बिपिनरावतको भावना नेपालप्रति असाध्यै राम्रो थियो : प्रधानसेनापति शर्मा

बिपिनरावतको भावना नेपालप्रति असाध्यै राम्रो थियो :  प्रधानसेनापति शर्मा

काठमाडौं । बुधबार भारतीय सेनाको एमआई–१७ हेलिकोप्टर भारतको तलिमनाडुको कुन्नुरको जंगलमा दुर्घटना हुँदा हेलिकोप्टरमा सवार भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतसहित १३ जनाको ज्यान गयो। नेपालसँग राम्रो सम्बन्ध भएका सैनिक अधिकारी हुन् रावत।

भारतका सेना प्रमुख रावतको निधनले नेपाललाई पनि स्तब्ध बनाएको नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बताएका छन्। रावतको निधनमा दुःख व्यक्त गर्दै प्रधानसेनापति शर्माको नजरमा रावत जुनसुकै बेला पनि मित्रता गाँस्न सक्ने व्यक्ति हुन्।

‘असाध्यै सरल र भलाद्मी व्यक्तित्वको रुपमा लिन्छु उहाँलाई,’ अनलाइनन्युज७ सँगको कुराकानीमा सेनापति शर्माले भने, ‘परिवार पनि त्यस्तै। नेपाल र नेपाली मन पराउने व्यक्ति। नेपालीलाई बढी माया गर्ने मान्छे। तर काममा व्यावसायिकता पनि।’

Europass CV in Nepal

‘उहाँ (रावत) ले सधैं नेपालप्रति सहानुभूति देखाउनुहुन्थ्यो,’ सेनापति शर्माले भने, ‘दुई देशको आर्मीबीच सधैं राम्रो सम्बन्ध हुनुपर्छ भन्नुहुन्थ्यो। उहाँको भावना नेपालप्रति असाध्यै राम्रो थियो।’

रावतको कारण नेपालसँगको सैनिक सम्बन्ध जुन किसिमले सुदृढ हिसाबले अगाडि बढेको थियो, अब त्यसमा केही न केही हिसाबमा धक्का पर्छ कि भन्ने सेनापति शर्माको बुझाइ छ।

उहाँ (रावत) सँग स्पेशल भेटघाट समेत भएको स्मरण गर्दै सेनापति शर्माले भने, ‘उहाँको परिवारसहित भेटघाट भएको थियो। त्यो भेट अहिले पनि मेरो दिमागमा झ–झल्ती आइरहेको छ। भेट स्पेशल भएको थियो। भेटमा राम्रो सल्लाह दिनुहुन्थ्यो।’

सेनापति शर्माको भनाइ जस्ताको तस्तै

जागिरको अवधीमा अधिकांश समय गोर्खा पल्टनमा बिताउनुभएकाले पनि होला उहाँको नेपालप्रतिको सहानूभूति अत्यन्तै राम्रो थियो। हामीले पनि त्यहि व्यवहार देखाउँथ्यौं।नेपाल र नेपालीलाई पनि बुझेको, सैनिक जीवनको झण्डै पूरै समय गोर्खा पल्टन नेपालीसँगै बिताएकोले अन्य भारतीय सेनाका पदाधिकारीभन्दा रावतसँगको सम्बन्ध नेपाली सेनासँग विशेष छ।

दुई देशको आर्मीबीच सधैं राम्रो सम्बन्ध राख्नुपर्छ भन्नुहुन्थ्यो। त्यसैले होला भारत र नेपाली सेनाबीचको सम्बन्ध सुमधुर नै रहेको छ। उहाँको भावनामा नेपालप्रति असाध्यै गहिरो प्रेम छ। हामीप्रति गर्ने विश्वास झनै उहाँको ठूलो कुरा हो।

उहाँ असाध्यै मिजासिलो स्वभावको हुनुहुन्छ। पछिल्लोपटक म भारत भ्रमणमा जाँदाभएको भेटमा उहाँलाई नेपाल भ्रमणको समेत निम्तो दिएको थिएँ। उहाँले म आउँछु भन्नुभएको थियो। तर… अब के भनुम। उहाँसँग त्यतिबेला भएको भेट स्पेशल थियो। उहाँको परिवारसहित भेट भएको थियो।

जुनसुकै बेला पनि मित्रता देखाउनसक्ने क्षमतावन व्यक्तिको रुपमा मैले उहाँलाई चिनेको हुँ। उहाँको निधनले भारतलाई मात्र नभएर नेपाललाई समेत ठूलो क्षति पुगेको मैले महसुस गरेको छु।

को हुन् रावत?

भारतको पौरी गडवाल उत्तराखण्डमा १६ मार्च सन् १९५८ मा जन्मेका रावत नेपाली भाषा सहजै बोल्थे। १६ सेप्टेम्बर सन् १९७८ बाट सेवामा प्रवेश गरेका उनले आफ्ना पिताझैँ गोर्खा राइफल्सको पाँचौँ बटालियनबाट सैनिक जीवन सुरु गरेका हुन्।

त्यहीँबाट नै उनलाई नेपाल र नेपालीप्रति विशेष लगाव भएको जानकारहरु बताउँछन्। सन् २०१६ मा सेनाअध्यक्ष बनेका रावत २७ औँ स्थल सेनाध्यक्ष थिए। त्यसअघि उनी भारतीय सेनाका उपप्रमुख नियुक्त भए।

भारतीय स्थल सेनाध्यक्षको हैसियतमा रावतले करिब पाँच वर्षअघि नेपाल भ्रमण गरेका थिए। त्यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारीले रावतलाई वि.सं. १६ चैत २०७३ मा नेपाली सेनाको महारथीको दज्र्यानी चिन्ह प्रदान गरेकी थिइन्।

राष्ट्रपति भवन सितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले उनलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी थिइन्। नेपाल र भारतबीच एकअर्को मुलुकका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने चलन रहिआएको छ।

तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष रावत १५ चैत २०७३ मा चार दिवसीय भ्रमणको सिलसिलामा नेपाल आएका थिए। उनलाई पूर्व प्रधानसेनापति पूर्णचन्द्र थापाले स्वागत गरेका थिए।

उनी चिफ अफ स्टाफ कमिटीका ३२औँ अध्यक्ष पनि हुन्। भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ पनि हुन्। ३१ डिसेम्बर २०१९ बाट उनले चिफ अफ डिफेन्स स्टाफको पदभार ग्रहण गरेका थिए।

 

Europass CV in Nepal