डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज, कारण मेडिकल काउन्सिलको सदस्य

डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज, कारण मेडिकल काउन्सिलको सदस्य

काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३मा उम्मेदवार डाक्टर तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको छ। आयोगमा शनिबार बसेको बैठकले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए। सार्वजनिक पदमा बसेर लाभ लिइरहेका व्यक्तिले राजीनामा नदिइ उम्मेदवारी दिएपछि उनको उम्मेदवारी खारेज भएको हो।

दाबी विरोध गर्ने समय सकिएपछि डा. कार्कीविरुद्ध निर्वाचन अधिकृतको कार्यालय, ललितपुरमा उजुरी परेको थियो । कार्यालयले सोधेको स्पष्टीकरणमा कार्कीले आफू मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको र यो लाभको पद नभएको जिकिर गरेकी थिइन् ।

कार्यालयले यसबारे निर्णय गर्न आयोगलाई पत्रचार गर्‍यो । आयोगले मेडिकल काउन्सिललाई कार्की बहाल रहेको सदस्य पद लाभको भए नभएको भनेर जानकारी मागेको थियो ।

काउन्सिलले सदस्यको मासिक पारिश्रमिक नहुने तर, बैठक भ्रमण भत्ता हुने जानकारी गरायो । यसअनुसार कार्कीले २०७९ वैशाखदेखि भदौसम्म १ लाख ३६ हजार ५०० रुपैयाँ आर्थिक लाभ लिएकी छिन् । साथै अख्तियार ऐनअनुसार सम्पत्ति विवरण पनि बुझाउने भएकाले सार्वजनिक पद भएको काउन्सिलको जवाफमा उल्लेख छ ।

आयोगको शनिबार बसेको बैठकले सार्वजनिक पद धारण नगरेको भनेर कार्कीले गरेको स्वघोषणा उल्लंघन भएको र पारिश्रमिक वा आर्थिक सुविधालाई लाभको पद भनिने संविधानमा प्रष्ट व्यवस्था रहेकाले कार्कीको उम्मेदवारी खारेज हुने निर्णय गरेको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार, कार्की नेपाल मेडिकल काउन्सिलकी कार्यकारी सदस्य पदमा निर्वाचित भएकी थिइन् । उनी पदमै कायम रहेको अवस्थामा उम्मेदवारी दिएको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको हो । चार वर्षे कार्यकालका लागि उनी मेडिकल काउन्सिलमा गत भदौमा निर्वाचित भएकी थिइन् ।

यस्तो छ निर्वाचन आयोगको प्रेस विज्ञप्ति

ललितपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार
डा. तोसिमा कार्कीको उम्मेदवारी अयोग्य ठहर

प्रेस विज्ञप्ति

मिति ः २०७९ कात्तिक १२ गते

आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुनु भएका डा. तोसिमा कार्कीको उम्मेदवारीलाई निर्वाचन आयोगले अयोग्य कायम गर्ने निर्णय गरेको छ । डा. कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेकोले निजको उम्मेदवारी खारेज गरी पाउँ भनी मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी पेश भएकोमा सो उजुरीका सम्बन्धमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १५ को उपदफा (२) मा भएको कानूनी व्यवस्था बमोजिम मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरबाट सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरण सोधी निर्णयका लागि आयोगमा स्पष्टीकरण सहितको कागजातहरू प्राप्त भएको थियो ।

निज उम्मेदवार डा. कार्की मिति २०७८।९।२ देखि ४ वर्षका लागि नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यको रुपमा वहाल रहेको, नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यको हैसियतमा निजको कुनै मासिक तलब नहुने तर उपस्थित भएको वैठकको भत्ता र अनुगमन गर्दाको भ्रमण भत्ता उपलब्ध गराइने व्यवस्था बमोजिम डा. कार्कीले मिति २०७९।१।९ देखि मिति २०७९।५।२ सम्म भत्ता बुझेको पाइयो ।

नेपालको संविधानको धारा ३०६ को उपधारा (१) को ख (६) मा पारिश्रमिक भन्नाले तलब भत्ता र अन्य कुनै किसिमको पारिश्रमिक तथा सुविधा समेत सम्झनु पर्छ भन्ने व्यवस्था समेतका आधारमा भत्ता पारिश्रमिक भित्रै पर्ने देखिएकोले निज डा. कार्की हाल बहाल रहेको नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य पद राजनीतिक पद नभई सरकारी कोषबाट भत्ता, भ्रमण भत्ता लगायतका आर्थिक सुविधा पाउने कार्यकारी सदस्य पदमा बहाल रहेको र उम्मेदवार मनोनयनको क्रममा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ को उपदफा (६) सँग सम्बन्धित अनुसूची ६ बमोजिमको स्वघोषणाको (घ) मा कुनै संघीय कानूनले अयोग्य नभएको र (च) मा सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको भनी स्वघोषणा गरी सहीछाप समेत गरेकोमा सो आफ्नै स्वघोषणाको प्रतिकूल हुने गरी निज डा. कार्की नेपाल मेडिकल काउन्सिलबाट बैठक भत्ता र भ्रमण भत्ता लिनु खानु गरिरहेको देखिएकेले निजले सार्वजनिक पद धारण नगरेको र लाभको पदमा बहाल नरहेको भन्ने देखिन आएन ।

अतः प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ को देहाय (ङ) मा भएको कानूनी व्यवस्था बमोजिम निजको उम्मेदवार हुन योग्यता पूरा गरेको नदेखिएकाले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १५ को उपदफा (५) बमोजिम निज डा. कार्कीको ललितपुर निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारी अयोग्य हुने गरी आयोगबाट निर्णय भएको छ ।

कमल भट्टराई
उपसचिव एवं सहायक प्रवक्ता