उड्डयनमन्त्री आलेको प्रतिबद्धता : ‘देशको शिर निहुरिने काम गर्दिनँ र गर्न दिन्नँ’

उड्डयनमन्त्री आलेको प्रतिबद्धता :  ‘देशको शिर निहुरिने काम गर्दिनँ र गर्न दिन्नँ’

काठमाण्डाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देशको शिर निहुरिने खालका कुनै पनि काम र गतिविधि नगर्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा मन्त्रालयले आज मङ्गलवार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री आलेले तीन करोड नेपाली नागरिककाे हितका लागि काम गर्न आफू मन्त्री भएकाले पदमा रहँदा वा नरहँदा गलत काम कहिल्यै पनि नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली नागरिक र देशको हित हुने बाहेक म अन्य कुनै पनि गलत काम गर्दिनँ र गर्न पनि दिन्नँ ।’

कसैको दबाबमा पनि गलत काम नगर्ने र त्यस्ता कार्य गर्नेलाई कारबाही गरिने समेत मन्त्री आलेले बताउनुभयाे । मन्त्री भएको दुई महिनामै आफूले मन्त्रालय र मातहतका निकायमा हुँदै आएका कमजाेरी गलत कामलाई निरुत्साहित गर्दै आएको उहाँकाे दाबी छ । मन्त्रालय तथा मातहतका निकायमा हुने गरेका कमजाेरीका बारेमा जानकारी भए आफूलाई जानकारी दिनसमेत उहाँले आग्रह गर्नुभयो ।

Europass CV in Nepal

कार्यक्रममा धेरैजसाे वक्ताहरूले नेपालका विमानस्थलमा पलाएका घाँसमा चराचुरुङ्गीले गुड बनाउने भएका कारण चरा र जङ्गली जनावर विमानमा ठोकिने र ठूलो दुर्घटना हुन सक्ने सम्भावना रहेकाले विमानस्थल आसपासमा पलाएका ठूला घाँस हटाउनुपर्ने माग राखेका थिए । वक्ताहरूले राखेका मागको सम्बोधन गर्ने क्रममा मन्त्री आलेले विमानस्थलमा उम्रिएका घाँस तत्काल काट्नका लागि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

मन्त्रालयका सचिव महेश्वर न्यौपानेले नेपाल वायु सेवा निगमलाई माथि उकास्नका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । यसैगरी नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले विमानस्थल तथा नेपाल वायु सेवा निगमा सुधारका काम भइरहेको जानकारी दिनुभयो ।

Europass CV in Nepal