तिनी भाइ भियाग्रा लिएर कहाँँ गए होलान् ?

तिनी भाइ भियाग्रा लिएर कहाँँ गए होलान् ?

पिलन्धरे युवक मेडिकलमा आए । भियाग्रा मागे । झर्ला झर्ला जस्तो लगाएको पाइन्टको गोजीमा हाले । उनले पहिरिएको जिन्स पाइन्टमा मयलले अर्को रंग भरेको थियो । च्याप्सो अनुहार, कमजोर ज्यान, अस्तव्यस्त पहिरन, सरसफाइमा कमी उनैले भियाग्रा किनेर लगे ।

अध्ययनका रिपोर्टहरु अनुसार ‘भियाग्रा लिङ्गको उत्तेजनामा कठिनाइ हुने व्यक्तिको उपचारका लागि प्रयोग गरिन्छ । पुरुषमा पाइने समस्यामा यो वरदान नै सावित भएको छ । यौन उत्तेजनामा समस्या हुने कतिपय महिलामा यसले फाइदा पुगेको पाइयो ।’  यद्यपि यसका मृत्युसम्म हुनसक्ने अनेक घाटाहरु पनि छन् । हरेक औषधिले ल्याउने साइड इफेक्टबाट यो पनि मुक्त छैन । मानिसहरु तत्कालै चाहना पूरा गर्न लागिपरेका छन् ।

यौनइच्छा पूरा गर्न त्यसकै सहारा लिने गरेका छन् ।ती युवक देखिउञ्जेल मेरा आँखाले पछ्याए । दिमागले टिठ मान्यो । अनि अनेक तर्क वितर्क गर्न थाल्यो । तिनकी प्रेमिका या यौनकर्मी कस्ती होलिन्, जसले मयलको भारी बोकेको युवक स्वीकार्छिन् । उसलाई माया गर्छिन् । चुम्बा खान्छिन्, अँगाल्छिन् यो सब गर्न उनलाई घिन लाग्दैन । तिम्रो जीवन सुधार गर, नुहाई धोइ मयल पखालेर हुलुका बन भन्दिनन् । आखिर समाज सुधार गर्ने दायित्व सबैको हो । त्यसका लागि पहिला आफै सप्रिनुपर्छ ।

Europass CV in Nepal

फेरि तिनै युवकतिर दिमाग मोडियो । २५/३० को हाराहारीका लाग्थे । तिनले सीप कहिले सिक्ने हुन् । जहान परिवार कतिबेला बनाउँछन् । पालन पोषणको कमाइकजाइ हुने हो होइन । पढाइलेखाइ कसरी चल्ने हो । यी सबै सोध्न मन थियो । तिनलाई जिन्दगीको परिभाषा सोध्न पाए के उत्तर दिन्थे होला ? भन्ने लाग्यो । ती अपरिचित व्यक्ति आँखादेखिनै ओझेल परिसकेका थिए । पक्कै पनि आफूले बिताएको दिनचर्या हरेकलाई आनन्दको लाग्छ । सबैले आफूलाइ बुद्धिमान र विवेकी ठान्छ । चाहे चोरी डकैती वा हत्या हिंसा गरेको व्यक्ति किन नहोस् । आफैलाई सही देख्छन् । गल्ती कमजोरी अरुले देख्ने हो । नापजोख उसको व्यवहारबाट समाजले गर्ने हो । उनलाई त्यही जीवन ठीक थियो, मलाई भने उनको व्यवहार कत्ति पनि चित्त बुझेन ।

त्यसको केही दिनपछि अर्को मेडिकलमा उस्तै अवस्था फरक प्रसंग भेटेें । त्यहाँ खाइलाग्दा युवा हतार–हतार आए । राम्रै कमाइकाज हुने खातापिता परिवारकै हुनुपर्छ । त्यसो नभए पनि कमाइ मोटै छ होला । तिनको पहिरन, चालढाल र लवाई माथिल्लो स्तरकै लाग्थ्यो । तर उनी निकै आत्तिएका थिए । त्यो हडबडाहट व्यवहारले देखाउँथ्यो । आउने बित्तिकै पिसाव चेक गर्ने छ भनेर सोधे । मेडिकल सञ्चालकले छ भनेर उत्तर दिए । युवकले पैसा तिरे र त्यो जाँच गर्ने हातमा समाते ।

