फेरी एकजना यात्रु मात्रै बोकेर उड्यो बुद्ध एयरको जहाज

फेरी एकजना यात्रु मात्रै  बोकेर उड्यो बुद्ध एयरको जहाज

काठमाडौंबाट झापाको भद्रपुर गएको बुद्ध एयरको ७२ सिटे जहाजले आज एकजना मात्र यात्रु पाएको छ । काठमाडौंबाट बिराटनगर जाँदा दुईपटक एकजना मात्र यात्रु लिएर गएको बुद्ध एयर आज भद्रपुर जाँदासमेत एकजना मात्र यात्रु लिएर गएको हो ।

यो एक हप्ताको अवधिमा ७२ सिटे जहाजमा एकजना मात्र यात्रु भएको यो तेस्रोपटक हो । मंगलबार काठमाडौंबाट बिराटनगर गएको बुद्ध एयरको अन्तिम फ्लाइटमा एकल यात्रु थिए उद्धव पौडेल, बिहीबार बिराटनगर पुगेका बुद्ध एयरको ७२ सिटे जहाजका एकल यात्रु थिए सन्तोष सापकोटा ।

जहाज नै चार्टड गरेको जस्तो भान हुने गरी शनिबार राति भद्रपुर पुगेकी यात्रु हुन् झापा चन्द्रगढीकी लक्ष्मी घिमिरे । उनी आज काठमाडौंबाट भद्रपुर जाने निर्धारित ७:२५ को विमानकी एक्ली यात्रु हुन् । निर्धारित समयमा उड्नुपर्ने बिमान ९ बजेमात्र काठमाडौंबाट भद्रपुरको लागि उडेको हो ।

यो बिमान भद्रपुरबाट प्यासेन्जर बोकेर काठमाडौं फर्कने बताइएको छ । यात्रु घिमिरेले पाँच हजार ७५० रुपैयाँको टिकट काटेर जहाज चार्टड नै गरेकोजस्तो भान हुनेगरी भद्रपुर पुगेकी हुन् । उनी नेपाल पत्रकार महासंघ झापा शाखाको पूर्वअध्यक्ष तारामणी सापकोटाको धर्मपत्नी हुन् ।