ललितपुरमा पम्फा भुसाल डा. तोसिमा कार्कीको कडा चुनौती

ललितपुरमा पम्फा भुसाल डा. तोसिमा कार्कीको कडा चुनौती

ललितपुर ।  आमचुनाव आउन ९ दिन मात्रै बाँकी छ । ललितपुर महानगरपालिका–१४ नखिपोटकी ७० वर्षीया मनमाया सञ्जेलले भने कसलाई भोट दिने निर्णय गरिसकेकी छैनन् । ‘धारोमा पानी ल्याउँछौं भनेर भोट माग्न आए तर जिताएपछि नेता फर्केर आएनन्, पानी पनि आएन,’ उनले भनिन्, ‘महिनामा दुई ट्यांकर पानी किनेर खानुपरेको छ ।’ योपालि भोट दिने कि नदिने भन्ने अन्योलमा रहेको उनले बताइन् ।

यो निर्वाचन क्षेत्रमा ललितपुर महानगरका वडा नं. १ देखि ५, १०, १३, १५, २० देखि २९ वडा र गोदावरी नगरपालिकाका वडा नं. १२ र १४ पर्छन् । यस क्षेत्रबाट १३ दलका १३ उम्मेदवार छन् भने स्वतन्त्रबाट ७ जना छन् । यीमध्ये तीन जनाबीच कडा प्रतिस्पर्धा रहेको ठानिएको छ । गठबन्धनबाट माओवादीकी ६० वर्षीया पम्फा भुसाल ‘अन्तिम पटक’ उम्मेदवारका रूपमा प्रस्तुत भएकी छन् ।

एमालेका ४९ वर्षीय अमृत खड्का ‘म बनाउँछु समृद्ध, सुन्दर र सम्पदाको सहर’ भन्दै घरदैलोमा छन् । उनी २०५४ सालको स्थानीय निर्वाचनमा सबैभन्दा कान्छो २३ वर्षको उमेरमा ललितपुरको सैंबु गाविस अध्यक्ष बनेका थिए । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ‘स्वस्थ नेपाली सुखी नेपाली’ नारासहित मतदातामाझ पुगेकी छन् ।

Europass CV in Nepal

‘मुख्यतः गठबन्धनका उम्मेदवार र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ,’ ललितपुर–३ का मतदाता तथा अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्, ‘निर्वाचन आयोगले डा. कार्कीलाई चर्चामा ल्याएकाले उनीसमेत प्रतिस्पर्धा आउन सक्ने देखिन्छ ।’ उनका अनुसार महानगरको मुख्य समस्या खानेपानी, सातदोबाटोदेखि ठेंचो हुँदै चापागाउँ जाने, नख्खुदेखि सैंबु भैंसेपाटी जाने, सातदोबाटोदेखि हरिसिद्ध हुँदै गोदावरी जाने बाटो समस्यामै गुज्रिएका छन् । ‘अधिकांश सामुदायिक विद्यालयको गुणस्तर कमजोर छ,’ उनले भने, ‘मुटु, न्युरोलगायत सबैखाले उपचार गर्ने सर्वसुलभ अस्पताल छैनन् ।’

गठबन्धनकी उम्मेदवार भुसाल यसअघि ललितपुर–३ बाट पहिलो संविधानसभामा भारी मतले विजयी भएकी थिइन् । २०७४ सालमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी भइन् । उनले उतिखेर एमालेको साथ पाएकी थिइन् । अहिले संघीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री रहेकी भुसाल योसहित चारपटक मन्त्री बनेकी छन् ।

अर्घाखाँचीमा जन्मिएकी भुसाललाई कतिपय मतदाताले ‘बाहिरिया’ ठान्छन् । ‘संकीर्ण सोच भएका कसैले ललितपुरवासी होइन भन्लान् तर म ४४ वर्षदेखि ललितपुरमा छु,’ घरदैलोमा भेटिएकी भुसालले कान्तिपुरसँग भनिन्, ‘मेरो व्यक्तिगत, सामाजिक, राजनीतिक पृष्ठभूमि ललितपुरसँग निरन्तर छ ।’ आचारसंहिताले गर्दा चुनावी रणनीति विगतभन्दा फरक शैली अपनाउनुपरेको उनको भनाइ छ । भुसाललाई कांग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चालगायत दलले साथ दिएका छन् ।

एमाले उम्मेदवार खड्का भने अनुभवका आधारमा आफ्नो क्षेत्रको विकास गर्ने बताउँछन् । ‘खानेपानीको वैकल्पिक स्रोत व्यवस्थापन, प्रदूषण रोकावट, रोजगारी सिर्जना, सांस्कृतिक सहरको ऐतिहासिकतालाई जगेर्ना गर्ने हाम्रो प्रतिबद्धता छ,’ वाग्मती प्रदेश कमिटी सदस्यसमेत रहेका उनले भने । राष्ट्रिय स्वतन्त्र पार्टीकी कार्कीले घर–घरमा स्वास्थ्यको पहुँच, महिला सशक्तीकरण, प्राविधिक शिक्षा र युवा रोजगारीलगायतका एजेन्डा लिएर अघि बढेको बताइन् ।

‘पुराना नेता परिवर्तन गरी सक्षम युवालाई अघि बढाउन जरुरी छ,’ उनले भनिन्, ‘सडक, खानेपानी, विकासमा निरन्तर भइरहेको राजनीति आश्वासनलाई छाडेर अब सबल कार्यान्वयनको खाँचो छ ।’ पुराना दल र नेताबाट वर्षौंदेखि दिक्क भइरहेका मतदाताका कारण आफ्नो जित सुनिश्चित रहेको उनले दाबी गरिन् ।