कतार विश्वकपमा फाइनलमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले फिफा विश्वकप २०२२ को उपाधि जितेको छ । पेनाल्टी सुटआउटसम्म गएको उक्त खेलमा अर्जेन्टिना ४–२ ले विजयी भएको थियो । फाइनलमा पराजयपछि फ्रान्सका फ्यानहरु आक्रोशित भएका छन् भने देशका विभिन्न भागमा दंगाजस्तै अवस्था सिर्जना भएको छ ।
स्थानीय रिपोर्टका अनुसार अर्जेन्टिनासँगको हारपछि पेरिसमा भीषण हिंसा भएको छ। फुटबल फ्यानहरूले गाडीमा तोडफोड र आगजनी समेत गरेका छन् । यहाँ प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपरेको थियो ।
फिफा विश्वकपको फाइनलका लागि फ्रान्सका विभिन्न सहरमा हजारौं मानिस सडकमा उत्रिएका थिए । यहाँ विश्वकपको फाइनल सडकमा ठुला ठुला स्क्रिनमा हेरिएको थियो। यसैबीच खेलको माहौल तातिएसंगै फ्यानको ताल पनि बढेको थियो ।
पेनाल्टी सुटआउटमा फ्रान्सले पराजय भोग्नु परेपछि स्थिति अनियन्त्रित बन्यो। फ्रान्सको पराजय लगतै देश विभिन्न सहरबाट हिंसाको खबर बाहिर आएको थियो । पेरिस बाहेक लायनमा पनि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। यहाँ पनि समर्थकले गाडीमा आगजनी गरेका थिए ।
फ्रान्सका विभिन्न सहरबाट केही भिडियो र तस्बिरहरू सार्वजनिक भएका छन्, जसमा मानिसहरूले कारमा तोडफोड र आगजनी गरेको देखिन्छ। पेरिसमा पहिले नै ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो, तर यसले कुनै प्रभाव देखाएन। किनभने लाखौं फ्यान सडकमा थिए र फाइनलमा पराजयपछि मात्रै उनीहरु अनियन्त्रित भए ।
फिफा विश्वकप फाइनलको कुरा गर्ने हो भने कतारको लुसेल रंगशालामा भएको फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । यस खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । खेलको निर्धारित समय सकिएपछि स्कोर ३–३ को बराबरीमा थियो, यस खेलमा फ्रान्सका लागि एमबाप्पेले ह्याट्रिक गरेका थिए भने लियोनल मेस्सीले दुई गोल गरेका थिए । अर्जेन्टिनाले यो विश्वकप पेनाल्टी सुटआउटमा जितेर ३६ वर्षको खडेरीको अन्त्य गर्यो।