राष्ट्रको एकता र स्वाविमान बलियो हुँदो हो त हामी वर्षभरि अनेक गतिविधि गरेर राष्ट्रिय एकतालाई मजबुत बनाइरहेका हुन्थ्यौं । विविधतामा एकता खोज्थ्यौं । तर, अदूरद्रष्टा र भ्रष्ट आचरण भएका नेताहरु भएको देशमा पृथ्वीनारायण शाहलाई नै गाली गरेको सुन्नु परेको छ । मानौं देश एकीकरण गरेर उनले अपराध गरे ।
पहिलो विश्वयुद्ध लगत्रै देखि दास्रो विश्वयुद्ध सकियुन्जेलसम्म अमेरिकामा पनि माक्र्स, एङ्गेल्स, लेनिन लगायतका नेताहरुको फोटो भएको प्लेकार्ड बोकेर कम्युनिस्ट पार्टीका नाउँमा प्रदर्शन गरिन्थ्यो । पछि कम्युनिष्ट पार्टीका कारण लिबरल डेमोक्रेसीमा जोखिम आउन सक्ने र तत्कालीन सोभियत संघ लगायतका साम्यवादी मुलुकहरुको घूसपैठका कारण राजनीति अस्थिर हुनसक्ने ठानेर सन् १९५४ मा कम्युनिष्ट नियन्त्रण ऐन लागु गरियो, जसले कम्युनिष्ट नाम गरेका राजनीतिक दल खोल्न बन्देज लगायो । कसैले कम्युनिष्ट पार्टीका नाउँमा सदस्यता वितरण गरेको पाइएमा १० हजार डलर जरिवाना र जेल सजायँको व्यवस्था गरियो । त्यसअघि अमेरिकी कम्युनिष्ट पार्टीलाई सोभियत संघले पैसा दिने र आफ्ना एजेन्डाहरु अनुसार अमेरिकी समाजमा प्रभाव पार्ने गतिविधि हुँदै आएका थिए ।
नेपालमा पनि राष्ट्र निर्माताहरु जस्तै पृथ्वीनारायण शाह, बहादुर शाह, कालु पाण्डे, अमरसिंह थापा, भक्ती थापा, बलभद्र कुँवर जस्ता योद्धाहरुको योगदानलाई बिर्सेर माक्र्स, लेनिन र माओ लगायतका नेताहरुको भक्तिभावमा देश डुबेको छ । अरु त अरु, वर्तमान लोकतन्त्रका संस्थापक योद्धाहरु टंकप्रसाद आचार्य, विपि कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, मनमोहन अधिकारी लगायतको राजनीतिक दृष्टिकोण ओझेल परेका छ । किनभने हामीलाई फिडेल क्यास्ट्रो, ह्युगो चाभेज, चे ग्वेभाराको नाम र काम हामीलाई घोकाइएको छ ।
अहिले पृथ्वीनाराणण शाहको राष्ट्रनिर्माणको योगदानलाई दिनहुँ अवमूल्यन त्यो पुस्ताले गरिरहेको छ, जसले आफ्नै देश भनिएको कालापानी देखि लिम्पियाधुरामा जनगणनामा जान सकेन । भारतले देश मिचेर अन्तर्राष्ट्रिय सडक बनाइरहँदा टुलुटुलु हेर्नुपरिरहेको छ । भारतीय सुरक्षाकर्मीले तुइन काटेर नेपाली बेपत्ता हुँदा भारत सरकारलाई औलो ठड्याएर प्रश्न गर्नसक्ने हिम्मत नभएको सरकार छ । आफ्नै देश भनिएको लिम्पियाधुरा सम्म पुगेर जनगणना गर्न त यति गाह्रो छ भने त्यो बेला बाइसे, चौबिसे, काठमाडौं उपत्यकाका शक्तिशाली राज्यहरुलाई एकीकरण गर्नु चानचुने कुरा थिएन ।
तर, कसैलाई पृथ्वीनारायण शाहको जात मन परेको छैन, कसैलाई पृथ्वीनारायण शाहले उपत्यकाका मल्ल राजाहरुलाई सघाउन आएका इसाइ पादरीहरु धपाएको मन परेको छैन । कसैलाई पृथ्वीनाराणय शाहले हत्याहिंसा गरेर राज्य एकीकरण गरेको भन्ने लागेको छ । इतिहासका कुनै पनि राजनीतिक युद्ध हत्याहिंसा नभई सकिएका छैनन् । २०५२ सालमा तत्कालीन माओवादीले छेडेको युद्धमा १७ हजार मान्छे मारिए तर देशका लागि एक धुर जमिन जोडिएन । मान्छे मारेर मात्रै देश एकीकरण हुने होइन ।
विगत दुई हजार वर्षयता नेपाल देशमा जन्मिएका कुनै पनि नेता वा सामाजिक अगुवा प्रशंसैप्रशंसाले भरिएको छैन । हामी आलोचना त चार शहीदको पनि गर्छौं । क्यान्टोनमेन्टका लडाकाहरुका लागि दिइएको राज्यकोषको पैसामा कमिसन खाएर भाषण गर्न जस्तो सजिलो देश एकीकरणको अभियानमा पक्कै थिएन । पृथ्वीनारायण शाह, भिमसेन थापा, केही राणा प्रधानमन्त्रीहरु र विपी मनमोहन जस्ता नेता हुन्थेनन् भने हामी भारतको एउटा प्रान्त हुन्थ्यौं र यतिबेला “जनगनमन हे भारतमाता” गाउँदै हुन्थ्यौं ।
भारतका राष्ट्रपिता महात्मा गान्धी शान्ति र अहिंसाका लागि विश्वभर चिनिन्छन तर पनि उनी आलोचनाका तारो बनेका छन् यौन मामिला र वर्णभेदका विषयमा । विभिन्न देशमा गान्धीका मूर्ति र फोटोहरुमा बेलाबेला आक्रमण हुने गरेको छ । तर पनि राष्ट्रिय एकताका लागि भारत सरकारले त्यस्ता आलोचनालाई प्रतिबन्ध लगाएको छ । पृथ्वीनारायण शाहले एकीकरण गरेको देशभित्र बसेर उनकै दोहोलो काड्नु र नेपालसँग साइनो न सम्बन्ध भएका विदेशी नेताहरुको जयजय गान गर्नु अति दुर्भाग्य हो ।
एकता दिवस भनेर बिदा नदेउ । तर, पृथ्वीनारायण शाहले ज्यान हत्केलामा राखेर सुरु गरेको नेपाल राज्यको निर्माणलाई अवमूल्यन नगर । आज ३००औं पृथ्वी जयन्ती । विदेशमा यस्तो अवसर हुँदो हो त वर्षभरि विभिन्न कार्यक्रमहरु हुन्थे । नेपाल हो, पृथ्वीनारायणको विरोध गरेरै भए पनि उनको सम्झना गरौं ।
नेपाली हामी रहौंला कहाँ नेपालै नरहे । प्राध्यापक भानुभक्त आचार्यको फेसबुकवालबाट