जाँच गर्ने तरीका के हो ? भनेर गर्भ रहेको देखाउने एउटा वा दुईवटा धर्काका बारेमा सोधे । त्यसको जवाफ पाउने बित्तिकै उनी कुदिहाले । यति हतार कि पख्नुस् पख्नुस् तीनपटक भनेपछि हच्किए । यो फिर्ता लैजानुस भनेपछि अरे भन्दै पैसा गोजीमा हालेर हि“डे । पैसा फिर्ता लानै बिर्सने हतार थियो । पैसा पाएपछि झन उनी रोकिने कुरै थिएन ।

उनको हतारोले होस् ठेगानमा छैनन् भन्ने देखाउँथ्यो । त्यति धेरै आत्तिएका थिए, सम्भवतः उनलाई हिडेको बाटोको पनि याद हुँदैनथ्यो । यति धेरै काँतर भएका थिए उनको खँदिलो जिउडाल लुत्रुक्क गलेकोे थियो । मनले हारेपछि ज्यानको मतलब हुँदैन पनि । सायदः त्यति धेरै काँतर दुश्मनसँग लड्दा देखिन्नन् । अरु काम गर्दा हारेपनि सिकुला भन्छन् । तर तत्काल आइलागेको घटना, हारे बर्बाद हुन्छ, जिते सुखको सास फेर्न पाउँछुबाहेक अरु थिएन । त्यही निर्विकल्प जीतको सपनाले उनलाई पागल बनायो । बेहोसीमा हिडिरहेको हुनुपर्छ ।

यी त प्रतिनिधि पात्र हुन् । यौनका मामिलामा यत्रो भयावह अवस्था आउनु समाजका लागि घातक छ । ऊर्जाशील युवा पिढी यसैमा पतन हुनु राज्यका लागि ठूलै नोक्सान हो । आफैलाई नोक्सान गर्न पछि पर्दैनन् । युवा पिढीका लागि झन बर्बादीको बाटो बनेको छ । यसैले अब यौनलाई अपराधको रुपमा ग्रहण गर्नुहुन्न । गास, बास, कपास र यौन प्राकृतिक आवश्यकता हुन् । कदाचित समस्या आए समाधान छ । त्यसरी मानसिकरुपमा विक्षिप्त र शारीरिकरुपमा अति कमजोर युवालाई बन्न दिनुहुन्न । यसका लागि सबैले आफ्नो भूमिका खोजौं ।

दुई वर्ष जति भयो एकजना नानी कक्षा १० पास गरेपछि अघि बढ्न चाहिनन् । बरु साँझ–साँझ बजार पस्ने लतमा लागिन् । मेकपले चिटिकक भएर उनी बजार निस्किन्थिन् उतै बस्थिन् वा फर्किन्थिन् । त्यसको बारेमा परिवारले समेत त्यति मतलब राखेको देखिदैन । न त साँझ–साँझ बजार निस्कनुको कारण नै खोज्यो । उनी मनमर्जी निस्किन र आफ्नो गन्तव्यतिर लागिन् । त्यसपछि केही दिन हराउने क्रम शुरु भयो । अहिले महिनौ हराउने गरेकी छन् ।केही समयपछि तिनको विवाह गरेको खबर सार्वजनिक भयो । तिनको बिहेमा माइतीपक्षबाट खास्सै विधि खोजिएन । त्यसको केही समयपछि न माइतीको सम्पर्कमा न त घरको अधिनमा रहन सकिन् । बरु पटक–पटक जिल्ला प्रहरी कार्यालयको हिरासतमा रात बिताउने गरेको थाहा भयो ।

