केपी ओलीसँग सेल्फी खिच्नेको थामी नसक्नु भीड

केपी ओलीसँग सेल्फी खिच्नेको थामी नसक्नु भीड

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली झापा कार्यक्रममा आएका बेला बालबालिकाहरूको सेल्फी खिचाउने भिड लाग्नेगरेको छ । आफूसँग काम गर्ने जोस र जाँगर भएको उल्लेख गर्दै अध्यक्ष ओलीले सेल्फि कार्यक्रमपछि भन्नुभयो ‘कसै कसैले ‘केपी बा’ अब घरमै बसेर आराम गर्नुस् भन्दै भनेको र लेखेको देख्छु । यसले मलाई माया गरेकोजस्तो लाग्छ । ‘बा’ अहिले घर गएर बस्ने हैन, ‘बा’ फेरि संसदमा गएर सरकार बनाएर प्रधानमन्त्री भएर देशका भ्रष्टाचारीलाई तह लगाउनु छ ।’

शनिबार बिहान झापाको दमकस्थित कृष्ण मन्दिरमा भएको एक चुनावी कार्यक्रममा उहाँसँग फोटो खिच्नेको भिड लागेको थियो । कार्यक्रम सकेर स्टेजबाट करिब ५० मिटर गाडीमा आउन उहाँलाई झण्डै आधा घण्टा लाग्यो । सेल्फी खिच्नेको भीड लागेपछि उहाँलाई उम्किन गाह्रो भएको थियो । ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनु भएको छ र उहाँको गृह नगर दमक हो ।

एमालेका स्थायी कमिटी सदस्य एवं प्रतिनिधि सभा सदस्य क्षेत्र नं. ५ निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दहालका अनुसार पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीले आफूसँग फोटो खिचाउन चाहने र भेट्न चाहेका बालबालिकासँग सहज रूपमा समय दिने गर्नुभएको छ । बालबालिकासँग बोल्न र जानकारी लिन ओली स्वयं आफू पनि मरिहत्ते गर्नेगरेको बताइन्छ ।

अभिभावकले आफ्ना बालबालिका ल्याएर ओलीलाई भेटाउन लाइनमा बस्नेगरेको उहाँले जनाउनुभयो । उमेर समूहका नागरिक टिकटिक बनाउन, फोटो खिच्न भिड लाग्ने गर्दा निर्धारित कार्यक्रममा समयमा पुग्न र समय व्यवस्थापन गर्न चुनौती हुनेगरेको दहालले बताउनुभयो ।

ओलीको सचिवालयका दीपेन्द्र दहालका अनुसार अध्यक्ष ओलीसँग भेटेर फोटो खिच्नका लागि घण्टौँसम्म पनि लाइन लाग्ने र पर्खनेको सङ्ख्या धेरै हुनेगरेको छ । सार्वजनिक कार्यक्रममा कहिलेकाहीँ स्टेजमा र स्टेजबाहिर निस्कँदा भिड थेग्न नसक्ने अवस्था हुनेगरेको छ, दहालले भन्नुभयो ।

जनताको अपेक्षा मसँग छ : ओली

ओलीले सार्वजनिक कार्यक्रममा नै आफू कमजोर नभएको र जनताको साथ आफूमा रहेको बताउँदै आउनुभएको छ । मसँग जनताको ‘हाई भोल्टेज’ सहितको साथ रहेको छ, ओलीले भन्नुभयो । मलाई कसैले कमजोर नठाने हुन्छ, मसँग जनताको हाई भोल्टेजको साथ छ, म विरुद्ध लाग्नेलाई यसले पोल्छ, ओलीको भनाई छ ।

ओलीले आफूसँग काम गर्ने जोस र जाँगर अहिले पनि कम नभएको बताउनुभयो । देशको कामले आफूसँग आराम गर्ने समय नरहेको उहाँले बताउनुभयो । अहिले पनि आफू दिनको २० घण्टासम्म निरन्तर खटन सक्ने बताउनुभयो ।