काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासबाट बिहीबार साँझ कमेडियन अपूर्व क्षितिज सिंहलाई अढाई लाख धरौटीमा रिहाइ गर्ने आदेश देखिएपचि हाल उनि हिरासत मुक्त भएका छन्। एक पटक पक्राउ परिसकेर पुनः पक्राउ परेका सिंहलाई अत्याचार नै भएको भन्दै विभिन्न व्यक्तित्वहरुबाट आवाज पनि उठ्न थालेको थियो।
अपूर्वलाई जेल पठाउने मुख्य भूमिका खेलेका नेवार अभियन्ताको रुपमा परिचित गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको स्वतन्त्र उम्मेदवार बनेर चुनावी राजनीतिमा लागेका सुमन सायमीले जेल पठाउनुमा आफ्नो नैतिक समर्थन रहेको स्वीकार गरेका छन्।
बुधबार कात्तिक २ गते हिमालखबरमा पत्रकार सागर बुढाथोकीले लिएको अन्तर्वार्तामा आफुले त्यति वेला समुदायलाई नैतिक समर्थन गरेको बताएका छन्। सायमीका अनुसार प्रहरीले पक्राउ गर्छ भन्ने थाहा हुँदाहुँदै भिडियो सार्वजनिक गर्नु अपूर्वको गल्ति हो। यस्तो छ अन्तर्वार्ताको अंश
जनप्रतिनिधिका लागि चुनावी मैदानमा हुनुहुन्छ। तर, कमेडियन अपूर्वक्षितिज सिंहको घटनाले तपाईंप्रति नकारात्मक टिप्पणी भइरहेको छ नि?
समुदाय जसलाई पनि प्यारो हुन्छ। जुन किसिमले अपूर्वक्षितिज सिंह भाइले प्रस्तुति दिए, त्यो प्रस्तुतिले म जस्तो मिलनसार मान्छेलाई पनि चोट पुगेको छ। अपूर्व भाइले नेवारी समुदायको भाषा, संस्कृति खानपान र लवजमाथि प्रहार गरेका हुन्। उनको प्रस्तुतिमा हाँस्यचेत नै थिएन। मलाई वाक् स्वतन्त्रताको नाममा आफ्नो कर्तव्य र दायित्व बिर्सनु हुँदैन भन्ने लाग्छ।
उनलाई थुनाउने नियत थिएन। छलफलको क्रममा राख्दा समुदायका सबै मानिस खनिएर आउनुभयो। त्यहाँ वकीलहरू पनि आउनुभएको थियो। उहाँहरूले कानूनी प्रकियाबाट समस्या समाधान गर्यौं भने सचेतना आउँछ भन्ने किसिमको सुझाव दिनुभयो। सोही कारण कानूनी प्रकियामा जाने निर्णय भयो। समुदायले गरेको निर्णयमा मैले नैतिक समर्थन जनाएको हुँ।
केही समयअघि सरस्वती प्रधानले दलितलाई कोठा दिन्नँ भनेको भनेर दलित समुदायलाई चोट पुगेपछि उहाँहरू कानूनी प्रक्रियामा जानुभयो। कानूनी प्रक्रियामा जानासाथ उहाँ थुनामा पर्नुभयो। त्यो घटनाले छुवाछूत गर्यो भने त कारबाही हुँदो रहेछ भन्ने समाजलाई बुझायो। त्यो वेला दलित समुदायका मानिसले सरस्वती प्रधानलाई माफी दिएको भए यस्तो घटना फेरि घट्न सक्थ्यो, तर उहाँहरू कानूनी प्रक्रियामा गएकाले अहिले धेरैले छुवाछूत गर्दा थुनामा परिंदो रहेछ भन्ने बुझे। त्यही भएर यस्तो कुरामा कानूनी प्रक्रियामा जानुलाई अन्यथा लिनु हुन्न।
गल्ती महसूस गरेर माफी मागिसकेका थिए। त्यसमै विवाद टुङ्ग्याउन सकिंदैनथ्यो?
अपूर्वले ६ महीनाअघि नै ‘यो भिडिओ रिलिज गर्यो भने थुनिन्छु होला’ भनेर फेसबूकमा लेखेका रहेछन्। थाहा हुँदाहुँदै पनि जानीजानी भिडिओ सार्वजनिक गरेको देखिन्छ। अब त उनले कुरा बुझे नि त। मलाई त्यस्तो भनेको भए म माफी दिन्थें, तर समुदाय कसैको हातमा हुन्न।
उनलाई ‘पावर मिसयुज’ गरेर थुनामा नराखीकन निकालेको भए अर्कै ‘रिस्क’ हुन सक्थ्यो। हामीलाई हेप्ने भनेर कसैले बाटोमा हातपात गर्दियो भने जिम्मेवारी कसले लिने? रिस्क प्याक्टर धेरै थिए।
म आफू पनि आफ्नो भाषा बोल्दा थुनामा परेको मान्छे हुँ। अदालत गएपछि मुद्दा जितें। मलाई गर्व के लाग्छ भने कानूनी प्रक्रियामा गएकाले सबै जातजातिले आफ्नो भाषा बोल्न पाउँछन् भनेर नजीर बसाउन सकें। अपूर्व भाइलाई पनि आफूलाई अन्याय भएको जस्तो लाग्छ भने अदालत जाँदा हुन्छ। अदालत गएर नजीर बसाएर उनी पनि गर्व गर्न सक्छन्।
आफ्नो भाषा बोल्दा थुनामा परेको भन्नुभयो, त्यो घटनाबारे बताइदिनुस् न।
