उपत्यकाको फोहोर व्यवस्थापन गर्ने उपाय खोज्दै थिमि पुगे बालेनसहित जनप्रतिनिधिहरू

उपत्यकाको फोहोर व्यवस्थापन गर्ने उपाय खोज्दै थिमि पुगे बालेनसहित जनप्रतिनिधिहरू

काठमाडौँ  ।  उपत्यकाको मुख्य चुनौती फोहोर व्यवस्थापनको विकल्प खोज्दै स्थानीय तहका प्रमुखलगायत जनप्रतिनिधिहरू मध्यपुर थिमिस्थित ‘रिकीसी प्रांगारिक मल उत्पादन केन्द्र’ पुगेका छन् ।

बुधबार काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह, ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, दक्षिणकाली नगरप्रमुख मोहन बस्नेत, गोकर्णेश्वर नगरप्रमुख, दिपककुमार रिसाल, चाँगुनारायण नगरप्रमुख जीवन खत्रीलगायतले जापानी प्रविधिद्वारा संचालित रिकीसी प्रांगारिक मल उत्पादन केन्द्रको अवलोकन गरेका हुन् ।

मध्यपुर थिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठले उपत्यकाका तीनवटै जिल्लाका स्थानीय तहका प्रमुख/उपप्रमुखलगायत जनप्रतिनिधिहरूलाई मध्यपुर थिमिले यसअघि नै अपनाएको रिकिसी प्रांगारिक मल केन्द्रको अवलोकन गराएका छन् । मध्यपुर थिमि पुग्नुअघि बुधबार नै उनीहरू गोकर्णेश्वर नगरपालिकाले फोहोर व्यवस्थापनको लागि अपनाउँदै आएको आधुनिक प्रविधिको अवलोकन गरेका छन् ।

मध्यपुर थिमि र गोकर्णेश्वरले अपनाउँदै आएको फोहोर व्यवस्थापनको अवलोकनपछि स्थानीय तहका प्रमुखहरूले उपत्यकाबाट दैनिक निस्किने फोहोर व्यवस्थापनको साझा धारणा बनाएर अघि बढ्ने जानकारी दिएका छन् । काठमाडौं महानगरप्रमुख बालेन्द्र साह, ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जन, मध्यपुर थिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, दक्षिणकाली नगरप्रमुख मोहन बस्नेतलगायतले बञ्चरे डाँडाको विकल्पमा अन्य स्थानको खोजी तथा घर–घरबाट दैनिक निस्किने फोहोर छुट्याएर व्यवस्थापन गर्न सकिने विकल्प खोजेको जनाएका छन् ।

‘उपत्यकाको फोहोर व्यवस्थापनका लागि साझा धारणा बनाउँदै छौं,’ मध्यपुर थिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठले भने,‘काठमाडौं महानगरको मात्र होइन, प्रत्येक नगरले फोहोरको उस्तै समस्या झेल्दै आएकाछौं, आधुनिक प्रविधि अपनाएर समाधान गर्ने हाम्रो साझा धारणा हो ।’

मध्यपुर थिमिमा पाँच वर्षअघि नै जापानी प्रविधिबाट कम्पोस्ट मल उत्पादन सुरु भएको थियो । यसपछि मकवानपुरको राप्ती, सिन्धुलीको कमलामाई र भक्तपुर नगरमा थालिएको र जनकपुरमा पनि सुरु गर्ने तयारी भइरहेको गिरीले बताइन् । दुई दशक जापानमा बसेर प्रांगारिक मल विषयमै अध्ययन तथा काम गरेर फर्केकी गिरीले जापानी प्रविधिबाट मध्यपुर थिमिमा मल उत्पादन गरिरहेकी हुन् । उनले स्थानीय तहलाई फोहोर व्यवस्थापन र प्रांगारिक मल उत्पादनमा प्राविधिक सहयोग गर्दै आएकी छन् । मध्यपुर थिमिमा उत्पादन भएको मलको माग धान्न नसकेको कम्पनीको भनाइ छ । मध्यपुर थिमिको ४ र ५ वडाको मात्र फोहोर कम्पनीले संकलन गरिरहेको छ ।

फोहोरबाट प्रांगारिक मल तयार हुन तीन महिना लाग्छ । ‘फोहोर संकलन भएपछि प्लान्टमा लगेर आवश्यकता अनुसार तोकोजाई (धानको भुस, धानकै ढुटो, पत्कर, रातो माटो र ब्याक्टेरिया) मिसाएपछि मल बन्छ,’ प्रालिकी प्रबन्ध निर्देशक उषा गिरीले भनिन्, ‘यस्तो प्रांगारिक मल गन्धरहित र बिरुवाका लागि पूर्ण पौष्टिक हुन्छ ।’

काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा चुनौती बढेसँगै महानगरप्रमुख साह, उपमेयर सुनीता डंगोललगायत जनप्रतिनिधिले यसअघि पनि रिकिसी कम्पोस्ट कम्पनीमा पुगेर अध्ययन गरेका थिए ।

सहरी क्षेत्रमा फोहोर व्यवस्थापन चुनौती बनिरहेका बेला काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले आधुनिक प्रविधिबाट फोहोर व्यवस्थापन गर्दै आएको छ । घर–घरबाट निस्कने फोहोरलाई प्रदूषणरहित रुपमा व्यवस्थापन गर्न नगरपालिकाले जापानी प्रविधिको इन्सिनरेटर मेसिन जडान गरी सञ्चालनमा ल्याएको र अन्य स्थानीय तहले पनि उक्त विधि अपनाउन सकिने नगरप्रमुख दिपककुमार रिसालले बताए ।