मुख्य सामग्रीमा जानुहोस्
Monday, 7 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

१२ वर्षसम्म कैद सजाय माग गर्दै सन्दीप लामिछानेविरूद्ध अदालतमा मुद्दा दर्ता गरिने

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ। क्रिकेटर सन्दिप लामिछानेबिरुद्ध सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गर्ने भएको छ। भोलि काठमाडौँ जिल्ला अदालतमा लामिछाने बिरुद्ध मुद्दा दर्ता हुने सरकारी वकिलको कार्यालयले जनाएको छ।

नाबालिक करनीको आरोप लागेका क्रिकेटर लामिछानेमाथि  जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। उक्त अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार सुरू भएकाले उनको मुद्दा दर्ता हुन सकेको थिएन।

सेतोपाटीका अनुसार प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको प्रहरीले जनाएको छ।

उक्त उफदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय मागदाबी गरेको हो। यस्तै पीडितलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै मागदाबीसमेत गरेको परिसर स्रोतले बतायो। क्षतिपूर्ति दिन प्रहरीले लामिछानेको सम्पत्ति पनि छानबिन गरेको खुलेको छ।

‘पीडितलाई क्षतिपूर्ति दिनुपर्ने भएकाले हामीले उनको सम्पत्ति पनि छानबिन गराएका छौं। यथोचित क्षतिपूर्ति दिन पनि माग गरेका छौं,’ स्रोतले भन्यो, ‘मालपोत, राष्ट्र बैंक, क्यानलगायत विभिन्न निकायमा पत्राचार गरेर हामीले सम्पत्ति विवरण पनि खुलाएका छौं।’

प्रहरीले लामिछानेविरूद्ध होटलका सिसिटिभी फुटेज, बयान, अस्पतालको रिपोर्ट लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ। लामिछानेले इन्कारी बयान दिँदै आएका छन्। तर प्रहरीले यसमा उनीविरूद्धको मुद्दा पुष्टि हुने प्रमाण संकलन गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।