निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज गरेपछि ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी डा. तोसिमा कार्की निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने भएकी छिन् । डा. कार्कीले आज सामाजिक सञ्जालमार्फत निर्वाचन आयोगले निष्पक्ष निर्णण गरेकोमा शंका गर्ने आधारहरू रहेकी समेत जनाएकी छिन् ।
उनले उम्मेदवार मनोनयन गर्नुभन्दा २५ दिन अगाडि आफू बहाल रहेको पद लाभको पद हो वा होइन निक्यौल गरिदिनु भनि आयोगमा पत्र पठाएकोमा आयोगबाट जवाफ नआएको र अहिले आफ्नो पक्षमा राम्रो माहौल सिर्जना भइरहेको अवस्थामा निर्वाचन परिणाम फरक पार्ने गरि आएको यो किसिमको निर्णयका विरुद्ध आफू सम्मानित अदालत जाने बताएकी छन् ।
उनले अहिलेसम्म आधिकारीक पत्र नभएपनि समाचारमा आफ्नो उम्मेदवारी खारेजीको बारेमा जानकारी पाए जनाउँदै थप स्पष्ट पार्न एक स्ट्याटस लेखेकी छन् ।
आधिकारिक पत्र नपाए पनि समाचारमा म तोसिमा कार्कीको ललितपुर क्षेत्र नं ३ को उम्मेदवारी खारेजीको बारेमा जानकारी पाएको बताएकी छिन् ।
यस्तो छ डा. तोसिमा कार्की फेसबुक स्ट्याटस
आधिकारिक पत्र नपाए पनि समाचारमा म तोसिमा कार्कीको ललितपुर क्षेत्र नं ३ को उम्मेदवारी खारेजीको बारेमा जानकारी पाएको छु । यसबारे प्रष्ट पार्न यो स्टाटस पोस्ट गर्दैछु ।
निश्चित तलब नहुने, बैठकमा उपस्थित हुँदा बैठक भत्ता मात्रै पाउने र निर्वाचित सदस्य भएकाले नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नहुने धारणा रहेको छ । यद्यपि त्यसमा थप स्पष्ट हुन मैले न्यायक्षेत्रमा क्रियाशिल रहेका अधिवक्ताहरुसँग परामर्श गरेको थिएँ ।
उहाँहरु सबैबाट मासिकरुपमा पारिश्रमिक नआउने कुनै पनि पद लाभको पद नरहने सुझाव पाएँ । २०७९-०५-२८ मितिमा (मनोनयनको २५ दिन अगाडी नै) एक सचेत र जिम्मेवार उम्मेदवारको भुमिका निभाउदै निर्वाचन आयोगको कार्यालयमा पत्र लेखेर नेपाल मेडिकल काउन्सिलको सो पद लाभको पद हुने वा नहुने बारेमा स्पष्ट पारिदिन निवेदन समेत दिएको थिएँ (तस्विरमा पढ्नुहोस्) तर निर्वाचन आयोगले सो निवेदनलाई जवाफ दिन आवश्यक पनि मानेन । यसैले कानुनमा जरुरी नभएको तथा ४ हजार जति सदस्यहरुको मतले नीतिनिर्माणमा पुगेकोले ति मतहरुलाई घात नगर्न पनि मैले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिन हुन्न भन्ने मेरो निष्कर्ष रह्यो ।
समय सकिए पछिको उजुरीलाई आधार मानेर आफैले समयमा प्रष्ट नपारेको निवेदनका बारेमा नखुली अहिले आएर सोही बिषयमा निर्णय गर्नुमा निर्वाचन आयोगको निष्पक्ष निर्णय हो भन्नेमा शंका गर्दछु । जसरी उजुरी समय पछि आए पनि निर्णय गरियो, त्यसरी नै मैले उम्मेदवारी दर्ता गर्नु भन्दा निकै पहिले दिएको निवेदनउपर पनि निर्णय गर्नु पर्थ्यो । यहाँनेर पनि निर्वाचन आयोगको निष्पक्षतामा शंका उब्जिन्छ । स्पष्टिकरण दर्ता गर्दा सर्वोच्च अदालतको नजिर पनि समावेश गरिएकोमा सोप्रति कुनै अभिलेखिकरणसम्म नगरि निर्णय गर्नु थप शंकास्पद हुन आउँछ ।
ललितपुर ३ मा मेरो पक्षमा एकदमै राम्रो माहौल सिर्जना भइरहेको अवस्थामा निर्वाचन परिणाम फरक पार्ने गरि आएको यो किसिमको निर्णयका विरुद्ध म सम्मानित अदालत जानेछु । सम्पूर्ण मेरा समर्थक तथा शुभचिन्तकज्यूहरुलाई कत्ति पनि विचलित नभई उच्च मनोवलले साथ निरन्तर दिनहुन अनुरोध पनि गर्न चाहन्छु ।
डा. तोसिमा कार्की
ललितपुर ३





