मुख्य सामग्रीमा जानुहोस्
Saturday, 17 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

चितवन पुगेर केपी ओलीले स्वतन्त्र उम्मेदवारका लागि भोट मागे

Himali Patrika 1 मिनेट पढाइ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन क्षेत्र नम्बर ३ मा दिनेश कोइरालालाई जिताउनुपर्ने बताएका छन्।कोइराला राजनीति बुझेको र लोकतान्त्रिक चरित्रको भएको ओलीले बताए।

आज चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘कोइराला लोकतान्त्रिक चरित्रको मान्छे हो। राजनीति बुझेको मान्छे हो। नारायणीको तिरमा माछा चुनाव चिन्ह लिएर उठ्नुभएका कोइरालालाई जिताउन एमालेले सहयोग गरेको छ।’

कोइराला कांग्रेसका केन्द्रीय सदस्य थिए। उनले बागी उम्मेदवारी दिएपछि कांग्रेसले ५ वर्षका लागि पार्टीबाट निकालेको छ। चितवन ३ मा एमालेले आफ्नो उम्मेदवारलाई पछि हटाउँदै कोइरालालाई सहयोग गर्ने यसअघि बताएको थियो।

साथै एमालेलाई सुदृढ लोकतान्त्रिक शक्ति बनाउनका निम्ति उनले आग्रह गरेका थिए।ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति पनि कटाक्ष गरेका छन्। चितवनमा घर बनाएका प्रचण्ड बास बस्नका निम्ति गोरखा पुगेको भन्दै उनले कटाक्ष गरेका हुन्। ‘चितवनमा धाकधक्कु लगाएर घर बनाएर बास बस्न गोरखा पुगे प्रचण्ड। चितवनमा आफ्नो घर बनाउने बाहेक के काम गर्नुभयो?’ ओलीले प्रश्न गरे।

ओलीले सत्ता गठबन्धनलाई म्याद गुज्रिएको औषधिको संज्ञा दिएका छन्। ‘पटक-पटक सरकारमा हुँदा पनि नेपाली कांग्रेस र माओवादीले केही गर्न सकेन। यिनीहरू म्याद गुज्रिएका औषधि हुन्। कुनै काम गर्नेवाला छैन,’ उनले भने।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।