नेपाली विश्व प्रसिद्ध आरोही निर्मल पुर्जाको रेकर्ड तोड्न आएकी नर्वेजियन महिलालाई चाइनाले सफल हुन दिएन

नेपाली विश्व प्रसिद्ध आरोही निर्मल पुर्जाको रेकर्ड तोड्न आएकी नर्वेजियन महिलालाई चाइनाले सफल हुन दिएन

काठमाडौँ । विश्व प्रसिद्ध आरोही निर्मल पुर्जाको रेकर्ड तोड्न भन्दै नेपाल आएकी प्रसिद्ध नर्वेजियन हिमाल आरोही क्रिस्टिन हरिला आफ्नो प्रयास असफल भएपछि स्वदेश फर्किएकी छन् ।

८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल ६ महिनाको अवधिमै आरोहण गर्ने अठोटका साथ नेपाल आएकी हरिला चीनको अनुमति नपाएपछि आफ्नो आरोहण प्रयास अर्को वर्षका लागि थाती राख्दै फर्किएकी हुन् । यद्यपि हरिलाले १४ मध्ये १२ वटा हिमाल आरोहण गरिसकेकी छन् । उनले १४ हिमालको यात्रा सम्पन्न गर्न चोयु र सिसापाङमा हिमाल आरोहण गर्नुपर्ने थियो । तर ती दुई हिमाल आरोहण गर्नका लागि चीनको बाटो मात्रै सहज मानिन्छ ।

तर हरिलाका लागि ती हिमाल आरोहण गर्न चीनले अनुमति दिएको छैन । चीनले अनुमति नदिए पनि उनले ती दुई हिमालको आरोहणका लागि नेपालतर्फबाट पनि प्रयास गरेकी थिइन् । तर खराब मौसमका कारण सफल हुन नसकेको हो।

Europass CV in Nepal

स्वदेश फर्किँदै गर्दा हरिलाले आफ्नो नियन्त्रण बाहिरको कारणले चीनबाट अनुमति प्राप्त गर्न नसकेको प्रतिक्रिया दिएकी छन् । तर उनले यसका लागि अर्को वर्ष ६ महिनाभित्रै प्रयास गर्ने बताएकी छन् ।

‘यस प्रक्रियामा हामीले कुनै कसर बाँकी राखेका छैनौं, यसका लागि सबै सम्भावित उपायहरू सकिएका छन् । तर दुर्भाग्यवश हाम्रो नियन्त्रण बाहिरका कारण हामीले समयमै अनुमति प्राप्त गर्न सकेनौ,’ हरिलाले भनेकी छन् । उनी हाल नर्वे फर्किसकेकी छन् ।

हरिलाले आफ्नो आरोहणको क्रममा सहयोग गर्ने शेर्पाहरूलाई धन्यवाद समेत दिएकी छन् । उनको १२ हिमाल आरोहण सफल बनाउन पासदावा शेर्पा र दावा शेर्पाले प्रमुख भूमिका खेलेका थिए ।

२०१९ मा नेपाली आरोही निर्मल पुर्जाले ६ महिनामै ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरी विश्व रेकर्ड बनाएका थिए । हरिला भने उक्त रेकर्ड तोडेर नयाँ विश्व कीर्तिमान कायम गर्न संघर्षरत छिन् ।