मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

पदभार ग्रहणपछि लिङ्देन छुट्टै कुर्सी बसे, राप्रपा कार्यालयमा कमल थापाको कुर्सी सुरक्षित

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आज पदभार ग्रहण गरेका छन् । चाबहिलस्थित पार्टी कार्यालयमा पूजाआजा सहित उनले आफू महामन्त्री हुँदा बस्ने गरेको कोठामै पदभार ग्रहण गरेका हुन् ।

राप्रपाका दुई कार्यालय छन् । तत्कालीन अध्यक्षद्वय पशुपति शम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनीको कार्यकक्ष चाबहिलको चारुमती बिहारको कार्यालयमा थियो भने कमल थापाको कार्यकक्ष धुम्बाराहीमा थियो ।
लिङ्देनले अध्यक्षको रुपमा कमल थापाले प्रयोग गर्ने गरेको कोठा प्रयोग गरेका छैनन् । पार्टीको अभिभावकको रुपमा रहने थापालाई कार्यालय आउन सहज होस् भनेर उनको कोठा प्रयोग नगरेको लिङ्देनले बताए ।

म राष्ट्रिय प्रजातन्त्र पार्टीमा मेरा श्रद्धेय नेताहरु बसेकै कुर्सीमा बसौं र म पनि त्यहाँ बसेर इच्छा पूरा गरौं, दुनियाँलाई देखाऔं भन्ने रहरले अध्यक्ष पदको दाबी गरेर आएको मानिस होइन,’ लिङ्देनले भने, ‘त्यहाँ फेरि पनि हाम्रा अध्यक्षत्रयहरु, हाम्रा नेताहरु र खासगरी जहाँ कमल थापा बस्दै हुनुहुन्थ्यो त्यहाँ फेरि पनि उहाँ आफ्नो अभिभावकको रुपमा नेताको रुपमा आउनुपर्छ, सजिलो होस् भनेर त्यो कोठालाई सुरक्षित राखेको हो ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीलाई नवीन ढंगले लैजानुपर्यो भन्ने आम जनता र पार्टी कार्यकर्ताको चाहनालाई मात्रै आफूले प्रतिनिधित्व गरेको भन्दै उनले पूर्वअध्यक्षहरु बस्ने कुर्सीमा बस्ने चाहनाले अध्यक्ष पदमा प्रतिस्पर्धा नगरेको बताए । उनले अगाडि भने, ‘त्यहाँ बैठक गर्ने, जाने त मैले पनि गर्छु, तर उहाँहरुलाई आउन, बस्न सजिलो होस् भनेर त्यसलाई हाम्रो नेतात्रयका लागि सुरक्षित बनाएको हुँ ।’

राप्रपाको एकता महाधिवेशनमा भएको निर्वाचनमा कमल थापालाई दुई सय मतअन्तरले पछि पार्दै लिङ्देन आइतबार अध्यक्ष निर्वाचित भएका थिए । उनले आफ्नो विजयलाई राजसंस्थासँग जोडिएकोप्रति खेद व्यक्त गरे ।

अध्यक्ष पदमा लिङ्देनसँगको प्रतिस्पर्धामा हारेपछि कमल थापाले पार्टीमा निर्मल निवासको हस्तक्षेप भएको बताएका थिए । त्यसबारे पत्रकारहरुको जिज्ञासामा लिङ्देनले भने, ‘त्यो दुर्भाग्यपूर्ण कुरा हो । उहाँले किन भन्नुभयो, त्यसलाई म धेरै टिकाटिप्पणी गर्न चाहन्न । तर राजसंस्थालाई, राजालाई यो विषयमा तान्नु र मेरो विजयलाई राजाको कारणले भनेर अर्थ लगाउनु दुर्भाग्यपूर्ण र खेदजनक कुरा हो । खासगरी महाधिवेशन प्रतिनिधिहरुको, आफ्नै कार्यकर्ताहरुप्रतिको अपमान हो र अविश्वास हो ।’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।