काठमाडौँ । बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले युक्रेनलाई रुसको आक्रमणविरुद्ध लड्न मद्दत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सुनकले प्रधानमन्त्रीको रुपमा मंगलबार यस्तो प्रतिक्रिया दिएका हुन् । रुस-युक्रेन युद्धलाई ‘डरलाग्दो युद्ध’को संज्ञा दिँदै उनले यसको सफल निष्कर्ष निकाल्नु पर्ने सुझाव दिएका थिए ।
बेलायतको संकटग्रस्त आर्थिक अवस्थाका बावजुद उनले आफ्नो सैन्य साझेदार मुलुक युक्रेनलाई सहयोग गर्ने वाचा गरेका हुन् । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले भने सुनकलाई प्रधानमन्त्री बनेकोमा बधाइ दिँदै युक्रेन बेलायतसँग सम्बन्ध बलियो बनाउन तयार रहेको बताएका थिए ।
जेलेन्स्कीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सुनकलाई बधाइ दिएका थिए । यस क्रममा उनले सुनकलाई बेलायती समाज र सारा विश्वले सामना गरिरहेका चुनौतीको सफलतापूर्वक पार गर्न सक्नेमा आशा पनि व्यक्त गरेका थिए ।
यस्तै प्रधानमन्त्रीको रुपमा सुनकले पहिलो भाषण गर्दा विशेषगरी बेलायतको आर्थिक अवस्था सुधार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आर्थिक संकट सामना गर्दै राष्ट्रलाई एकजुट बनाउने वाचा गरेका छन् ।
पछिल्लो समय आर्थिक र राजनीतिक अस्थिरताको चुनौती झेलिरहेको बेलायतमा यही सोमबार पूर्वअर्थमन्त्री समेत रहेका ऋषि सुनक प्रधानमन्त्री चयन भएका छन् । उनी ५० दिनको अवधिमा बेलायतको तेस्रो प्रधानमन्त्री बनेका हुन् । अर्थात्, बोरिस जोनसन र लिज ट्रसले कार्यकाल पूरा नगरिकन राजीनामा दिएपछि सुनक कन्जरभेटिभ पार्टीबाट प्रधानमन्त्रीमा चयन भएका हुन् ।
सुनकले पहिलो भाषणको रुपमा यसअघि छोटो समय प्रधानमन्त्री बनेर राजीनामा दिएकी लिज ट्रसमाथि पनि टिप्पणी गरेका थिए । सुनकले ट्रसलाई लक्षित गर्दै उनी खराब नभएको तर काम गर्ने क्रममा गल्तीहरू भएको टिप्पणी गरेका थिए । यसैबीच सुनकलाई बेलायतको प्रधानमन्त्री बनेकोमा विभिन्न देशका प्रमुख तथा उच्चपदस्थ व्यक्तिहरूले बधाइ दिएका छन् ।