मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

नेपालमा माओवादीलाई हराउन सक्ने तागत कोहीसँग छैन: प्रचण्ड

Himali Patrika 1 मिनेट पढाइ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीलाई पहिलो नम्बरको पार्टी बनाउने गरी परिचालित हुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

माओवादीलाई कोही कसैले पनि पराजित गर्न नसक्ने दाबी गर्दै अध्यक्ष दाहालले भने, ‘माओवादीलाई हराउन सक्ने तागत कोही कसैसँग छैन। हामी अरूजस्तो पार्टी होइन, राष्ट्र र जनताका लागि काम गर्ने पार्टी हो।’

उनले सबै तह, तप्कामा आक्रामक ढङ्गले गयौं र जनतालाई विश्वासमा लियौं भने आफू नेतृत्वको पार्टी एक नम्बरको पार्टी बन्ने विश्वास व्यक्त गरे।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टी चुनौती र अवसरका बीचमा रहेको भन्दै स्पष्ट कार्यदिशाका साथ अगाडि बढे सफल भइने बताए।

सात प्रदेश र दुइटा गैरभौगोलिक प्रदेशको सम्मेलनलाई श्रव्यदृश्यका माध्यमबाट उद्घाटन गर्दै उनले पार्टीभित्र रहेको अलमललाई हटाएर नयाँ विचारका साथ क्रान्तिकारी बनाएरै छाडिने बताए।

अध्यक्ष दाहालले पार्टीमा कमी/कमजोरी रहेको र त्यसलाई सच्याएर क्रान्तिकारी र जनपक्षीय पार्टीका रूपमा रूपान्तरण गर्नुपर्ने दोसाँधमा रहेको उल्लेख गरे।

‘नयाँ विचारसहित आफ्नै खुट्टा उभिऔं’

अध्यक्ष दाहालले पार्टीलाई आफ्नै सङ्गठन, आफ्नै विचारसहित आफ्नै खुट्टामा उभिने बनाउनु नै तत्कालको आवश्यकता रहेको उल्लेख गरे। अध्यक्ष दाहालले हामी आफैं दुविधामा परेका कारण हेपिएको भन्दै अब माओवादीलाई कोही कसैले पनि प्रश्न उठाउन नसक्ने गरी सबल र सक्षम बनाउने दृढता व्यक्त गरे।

अध्यक्ष प्रचण्डले भने, ‘विश्वमा हाम्रो मात्रै पार्टी त्यस्तो ठाउँमा छ, जसले विचारलाई विकास गर्ने सम्भावना पनि बोकेको छ । अहिलेका चुनौतीको सामाना गर्ने आधार पनि बोकेको छ र क्रान्तिको नयाँ मोडल हामी आफैंले खोजी गर्नुपर्छ।’

अध्यक्ष दाहालले विचार, संगठनमा नयाँ मोडल खोज्न सक्ने सम्भावना बोकेको पार्टी पनि माओवादी नै भएको स्पष्ट पारे।उनले एमालेको हालै चितवनमा सम्पन्न भएको महाधिवेशनलाई पञ्चर्‍यालीको संज्ञा दिए।

पञ्चायतकालको अन्त्यतिर पनि ठूला–ठूला पञ्चर्‍याली हुने गरेको स्मरण गर्दै अध्यक्ष दाहालले विचारको बहस नहुने, व्यक्तिपूजा मात्रै हुने भेला तथा सम्मेलनको कुनै अर्थ नभएको बताए। अध्यक्ष दाहालले नेपाली कांग्रेसको जारी महाधिवेशन पनि हेरिरहेको उल्लेख गर्दै त्यहाँ पनि राष्ट्र कस्तो बनाउने भन्नेतिर बहस नभएको आरोप लगाए।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।