मुख्य सामग्रीमा जानुहोस्
Sunday, 6 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
विचार

हृदयविदारक अवस्थामा रमाउन खोज्ने समवेदना हराएको नेपाली समाज

Himali Patrika 1 मिनेट पढाइ

माघेसङ्क्रान्ति पर्वको दिन पोखरामा भएको कहालीलाग्दो जहाज दुर्घटनाबाट पुरै देश स्तब्ध भएको छ। जहाजमा सवार चालकदलका सदस्यसहित  ७२ जनाले आफ्नो ज्यान गुमाएका छन्। जहाज दुर्घटना पश्चात दुर्घटना स्थलमा भएको भिडभाडका कारण उद्धार तथा खोजतलास कार्यमा समेत असहज अवस्था श्रीजना भएको थियो। 

अधिकांश मानिसहरू दुर्घटनास्थलमा उद्धार भन्दा बढी रमिता हेर्न पुगेका थिए। त्यहाँ पुगेकाहरू सेना प्रहरीलाई सहयोग गर्नुको साटो उल्टो  फेसबुक र टिकटकाका लागि भिडियो बनाउनुमा व्यस्त थिए। भिडियो खिच्नेहरुको भिडभाडका कारण उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई समेत अप्ठ्यारो परेको थियो। 

नेपाली समाजमा समवेदना गुमिसकेको उदाहरण अनलाइनखबरले राखेको एउटा भिडियोबाट प्रष्ट हुन्छ। एक प्रत्यक्षदर्शीको बयानका आधारमा बनाइएको उक्त भिडियोमा उनले भनेकाछन्, ‘म घरबाहिर घाम तापेर बसिराखेको थिएँ । एक्कासि ठूलो आवाजसहित जहाज मेराे आँखै अगाडि सेती खोचको डिलमा बजारियो । प्लेन खस्नेबित्तिकै गेट खोलेर (सेतीखोंचलाई वरिपरि फलामे तारले घेरेर बन्द गरिएको छ, जसमा भित्र पस्न गेट बनाइएको छ) म भित्र दौडिएको हुँ ।

चप्पल पनि लगाको थिइनँ । म पुग्दासम्म अरु कोही पनि पुगेका थिएनन् । सुरुमा हेर्दा एकजना केटीलाई डिलमा देखें । म उनै भएकोतिर दौडिएको हुँ । त्यहाँ पुगेर मैले उनलाई तानें । सास चलिरहेको थियो । त्यो केटीलाई पानी नदिनूभन्दै थिएँ, अर्को एकजना बुढो दाइ आएर पानी हालिदियो ।

मैले नहाल्नूनहाल्नू भन्दा भन्दै बुढोले पानी, माटो हाल्दियो । घटना हुँदा १४-१५ जना नजिकै थिए । तर, त्यहाँ आएर कोही बचाउन आएनन् । प्लेन सुरुमा बाहिरै ठोक्किएर तल खसेको थियो, बाहिर ठोक्किँदा केही मान्छे बाहिर खसे । उनीहरुलाई मैले निकाले । २ जनाको त सासै चलिराखेको थियो ।

पछि उनीहरुलाई गण्डकी अस्पाल लगेको सुनें, अहिले के भयो थाहा छैन । मैलेचाहिँ डिलबाट ज्युँदै निकालेको हुँ । बाहिर अरु पनि खसेका थिए, अरुलाई पनि निकाल्न आउनुभन्दा कोही आएनन् । सबै भिडियो बनाएर बसे । अझ मैले त ‘तपाईंका बाबुआमा होलान्, दाजु भाइ होलान् आउनुस्’ भनेको हुँ । मेरो कुरा सुनेनन्, म एक्लैले ७ वटालाई बाहिर निकालें ।” 

यी व्यक्ति जस्तै उपस्थित सबैले भिडियो बनाउनुको साटो उद्धारमा लागेको भए आगोले जलनबाट धेरैलाई बचाउन सकिन्थ्यो कि ? 

 

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।