट्रपति रनिङ शिल्डतिर खेले पनि बीचमा छोडेको थिएँ । पछि पुलिसकै एकजना दाइ (नरेन्द्रजंग शाही) ले तिमी ज्याभलिनमा पनि राम्रै गर्छौ भनेर सिकाए पछि यसमा लागें’, उनले भनिन्, ‘अहिले आएरमात्रै आफूले भनेजस्तो गर्न सकिराखेको छु ।’

सटपुटमा १० वर्षदेखि निरन्तर ५ पटक राष्ट्रिय कीर्तिमान बनाएकी चन्द्रकलाले बुधबार ज्याभलिन थ्रोमा पनि बनाएपछि राष्ट्रिय कीर्तिमानको संख्या ३ पुगेको छ । यसअघि उनले इटहरीमा भएको राखेप च्याम्पियनसिप, बाँकेमा भएको आठौं राष्ट्रिय खेलकुदमा ज्याभलिन थ्रोमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।अनलाइनखबरबाट