नेपालमा पनि ह्वाट्सएपबाट म्यासेज नजाने समस्या

नेपालमा पनि ह्वाट्सएपबाट म्यासेज नजाने समस्या

सामाजिक सञ्जाल ह्वाट्सएपमा मंगलबार दिउँसो समस्या आएको छ। लाखौं प्रयोगकर्ताहरूले केही समयदेखि आफूले चाहेको मान्छेलाई म्यासेज पठाउन सकेका छैनन्।भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतभरि यो समस्या देखिएको छ। द न्युयोर्क टाइम्सका अनुसार बेलायत, दक्षिण कोरियालगायत मुलुकमा पनि समस्या देखिएको छ।

नेपाली ह्वाट्सएप प्रयोगकर्ताहरूले पनि यो समस्या झेलिरहेका छन्। ह्वाट्सएप मेटा कम्पनीले चलाउँछ। ह्वाट्सएपमा समस्या आएकोबारे जानकारी रहेको भन्दै मेटाका प्रवक्ताले समाधानको प्रयास भइरहेको बताएका छन्।

ह्वाट्सएपले काम नगरेको खबर ट्विटरमा पनि ट्रेन्डिङ भइरहेको छ । ह्वाट्सएपमा विश्वभर २ अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरू छन्। आज करिब साढे १२ तिरबाट ह्वाट्सएप बन्द भएको खबर बाहिरिएको थियो ।

सेवा बन्द भएको एक घण्टापछि ह्वाट्सएपको मूल कम्पनी मेटाका प्रवक्ताले भने, ‘हामीले केही व्यक्तिलाई सन्देश पठाउन समस्या भइरहेको जानकारी प्राप्त गरेका छौं। जतिसक्दो चाँडो ह्वाट्सएप सेवा ठीक गर्ने प्रयास गरिरहेका छौं।’

कम्पनीले समस्याको कारण भने खुलाएको छैन । गत वर्ष अक्टुबर ४ मा ६ घण्टा सेवा बन्द भएको थियो । ४ अक्टोबर २०२१ मा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप प्लेटफर्म करिब ६ घण्टा बन्द भएकाले अर्बौं प्रयोगकर्ताले समस्या भोग्नुपरेको थियो ।

यस बन्दको असर अमेरिकी बजारमा फेसबुकको शेयरमा पनि देखिएको थियो। कम्पनीको सेयर ६ प्रतिशतसम्म घटेको थियो। फेसबुकका विश्वभर २.८५ बिलियन मासिक सक्रिय प्रयोगकर्ताहरू छन्। ह्वाट्सएपका २ अर्ब र इन्स्टाग्रामका १ अर्ब ३८ करोड प्रयोगकर्ता छन् ।