२७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोडफोड भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेस संयोजक गणेश कार्कीका अनुसार आइतबार घरदैलोका क्रममा मुग्लिनमा गाडी तोडफोड भएको हो । उनले निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनुपर्ने दायित्व भएको राज्य मुकदर्शक भएको आरोप लगाएका छन् ।
निर्वाचन आयोगले सबै राजनीतिक दल एवं सबै उम्मेदवारलाई निर्वाध रूपमा प्रचारप्रसार गर्ने वातावरण सृजना गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।आइतबार दिउँसो चितवनको मुग्लिनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसहित प्रचारप्रसारमा रहेको बेलामा एउटा गाडीमा तोडफोड भएको थियो।
तोडफोड भएपछि आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले विज्ञप्ति जारी गर्दै सबै राजनीतिक दल एवं उम्मेदवारलाई निर्वाध रूपमा प्रचारप्रसार गर्ने वातावरण सृजना गर्न गृह मन्त्रालयलाई पुन: निर्देशन दिएको हो।
‘पछिल्लो समयमा चितवनलगायत विभिन्न जिल्लामा उम्मेदवारले निर्वाध रूपले प्रचारप्रसार गर्ने कार्यमा अवरोध तथा निर्वाचनमा सहभागी पक्षहरूबीच विवाद भई सवारी साधन तोडफोड भएको भन्ने सम्बन्धमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ आयोगले भनेको छ।
आयोगले यसअघि नै दल, उम्मेदवार, कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक, मतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुने वातावरण तयार गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई कात्तिक २२ गते नै निर्देशन दिएको थियो। आज फेरि तोडफोड भएपछि आयोगले मन्त्रालयलाई पुन: निर्देशन दिएको हो।