डेढ वर्षअघि बालाजु बाइपासमा गैरन्यायिक किसिमले डोजरले खन्न आएपछि त्यहाँको स्थानीय रोक्न आएछन्। त्यो वेला ६ जना स्थानीयलाई बालाजु प्रहरी चौकीमा लगेर थुनेपछि म भेट्न गएको थिएँ। भेट्दा मैले नेवारी भाषामा संवाद गरेको थिएँ। त्यो देखेर एक जना प्रहरी भाइले नेवारीमा नबोल्नू भनेर हप्काए।
ती भाइलाई मैले तपाईंसँग नेपालीमा बोल्छु, उहाँहरू नेवारी बुझ्नुहुन्छ, नेवारीमा बोल्छु भनेर जवाफ फर्काएँ। त्यसपछि मलाई घचेटेर धम्क्याउन थाले। त्यसपछि मैले तपाईंहरूलाई मेरो भाषामा शङ्का लाग्छ भने नेवारी भाषा बुझ्ने दोभाषे राख्नु, तर म आफ्नो दाजुभाइसँग मातृभाषामै बोल्छु भनेर अडान राखें। त्यसपछि मलाई थुनें।
मलाई पक्राउ किन गरेको भनेर सोधें। उनीहरूले माफी मागे, तर कारण दिएनन्। सर्वोच्च अदालतमा बयान दिन जाँदा उल्टै म्याद थपिदिए। म जस्तो मान्छेलाई त्यति धेरै दुःख दिए कि मलाई झन् नराम्रो लाग्यो। सरकारी वकील कार्यालयमा यतिसम्म मिलेमतो हुँदो रहेछ कि म बस्दाबस्दै सुन तस्करीमा परेको मान्छेलाई अभद्र व्यवहारमा मुद्दा चलाइयो।
त्यसपछि म सर्वोच्च अदालत गएँ। अदालतले सबैले आफ्नो भाषा बोल्न पाउँछन् भनेर फैसला गरिदियो। अपूर्व भाइले पनि आफूलाई अनावश्यक थुनेको जस्तो लाग्छ भने सर्वोच्च अदालत जाँदा हुन्छ।
स्थानीय चुनावपछि तपाईंलाई आम मानिसले देशकै प्रतिनिधित्व गर्ने नेता हुन्छन् भनेर चित्रण गरेका थिए। तर, यो घटनापछि तपाईंलाई जातीय राजनीति गर्ने व्यक्तिका रूपमा चित्रित गरियो नि?
म जातीय राजनीति गर्ने भए वीरगञ्ज तथा हेटौंडाका बासिन्दा बचाउन पुग्ने थिइनँ। पछिल्लो एक दशकमा देशका विभिन्न ठाउँमा गएर सरकारी अतिक्रमणमा परेका नागरिकका पक्षमा बोलेको छु। कानूनी सहायता दिएको छु। मैले राज्यको गैरन्यायिक विस्तारको विरुद्ध बोल्दै आएको छु। मैले आफ्नो भाषामा बोल्न पाउनुपर्छ भनेर जुन मुद्दा उठाएँ, त्यसले बसाएको नजीरले त सबै नेपालीलाई फाइदा भएको छ। जुनसुकै घटनामा प्रक्रिया जस्तो छ, त्यसरी जाने हो। मैले भूमिको मुद्दा उठाएको छु, जुन राष्ट्रिय मुद्दा हो। म जातीय राजनीति गर्छु भनेर जुन भ्रम फैलाइएको छ, त्यो ममाथिको राजनीति हो।
तपाईंले भोटका लागि नेवारी समुदायको भावनामा खेलेर राजनीति गर्नुभयो भन्ने आरोप छ नि?
समुदायका मानिसले मात्र भोट हालेर चुनाव जितिने होइन। म त जनताका पीडा र मर्मलाई बोल्ने मान्छे हुँ। मैले गल्ती गरें भने सजाय पाउनुपर्छ। मैले अपूर्व भाइलाई पनि कानूनको पालना गरेर बाहिर निस्कनू भनेको हुँ।
राजनीतिको शुरूआत क्षेत्रबाट नै हुने हो। मेरो राजनीति पनि क्षेत्रबाट नै शुरू भएको हो। तर, म अहिले मधेश, पहाड सबै ठाउँमा गएको छु। कैलालीमा थारू समुदायलाई जुन अन्याय भयो, उनीहरूको आवाज बोलेको छु। त्यो मुद्दा हाम्रो वकीलले लडिरहनुभएको छ।
देश बनाउनु छ भने सबै एक ठाउँमा आउनुपर्छ भन्ने मेरो सोच छ। मैले कुनै एउटा समुदायको भावनामा खेलेको छैन। मैले अपूर्वको केसमा नेवारी समुदायले हालेको मुद्दामा नैतिक समर्थन मात्र गरेको हुँ। किनकि, समुदायमा बसेपछि सामूहिक निर्णय मान्नुपर्छ।
त्यसै गरी कानून समुदायको हातमा हुँदैन। प्रहरीले शुरूमा निवेदन दर्ता गरेर छलफलका लागि बोलाइदिएको भए यस्तो हुन्नथ्यो। तर, प्रहरीले उजुरी दर्ता नगरेपछि हाम्रा साथीहरू आक्रोशित भएका हुन्।
अहिले अपूर्व फेरि पक्राउ परेका छन्। यसमा पनि तपाईंको आलोचना भइरहेको छ नि?
त्यति वेला तारिखमा छाडेको थियो। त्यही घटनामा फेरि अहिले पक्राउ परे। उनी अदालत गएको भए धरौटीमा छुट्न सक्थे। अदालत गएनन्, उनकै दोष हो। यसमा मेरो हात छैन। मैले शुरूमा पनि भनें- त्यति वेला पनि मेरो समुदायलाई नैतिक समर्थन गरेको थिएँ, अहिले पनि नैतिक समर्थन छ।