राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच चितवनको इच्छाकामना गाउँपालिका-४ लेवाटारमा मा झडप भएको छ । आज दिउसो साढे ४ बजे आसपासको समयमा भएको झडपमा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव प्रचार प्रसारको लागि प्रयोग गरेको बा१४च७६८४ नम्बरको सुमो गाडीमा तोडफोड गरिएको छ ।
यस विषयमा थप जानकारी लिन हामीले चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरी आचार्यलाई सम्पर्क गरेका थियौ तर आचार्यसँगको सम्पर्क नेटवर्कका कारण राम्रो नभएपछि हामीले इलाका प्रहरी कार्यालय मुग्लिनमा सम्पर्क गर्यौँ ।
मुग्लिनमा रहेका प्रहरी निरीक्षक सञ्जित तामाङका अनुसार आज उक्त स्थानमा सत्ता गठबन्धन चुनावी प्रचार प्रसार टोली र रास्वपाको चुनावी प्रचार प्रसार टोली आम्नेसाम्मे भएका हुन् ।
विपरीत दिशाबाट आएका दुवै टोलीलाई प्रहरीले आ-आफ्नो लेन प्रयोग गरेर बाटो काट्न सुझाव दिएको थियो । त्यसमा क्रममा अन्तिममा रहेको गठबन्धनको गाडीमा रहेका कार्यकर्तालाई रास्वपाका कार्यकर्ताहरूले गाली गलौच गरेपछि झडप भएको हो । झडपको क्रममा तानातान गर्दागर्दै गाडीको सिसा फुटाइएको हो ।
प्रहरी निरीक्षक तामाङ भने आफै सो स्थानमा थिएनन् । कुखुराको भाले चुनाव चिह्नको मङ्गोल नेशनल अर्गनाइजेशनको टोलीको पनि चुनावी प्रचार प्रसारमा रहेकाले सो टोलीबाट सडक खुलाउनको लागि उनी अर्कैतिर भएको समयमा घटना भएको उनले बताए । प्रहरीले सत्ता गठबन्धनलाई असई र रबी लामिछानेको टिममा सईको नेतृत्वमा प्रहरी टोली खटाएको थियो ।
उक्त कार्यमा संलग्न भएको व्यक्ति सत्ता गठबन्धनको चुनावी प्रचार प्रसारमा संलग्न भएको खुलेको छ । प्रहरीले यो समाचार तयार पार्ने क्रमसम्म ती व्यक्तिलाई पक्राउ गरेको छैन ।
प्रहरी निरीक्षक तामाङ भन्छन् ती व्यक्तिलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइने छ । उक्त झडपपछि सो व्यक्ति भागेको हुनाले खोजी कार्य जारी छ । चितवनको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने यस क्षेत्रमा सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसका उमेश श्रेष्ठ उम्मेदवार छन् ।





