ब्रिजवेन ब्रिजवेनमा नर्सिङ पढिरहेकी नेपाली विद्यार्थी दिया मगरले एक वर्ष अघि सेकेण्ड ह्याण्ड कार किनिन् (गोपनियताका लागि नाम परिवर्तन गरिएको छ ) । ठ्याक्कै एक वर्षपछि उनको कार काम गर्ने स्थानबाहिर पार्क गरेकै ठाउबाट हरायो । रातको समयमा घर फर्कन लाग्दा कार हराएपछि अत्तालिएर दियाले यी स्तम्भकारलाई समेत फोन गरिन् । आफन्तले प्रहरीले खबर गर्न सुझाए । प्रहरीमा खबर गरेपछि दिया छाँगाबाट खसेझै भईन् ।
उल्टै चोरीको आरोप प्रहरीले कार फाइनान्स कम्पनीले तानेर लगेको भन्दै फाइनान्स कम्पनीको नाम र नम्बर दियो । सडकबाट गाडी टो गर्दा सम्बन्धी निकायले प्रहरीलाई जानकारी गराउने गर्छ । कार चोरी नभएको खबर सुनेपछि उनलाई केही राहत त मिल्यो । तर, ६ हजार डलर पुरै नगद तिरेर किनेको कार आखिर फाइनान्सले किन तान्यो ? भन्ने प्रश्नले सताउन थाल्यो ।
भोली पल्ट प्रहरीले दिएको नम्बरमा फोन गरेर उनले आफ्नो कार किन तानेको ? भनेर फाइनान्स कम्पनीलाई प्रश्न गर्दा उल्टै आफुलाई कार चोरेको भन्दै थर्काएको दियाले दुखेसो गरिन् । ‘मैले प्रहरीले दिएको फाइनान्स कम्पनीको नम्बरमा फोन गरेर कारको बारे के सोधेको थिए’-दियाले भनिन् -‘फोनमा त एक महिलाले तिमीले मेरो कार चोरेर एक वर्षदेखि चढिरहेकाले प्रहरीले पक्राउ गर्न सक्ने भन्दै थर्काए ।’ फाइनान्स कम्पनीको टेलिफोनपछि दियाको डरको सिमा रहेन ।
अरुले लिएको ऋणले पोल्यो दियाले किनेको कारमा पहिले देखि नै फाइनान्स कम्पनीको ऋण रहेछ । सन् २०२५ सम्ममा ऋण चुक्ता गरिसक्नुपर्ने गरि फाइनान्स कम्पनीबाट पहिलेको धनीले कार किनेका रहेछन् । तर, यसैबिचमा दुइ पटक कार दुर्घटनामा परेपछि ती धनीले विचौलिया मार्फत सामान्य मर्मत गरेर बेचिदिएका रहेछन् । दुइ पटक नै भयानक /चलाउनै नमिल्ने गरि (राइट अफ) कार दुर्घटनामा परेपछि ती धनीले फाइनान्सको ऋण नतिरी कार बेचेका रहेछन् ।
विचौलियाले दुइ पटक राइटअफ भएको कारलाई सामान्य मर्मत गरेर बाहिरबाहिर रंगरौगन गरेर फेसबुकमा बिक्रीको विज्ञापन गरेका थिए । सन् २०१३ मोडलको चिटिक्क परेको कार ६ हजार डलरमा बिक्री भनेर राखिएको विज्ञापनमा दियाजस्ता भर्खरै आएको नेपाली विद्यार्थीहरुको ध्यान खिचिनु नौलो होइन । त्यहि विज्ञापनको पछि लागेर दियाले किनिन् ऋणीको पोको ।
कानुनी झमेलाको चाङ नगद तिरेर किनेको आफ्नै कार चोरीको आरोप लागेपछि विद्यर्थी दियालाई कानुनी अड्चनको झमेलाले दिनुसम्मको तनाव दियो । प्रहरी कार्यालयदेखि वकिलसम्म धाएर बल्ल बल्ल दिया फाइनान्सको झमेलाबाट त बाहिर आइन् तर, उनको कार र ६ हजार डलर फिर्ता आउने छाटकाट छैन ।
वकिलले फोन गरिदिएपछि फाइनान्स कम्पनीले कारभित्रको सामान र कागजात फिर्ता दिएर चोरी भएको भन्ने आरोप फिर्ता लिएको हो । कार बेच्ने विचौलियालाई सम्पर्क गरेर पैसा फिर्ता माग्ने प्रयास जारी नै छ । तर, ती विचौलिया सम्पर्कमा आउनै चाहान्नन् । यो नितान्त व्यक्तिगत कारोवार भएकाले प्रहरीले पनि कारवार्हीका लागि चासो दिएन । ती विचौलियाले अझै पनि फेसबुकमा विभिन्न कम्पनीका पुराना कार बिक्रीमा रहेको विज्ञापन गरिरहेको छ ।
दियाजस्ता अरु थुप्रै नेपाली विद्यार्थी यस्ता विचौलियाको फन्दामा परिसकेका छन् । कार किन्दा बाहिरी सुन्दरतामा मात्रै मोहित हुनु र कारको इतिहास नहेर्दा सोझा नेपाली विद्यार्थी झमेलाको पोकोमा फस्न सक्ने डर छ ।