सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । ‘अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको छ,’ अनलाइनखबरसँग उनले भने, ‘अब हामी उडान सुरक्षाबारे सुक्ष्म अध्ययन गर्दैछौं ।’
आइतबार विहान साढे ११ बजे पोखरा १८ सराङकोटबाट उडेको प्याराग्लाइडिङ एक्कासी भुईंमा खसेको थियो । दुर्घटनामा नेपाल आर्मीका खेलाडी पोखरा १० अस्पताल चोकका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएपछि उहाँलाई उपचारका लागि मेट्रोसिटी अस्पताल पु¥याइएको थियो । उपचारकै क्रममा थापाको मृत्यु भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । खेलाडीको मृत्यु भएपछि राखेपले दुख ब्यक्त गरेको छ । राखेप बोर्ड सदस्य अन्जन धमलाले खेलाडीको मृत्युले राखेप मर्माहत भएको बताए ।
‘प्रतिश्पर्धाकै क्रममा खेलाडीको मृत्युले मर्माहत बनाएको छ । यो दुखद घटनाको दुख ब्यक्त गर्दछौं,’ उनले भने, ‘प्रतिश्पर्धाकै क्रममा खेलाडीको मृत्यु हुनु राम्रो होइन । यसका बारेमा हामी छानविन गर्छौं र निष्कर्ष बाहिर ल्याउछौं ।’ सराङकोटबाट उडेको केही बेरमै थापा बनिरहेको घरमा ठोक्किनु भएको कास्की प्रहरीले जनाएको छ । पोखरा प्याराग्लाइडिङको हव भएकोले आठौं प्रतियोगिता देखि पोखरामा प्याराग्लाइडिङको प्रतिश्पर्धा हुँदै आएको छ ।
राखेपले विमा संस्थानसँग खेलाडी र खेलसँग सम्बन्धित सबैको वीमा गरेको छ । खेलका क्रममा कोही घाइते भए विरामीको उपचारका लागि १ लाख दिने र कारणबश मृत्यु भए १० लाख दिने गरी व्यवस्था गरिएको धमलाले बताए । यसबाहेक सम्बन्धित प्रदेशले पनि बीमा गरेको छ ।




