मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

जुम्लामा एमबीबीएस कक्षा सुरु : सिटामोल नपाउने कर्णाली विशेषज्ञ डाक्टर उत्पादन गर्ने थलोमा रुपान्तरण

Himali Patrika 1 मिनेट पढाइ

जुम्ला । जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह एमबीबीएसको कक्षा सुरु भएको छ । एमबीबीएसको कक्षा सुरु भएसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा र सेवाले कोल्टे फेर्ने भएको छ ।

सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले २०६८ सालमा जुम्ला सदरमुकाममा रहेकाे खलङ्गामा प्रतिष्ठानको स्थापना गरेको थियो ।चिकित्सा शिक्षा आयोगको गएको जेठ २९ गते सम्पन्न बैठकले प्रतिष्ठानलाई एमबीबीएस तहमा २० सिट अध्यापन गराउने स्वीकृति दिने निर्णय गरेको थियो ।

आयोगले पहिलो पटक लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीमध्ये प्रतिष्ठानका लागि निर्धारण गरिएका सिट मध्ये हिजो १५ जना भर्ना भएका छन् । प्रतिष्ठानमा पहिलो पटक यसै शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाको स्नातकोत्तर तह (एमडी) को अध्यापन सुरुआत भइसकेको छ ।

प्रतिष्ठानमा यस वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी) र नर्सिङको अध्यापन पनि सुरु गरेको छ । ती दुवै विषयमा २०/२० विद्यार्थी अध्ययन गर्नेछन् । यसअघि नै प्रतिष्ठानमा बीएनएस मिडवाइफ्री र बीपीएच पनि अध्यापन सुरु भइसकेको छ ।

प्रतिष्ठानले आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्णमध्ये १५ पूर्ण छात्रवृत्ति र पाँच शुल्क तिरेर अध्ययन गर्ने जनाएको छ । प्रतिष्ठानले चिकित्सा विषयको उच्च तह अध्यापनका लागि ३ सय शय्याको अस्पताल समेत सञ्चालनमा ल्याइसकेको छ ।

प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमृत भण्डारी प्रतिष्ठानमा चिकित्सा शास्त्रका थप नयाँ कार्यक्रम सञ्चालनका तयारी भइरहेको जानकारी दिँदै एमबीबीएस र एमडी कार्यक्रमले चिकित्सा शिक्षामा नयाँ ढोका खुलेको बताउनुभयो ।

कोरोना परीक्षण तथा उपचारमा प्रतिष्ठानद्वारा सञ्चालित जुम्ला अस्पतालले देशमा नै उत्कृष्ट सेवा पुर्याउँदै आएको छ । प्रतिष्ठानले कर्णालीका डाक्टर अभाव भएका अस्पताल तथा पालिकामा स्वास्थ्यकर्मीको व्यवस्था समेत गर्दै आएको छ ।

विगतमा सिटामोलको चक्की नपाउने कर्णाली अहिले विशेषज्ञ डाक्टरसहितको जनशक्ति उत्पादन गर्ने थलोमा रुपान्तरण भएको छ । कर्णालीले अब जडीबुटी मात्र होइन, देशलाई आवश्यक पर्ने दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्ने छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।