१८ वर्ष पुगेकालाई सैन्य तालिमदेखि पुर्व जनमुक्ति सेनालाई २० हजार गणतान्त्रिक भत्तासम्म

१८ वर्ष पुगेकालाई सैन्य तालिमदेखि पुर्व जनमुक्ति सेनालाई २० हजार गणतान्त्रिक भत्तासम्म

काठमाडौं, १८ कात्तिक । कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले घोषणापत्र सार्वजनिक गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि तयार पारिएको घोषणापत्र सार्वजनिक गरिएको हो । पार्टीको चुनाव चिन्ह ‘महिला र पुरुषको तस्बिर’ रहेको छ ।

पार्टीले वैज्ञानिक समाजवाद स्थापनाको लागि जनविद्रोहमार्फत वैचारिक, राजनीतिक, संगठनात्मक, आर्थिक, संघर्ष र अन्तर्राष्ट्रिय आधार तय गर्ने प्रतिवद्धता गरेको छ । वैज्ञानिक समाजवाद स्थापना नभइसकेको संक्रमणकालीन चरणमा सबै राजनीतिक दल, पक्षको स्वामित्व सुनिश्चित् हुनेगरी अग्रगामी राजनीतिक निकासको लागि राष्ट्रिय राजनीतिक जन–परामर्श सम्मेलनमार्फत जनपक्षीय, सर्वदलीय राष्ट्रिय संयुक्त सरकार गठन गर्नेसमेत घोषणापत्रमा जनाइएको छ ।

त्यस्तै, क्रान्तिकारी कार्यदिशा, पार्टी र नेतृत्वको विकासको लागि २ वर्षभित्र आफ्नो पार्टीले ऐतिहासिक कम्युनिष्ट सम्मेलनको आयोजना गर्ने जानकारी दिएको छ ।
पार्टीले १० वर्षे जनयुद्धका शहिदहरुलाई राष्ट्रिय शहिद घोषणा तथा अपांगता भएकाहरुलाई आजीवन निःशुल्क उपचारको व्यवस्था गर्ने, पुर्व जनमुक्ति सेनालाई मासिक २० हजार गणतान्त्रिक भत्ताको लागि संघर्ष गर्ने घोषणापत्रमा उल्लेख छ ।

Europass CV in Nepal

यसैगरी, शिक्षा, स्वास्थ्य उपचार, स्वच्छ खानेपानी र बिजुली बत्तीको निःशुल्क व्यवस्था गर्ने अठोट पार्टीले लिएको छ । पर्यटन विकास र प्राकृतिक श्रोत साधन, सम्पदा संरक्षण, प्रवद्र्धन, उचित व्यवस्थापन र वितरण गरिने प्रतिवद्धता गरिएको छ । त्यस्तै, राष्ट्रिय पुँजी, उद्योगको संरक्षण र प्रवद्र्धन गर्नेमा जोड दिइएको छ । साथै, पार्टीले कृषि उत्पादन सहज विक्रिवितरण र पहुँचको लागि सडक विस्तार तथा खरिद विक्रि केन्द्रहरुको निर्माण र व्यवस्था गर्ने भएको छ । १८ वर्ष पुगेका नेपाली नागरिकलाई सैन्य तालिमको व्यवस्था गर्ने, भावी पुस्तालाई निलो आकाश, हरियो चौर र खुल्ला खेल मैदानको सुनिश्चित्ता गर्न पनि विशेष पहल गर्ने पनि आज सार्वजनिक गरिएको घोषणापत्रमा उल्लेख गरिएको छ ।

मजदुरको लागि सामाजिक सुरक्षाको ग्यारेन्टी र निम्न आय भएका जनतालाई महँगीको अनुपातमा दैनिक उपभोग्य वस्तुमा सहुलियत दरमा रासनकार्डको व्यवस्था गर्ने र जेष्ठ नागरिकको गाँस,बास, स्वास्थ्य, सुरक्षा र मनोरन्जनको व्यवस्था गरिने जनाइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कर्णजित बुढाथोकी राष्ट्रविरोधीलाई भोट नदिएर देशलाई बर्बाद हुनबाट जोगाउनुपर्ने जिम्मेवारी जनताको रहेको बताएका छन् । उनले भ्रष्टाचारी र अपराधीलाई लखेट्न, जनताको पक्षमा आधाीबेहरी ल्याउन चुनावमा होमिएको स्पष्ट पारे । देशमा संसदबाट बन्ने कानुनहरु पनि कार्यान्वयन नभएको उनको टिप्पणी थियो ।

संसदवाद र बहिस्कारवाद दुवै क्यान्सरको रुपमा उभिएको भन्दै उनले संघीय व्यवस्था जनताको क्रान्तिकारी व्यवस्था नभएको दाबी गरे । उनले भने,‘हामीले यसबारे बारम्बार भन्दै आएका छौं, संसदवादकै कारणले गर्दा जनताका समस्याका विषयहरु कार्यान्वयन भएका छनैन् ।’

दक्षिणपन्थी यात्रामा हिँडेका माओवादी केन्द्र र एमालेलाई तह लगाउन कम्युनिष्ट एकताको अभियान चलाउँदै आएको उनले बताए । बुढाथोकीले ‘वैज्ञानिक समाजवादको आधार महिला र पुरुषको समान अधिकार’नाराका साथ आफ्नो पार्टीले चुनावचिन्ह महिला र पुरुषको तस्बिर अगाडी सारेको सुनाए ।

उनले मानव समाजको विकासक्रमदेखि चलिआएको महिला र पुरुष रहने र मानव समाजको सर्वाङ्णि विकासको अनिवार्य शर्त नै महिला पुरुषबीचको विभेद हटाउने रहेकोसमेत जिकिर गरे । उनले समानुपातिकमा मात्र महिलालाई नराखी स्थानीय निकायमा दुई अध्यक्ष जसमा एक पुरुष र एक महिलाको संवैधानिक र कानुनी व्यवस्था गर्न प्रस्ताव गरेको समेत सुनाए ।