के भन्छन् सन्दीपले हायर गरेको ‘प्रोफेसनल लयर’ सरोज घिमिरे?

के भन्छन् सन्दीपले हायर गरेको ‘प्रोफेसनल लयर’ सरोज घिमिरे?

काठमाडौं । प्रहरीले पक्राउ पुर्जी जारी गरेको करिब दुई महिनापछि नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने नेपाल फर्किएका छन् ।  आत्मसमर्पण गर्ने पूर्व घोषणा गरेर नेपाल आएका सन्दीपलाई नियन्त्रणमा लिन प्रहरीले भने विमानस्थलमा निकै ‘तुजुक’ देखायो । झमझम पानी परेको दिन बिहानैबाट विमानस्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मीको तैनाथ गरिएको थियो ।

सन्दीपलाई प्रहरीमा आत्मसमर्पणको मौका नदिई विमानस्थलबाट हतकडी लगाएर गौशाला वृत्त लगियो । कुख्यात अपराधीलाई पक्रिएको रवैयामा प्रहरी प्रस्तुत भएको भन्दै सामाजिक सञ्जालमा धेरैले आलोचना गरिरहेका छन् ।

सन्दीप पक्राउ परेपछि अब उनीविरुद्धको मुद्दा अगाडि बढ्ने छ । अहिलेसम्म प्रहरीले ‘पीडित’ को जाहेरी र केही सतही अनुसन्धान मात्रै गरेको थियो । अब सन्दीपको बयान लिएर प्रहरीले अनुसन्धान अगाडि बढाउनेछ । सन्दीपको तर्फबाट भने अधिवक्ता सरोज घिमिरेले बहस गर्नेछन् । प्रहरीमा जाहेरी परेदेखि नै उनी सन्दीपसँग ‘टच’ मा थिए ।

नेपाल फर्किनुअघि सन्दीपले प्रहरीलाई पत्राचार गर्दै दुई वटा आग्रह गरेका थिए । उनको पहिलो आग्रह थियो– म आफ्नो कानून व्यवसायीको रोहबरमा प्रहरीमा आत्मसमर्पण गर्छु । दोस्रो आग्रह थियो– आत्मसमर्पण गरेपछि मलाई हतकडी नलगाइयोस् । तर, प्रहरीले सन्दीपको दुवै आग्रह नकारेको छ । उनलाई प्रहरीले विमानस्थलबाटै हतकडी लगाएर लग्यो भने कानून व्यवसायीलाई तत्काल भेट्न दिइएन ।

यद्यपि, सन्दीपका वकिल घिमिरेले दिउँसो गौशाला वृत्तमा सन्दीपलाई भेटेर केही बेर कुराकानी गरे । आजको भेटमा सन्दीपको स्वास्थ्य लगायतका विषयमा सामान्य कुरा भएको घिमिरेले बताए । उनको भनाइअनुसार सन्दीप आत्मविश्वासी देखिएका थिए ।

नेपाल प्रेससंगको अन्तर्वार्तामा घिमिरेले भने ‘हामीले यसमा खास कमेन्ट त गरेको छैन । सन्दीपले नेपाल प्रहरीमा म आफैँ सरेन्डर गर्छु, हतकडी नलगाइयोस् भनेर अनुरोध चाहिँ गर्नुभएको थियो । तर हतकडी लगाइएको छ । उहाँहरूको आफ्नै प्रसिडर होला । यो भन्नेबाहेक हामीले अरू केही पनि बोलेका छैनौँ ।

नेपाल प्रहरीको आफ्नो प्रोसेस होला । तर, हाइ सेक्युरिटीको स्थितिमा आफूलाई समर्पण गर्न आएको व्यक्तिलाई हतकडी लगाइरहनु आवश्यक थियो जस्ता लाग्दैन । फेरि सन्दीप भनेको एउटा व्यक्ति मात्र नभएर राष्ट्रिय क्रिकेट टिमको पूर्व कप्तान पनि हो । उनले स्वैच्छिक रूपमा गिरफ्तारी दिन तयार भइसकेपछि हतकडी नलगाउँदा पनि फरक केही पर्नेपाला थिएन होला । उनी त आफै प्रहरी अनुसन्धानलाई सघाउन भनेर आएका हुन् नि ।

उनले गौशाला प्रहरी वृत्तमा नै इमेलमार्फत म यो टाइममा आउँदै छु भनेर पूर्व जानकारी गराएका थिए । अनि म आउँदाखेरि मेरो सबमिसनमा मेरो कानून व्यवसायीको उपस्थिति होस भन्ने र हतकडी नलगाइयोस् भन्ने दुई वटा आग्रह गरेको थिए ।

उनी आफ्नो निर्दोषिताप्रति एकदमै स्पष्ट र विश्वस्त पाएँ । सामाजिक सञ्जालबाट पनि निरन्तर एउटै कुरा भनिरहेका थिए कि म निर्दोष छु । आफू एउटा ठूलो षडयन्त्रको सिकार भएको छु भन्ने उनलाई परेको छ । तर, आफूले न्याय पाउनेमा उनी ढुक्क देखिएका छन् । मैले भेट्दा उनको अनुहारमा भावुकता सँगसँगै प्रचुर आत्मविश्वास थियो ।

भर्खर उ आएको छ । अब पहिले त जाहेरी हेर्नुपर्‍यो । अरू प्रोसेस बाँकी छ । त्यो हेरिसकेपछि हाम्रो आफ्नो अनुसन्धानको पाटो हुन्छ । उ नहुँदा त्यो सबै कुरा गर्ने अवस्था थिएन । अब ऊसँग निरन्तर कुराकानी र सल्लाह गरेर अगाडि बढ्ने हो । अझै एक–दुई दिन दसैँकै माहौल छ । दसैँपछि दुई–चार दिनमा हामी आफ्नो अध्ययन सिद्ध्याएर कुनै निचोडमा आउँछौँ होला । तर यो स्टेजसम्म आउँदा उ आफूमाथि लागेको आरोप मिथ्या हो भन्नेमा एकदमै आत्मविश्वासी देखिएको छ ।’