एप्पल कम्पनीका सहसंस्थापक स्टिभ जब्सले क्यालिफोर्नियास्थित घरमा लगाएको चप्पल २ करोड ८२ लाख रुपैयाँभन्दा बढीमा लिलामबिक्री भएको छ । जुलिएन्स अक्सन्स नामक लिलामबिक्री कम्पनीका अनुसार, जब्सले सन् १९७० को दशकमा लगाएको चप्पलका लागि अहिलेसम्मकै सबभन्दा बढी रकम तिरिएको छ । त्यो चपपल थोत्रो भइसकेको छ ।
‘जुटबाट बनेको चप्पल स्टिभ जब्सको पाइतालाको निशान देखिन्छ किनकि उनले वर्षौंसम्म त्यही चप्पल लगाएका थिए,’ अक्सन हाउसले आफ्नो वेबसाइटमा लेख्यो ।त्यति धेरै रकम हालेर चप्पल कसले किनेको हो भनी अक्सन हाउसले खुलाएन ।
जब्स र स्टिभ वोज्नियाकले सन् १९७६ मा एप्पल स्थापना गरेका थिए । क्यालिफोर्नियाको लस एल्टोसमा रहेको जब्सका मातापिताको घरमा उक्त कम्पनी खोलिएको थियो ।सन् २०१३ मा लस एल्टोस हिस्टोरिकल कमिसनले त्यस घरलाई ऐतिहासिक स्थल घोषणा गरेको थियो । क्यान्सरका कारण जब्सको मृत्यु सन् २०११ मा भएको थियो ।