अहिले पनि बाबु आमाले खोजिरहेका छन् । कतै भेट्दैनन् । उनीसित सामाजिक सञ्जालमा सम्पर्क हुनेहरुले घोराही, लमही, तुलसीपुर र भालुबाङतिरका होटलहरुमा भएको अनुमान लगाउँछन् । चिनजान गरेका छरछिमेकले प्रत्यक्ष भेट्दैनन् । तिनको संगत र गास, बास र कपासको जोहोका बारेमा कसैलाई थाहा छैन । यद्यपि प्रहरीले पनि खोज्छ । यही समाज हो तिनलाई वर्षौंसम्म लुकाइरहन्छ । यतैका पुरुष हुन तिनलाई पाल्छन् ।

तिनका आवश्यकता पूर्ति गरिदिन्छन् । केही दिनअघि एउटा भिडियो सार्वजनिक भयो । घरमा गमला फोडेर, पकाउने तुल्याउने भाँडा वर्तन आँगनमा फ्याँकेर उधुम गरेको देखिन्थ्यो । भव्य महलको हविगत निकै दर्दनाक थियो । त्यस भिडियोमा पाको व्यक्ति बिलौना पोख्दै थिए– ‘यस्तो सन्तान हुनुभन्दा कसैको नहोस् । पैसा माग्छ, भए जति दिए पनि सकिहाल्छ । हजार दुई हजार लाख जति पनि सक्छ । छैन भनेपछि बहुलाएर घरमै आगो लगाइदिन्छु भन्छ ।

वाइक लात्तीले पल्टाएर भाँच्दियो, आमा डिउटी गा’छे, बिहानभरि काम गरेको छु, सुगर र विपीको औसाधि खा’छु । के गरुँ हे भगवान, यति तनाव यति तनाव यो मरेर गए हुन्थ्यो । यसको कोठा चुरोट गन्हाएको छ बोतलमा मुत्या’छ । यस्तो सन्तान के गर्नु ? कम्ति गराएन । पापी दुश्मन छ मेरो घरमा । अहिले मसित पैसा छैन । छैन भन्नेबित्तिकै अंग प्रत्यंगको कुरा गरेर गाली गर्छ । अस्ति गेट तोड्यो, यस्तो पापी अपराधी मरेर गए हुन्थ्यो । म त दिक्क भएँ हे भगवान ? कहिलेसम्म यो तानाशाही सहने होला । यस्तो सन्तान हुनुभन्दा कसैको नहोस् ।’ जन्माउने बाबुको यो भनाइ र घरको दृश्यले साँच्चै मन दुःख्छ । युवा पिढीमा यस्तो कुसंस्कार कसरी भित्रियो ?

होटलबाट समातिएका यौन जोडीहरुलाई प्रहरीले प्रशासन लैजान्छ । त्यहाँ उनीहरु अनुहार देखाउन लजाउँछन् । राजनीतिक बन्दीले क्यामरातिर ध्यान दिन्छ र गतिलो फोटो निकाल्न चाहान्छ । चोरी, बलात्कार, लागूऔषध, देहव्यापारको आरोप लागेका अभियुक्त क्यामराबाट लुक्न खोज्छन् । क्यामराबाट जति छिपाउन खोजे पनि आफन्तमा उसको कर्म गन्हाइसकेको हुन्छ । लुक्दै छिप्दै गरेको काम पर्दाफास हुन्छ नै ।

प्रतिष्ठतलाई घिनलाग्दो वातावरणमा मिल्काउँछ । जहाँ मानिसहरु अनेकथरी टिप्पणी गर्छन् । यो खति गर्ने अवस्था लामो समय रहन दिनुहुन्न ।यसरी कोही भौतिकरुपमा हराएका छन् त कतिपय मानसिकरुपमा रन्थनिएका छन् । वैदेशिक रोजगारका कारण घर भाँडिनेहरुको संख्या दिनहुँ बढ्दो छ । यसको अन्तर्य महिला योनी प्राप्त गर्ने र आफ्नो एकलौटी बनाइराख्ने पुरुषवादी चिन्तन छ ।

