द भ्वाइस अफ अमेरिकाको नकआउट विजेता बनिन् नेपाली मूलकी किशोरी परिजिता

द भ्वाइस अफ अमेरिकाको नकआउट विजेता बनिन् नेपाली मूलकी किशोरी परिजिता

दाङ, १५ कात्तिक । रोचक ब्लाइण्ड अडिसन र ब्याटल राउन्डपछि द भ्वाइसको अमेरिकी संस्करणमा नकआउट प्रतिस्पर्धा सुरु भएको छ । नेपाली मूलकी किशोरी परिजिता बाँस्तोलाको सहभागिताले द भ्वाइसमा रौनकता मात्र थपेको छैन, उनलाई लिएर नेपालसहित डायस्पोरामा आकर्षण र चासो छ ।

आफ्नो सुमधुर गायकीले ब्लाइन्ड अडिसन र ब्याटल राउन्डमा जजलाई मख्ख पारेकी परिजिताको रोकिने छाँट छैन । नेपाली समयानुसार आज (मंगलबार)देखि सुरु भएको नकआउट चरणको सुरुवातमै परिजिताले जित हासिल गरेकी छन् ।

कोच जोन लिजेन्डको तर्फबाट मंगलबार बिहान भएको नकआउट प्रतिस्पर्धामा परिजितासहित भालारी हार्डिङ्स र पिटन एल्डिरिजबीच कम्पिटिसन भएको थियो । तर जोन लिजेन्डले परिजितालाई विजेता घोषणा गरे ।

Europass CV in Nepal

परिजिताले नकआउटको यो प्रतिस्पर्धामा एट्टा जेम्सको चर्चित गीत ‘आई वुड र्‍यादर गो ब्लाइन्ड’लाई आकर्षक शैलीमा गाएर कोचलाई पुनः मख्ख पारेकी थिइन् ।त्यति मात्र हैन, परिजिताले नकआउट प्रिमियरलाई आफूतिर आकर्षित पारिन् । नेपाली परम्परागत कुर्था पहिरन लगाएर मञ्चमा उक्लिएकी परिजिताले उक्त गीत छनोट गरेर रिहर्सलमा कोच लिजेन्डलाई प्रभावित तुल्याएकी थिइन् ।

परिजिता नकआउट विजेता भएपछि उनले गाएको भिडियोलाई ट्वीट गर्दै कोच लिजेन्डले अविश्वसनीय भन्दै प्रशंसा गरेका छन् । ‘१७ वर्ष । के तपाईंहरु सबैले यो गीत सुन्नुभएको थियो ? वास्तवमै अविश्वसनीय परिजिता,’ लिजेन्ड लेख्छन् ।