कतारका ८ रंगशाला : ५५ किलोमिटर भित्र सबै रंगशाला पुग्न सकिने

कतारका ८ रंगशाला : ५५ किलोमिटर भित्र सबै रंगशाला पुग्न सकिने

२१ कात्तिक, काठमाडाैं । सन् २०२२ फिफा विश्वकप सुरु हुन १३ दिन बाँकी छ । प्रतियोगिताको मेजवानीका लागि कतारले आठवटा रंगशाला तयार गरिसकेको छ । हरेक रंगशालाले फरक फरक विशेषता बोकेका छन् । यी संरचनाले विश्वकप हेर्न जाने दर्शकलाई मोहित पार्ने विश्वास गरिएको छ ।

तीमध्ये एउटा रंगशाला मध्यपूर्वी टोपीको शैलीमा निर्माण गरिएको छ । एउटा रंगशाला कन्टेनरबाट निर्मित छ । अर्को एउटा रंगशाला योनी आकारको बनाइएको भन्दै संसारभर बदनाम छ ।

सन् १९७८ मा अर्जेन्टिनामा भएको १६ टिम सहभागी विश्वकपपछि कै सबैभन्दा थोरै रंगशालामा प्रतियोगिता आयोजना हुनेछ । सम्भवतः अहिलेसम्मकै सबैभन्दा धेरै विवादास्पद विश्वकप हेर्न जाने समर्थकले भने एकबाट अर्को खेलस्थलमा पुग्न राहत महशुस गर्नेछन् ।

Europass CV in Nepal

किनभने विश्वकप खेलिने आठवटै रंगशाला सेन्ट्रल दोहाबाट २१ माइल (३३.७९ किलोमिटर ) दूरीमा अवस्थित छन् । सबै रंगशालालाई मेट्रो र ट्राम प्रणालीमा जोडिएको छ । एकै दिन समर्थकले धेरैभन्दा धेरै खेल हेर्न सम्भव बनाउने प्रयास गरिएको छ ।

सबै रंगशालामा सोलार प्यालन फर्मबाट विद्युतीय शक्ति नियन्त्रित गरिनेछ । गर्मीबाट राहत पाउनका लागि अत्याधुनिक चिस्यान प्रणाली जडान गरिएको छ । यद्यपी प्रतियोगिता जाडो मौसममा हुन लागेका कारण सहभागीहरुले मध्यपूर्वको चर्को गर्मीको सामना गर्नुपर्ने छैन ।

प्रतियोगिता एक महिनासम्म चल्नेछ । कतारले विश्वकपका लागि निर्माण गरेका सबै रंगशाला सोही स्वरुपमा दीर्घकालसम्म राख्ने छैन । कतारी फुटबलको घरका रुपमा एउटा रंगशाला सुरक्षित हुनेछ । एउटा रंगशाला पूर्ण ध्वस्त पारिनेछ भने बाँकी ६ वटा रंगशालाको सिट क्षमता घटाएर त्यसलाई विकासशील देशमा पठाइनेछ ।