निर्वाचन आयोगले काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई स्पष्टीकरण सोधेको छ । ईन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीले मेयर साहको तस्बिर र नाम राखेर निरन्तर भोट मागिरहेका कारण उनको त्यस पार्टीसँग सम्लग्नता रहे नरहेको बारे जानकारी दिन स्पष्टिकरण मागिएको हो ।
आयोगले पत्र प्राप्त भएको दुई दिनभित्र स्पष्टीकरण दिन मेयर साहलाई निर्देशन दिएको छ । लौरो चुनाव चिह्न भएको हाम्रो नेपाली पार्टीले चुनाव प्रचार प्रसारको क्रममा बालेनको तस्बिर प्रयोग गरेकाले यसबारे दुई दिनभित्र सो पार्टीसँग आफ्नो संलग्ता छ वा छैन साथै उक्त दललाई सो कार्य गर्न तपाईबाट व्यक्त वा अव्यक्त सहमित छ वा छैन ? स्पष्ट पार्न भनिएको छ ।
यसअगाडि स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिएको लौरो चुनाव चिह्न अहिले हाम्रो नेपाली पार्टीको चुनाव चिह्न रहेको छ । स्थानीय तहमा सोही चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवार काठमाडौं महानगरका मेयर र धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ राई निर्वाचित भएका थिए ।