आफ्नो पोथी संरक्षण गर्ने भालेवादी सोच छ । यी सबै क्रियाकलापले महिलालाई आफ्नौ अंगप्रति अधिकार छैन । यो घरमा खाना खाना लाग्या छन् भित्र नजाऊ भन्ने सभ्यता नेपाली समाजमा प्रसंनीय छ । उनीहरुले शारीरिक सम्पर्क गर्न लाग्या छन् भन्यो भने बैध र अवैधको प्रश्न उठाइन्छ । श्रीमान श्रीमतीको नाता खुलेन भने ताला लगाइदिने र प्रहरी बोलाएर हंगामा मच्चाइन्छ । यो प्राकृतिक आवश्यकता हो भन्ने बुझ्न सकिएको छैन । खाली श्रीमान श्रीमतिको सम्बन्धका रुपमा लिइन्छ । आठ दश वर्ष श्रीमान् हरायो भने पनि उसकै पर्खाइमा यौन तृष्णाले जल्दै बस्नुपर्छ । उसको चाहनालाई त्यही नाताको बन्धनले शिर ठाडो गर्नै दिदैन ।

आँखाले देखेको बाहेक अरु प्रमाणको रुपमा लिनु हुँदैन । कसैको पिछा लाग्नेकाम बन्द गर्नुपर्छ । कोसँग कहाँ के कामले हिडेको छ किन चियोचर्चो गर्नु ? कसको घरमा कतिजना सुतेका छन् भनेर हेर्न जाने होइन । होटलका कोठाहरु चाहार्दै हिड्नु पनि परेन । सम्बन्धित व्यक्तिले अन्यायमा परें नभन्दै त्यो टिप्पणीको विषय बन्दैन । छर छिमेकी तथा अरु व्यक्तिलाई असर गरेन भने मुद्दा बन्दैन । तर मानिसहरु बिनाकारण अरुका लागि टाउको दुखाउँदैछन् । अरुको जीवन र भविष्य बर्बाद पार्न मरिहत्ते गरी लागेका छन् । त्यस्ता सबै त्याग गरौं । सुन्दर समाज निर्माण गर्न अर्काको लक्ष्यको बाधक नबनौं । अनि मात्रै हराएकाहरु भेटिनेछन् । वैदेशिक रोजगार वा अन्य कामले बाहिर बस्नेहरुका घर भाँडिने छैनन् ।

जति नियम कडा हुन्छ त्यति पुरुषार्थ देखाउन इच्छा जाग्छ । जति लुकालो हुन्छ उति बढी बुद्धि लगाउने स्वभाव हुन्छ । मानिसहरु नियम कानुन कडा नभएकाले छाडा भयो भन्छन् । मानवीय व्यवहार ठीक उल्टो हुन्छ । जति– जति लाजको विषय बनाइन्छ त्यति इच्छा र उत्सुकता जाग्छ । किन यसरी लुकाउँछन्, के के हुन्छ होला, कस्तो हुन्छ होला भन्छ । बरु मर्न तयार हुन्छ काम गर्छ नै । त्यसैले सबै कुरा बुझाउने र चित्त बुझ्दो जवाफ दिनु नै बुद्धिमानी हुन्छ । यौन न बहादुरीका लागि न त कसैको इज्जत हाल्न बनेको हो । यो त प्राकृतिक आवश्यकता हो । जसको स्वस्थ यौनांग छ उसलाई चाहिन्छ । जात, धर्म, धन दौलतले रोक्दैन । त्यसैले प्राकृतिक आवश्यकताको रुपमा बुझी सहज बनाउँ । समाजका क्षतिहरु जोगाऔं ।  यो लेख पत्रकार गोविन्द खड्काले दाङबाट प्रकाशित हुने नयाँ युगबोध राष्ट्रिय दैनिकका लागि लेख्नुभएको हो।

Europass CV in Nepal