असार लागिसक्दा पनि मल नआएपछि किसानहरू चिन्तित

असार लागिसक्दा पनि मल नआएपछि किसानहरू चिन्तित

नवराज शर्मा

घोराही, ८ असार । दाङको तुलसीपुर उपमहानगरपालिका १८ का बिर्खबहादुर खत्री आजभोली सधैँजसो आफ्नो पुरानो साइकल गुडाउँदै मल किन्नको लागि दूधरासमा रहेको जनता बहुमुखी तथा दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडमा पुग्छन् ।

सानो बारीको मकै गोड्न र धानको ब्याड राख्नको लागि उनलाई अहिले २ बोरा रासायनिक मल चाहिएको छ । तर, उनी दिनहुँजसो निराश हुँदै त्यही साइकल गुडाउँदै फर्किने गरेका छ्न् । ‘बजारमा मल पाइएको छैन, एक दाना पनि मल दिनसक्ने अवस्थामा छैन भन्दै सहकारी संस्थाहरू पन्छिरहेका छन्,’ उनले भने, ‘मल कतै पनि छैन, हाम्रो लागि यो समस्या आज मात्रै हैन, सधैँ रहने भयो ।’ खेतिपातीको समयमा कहिले पनि किसानले समयमा मल पाउन नसक्नु निकै दुःखद कुरा भएको खत्रीले बताए । ‘बजारमा महङ्गो मूल्य कालोबजारीमा मल पाइन्छ भन्ने सुनेको छु, त्यो पाए पनि ठूलो भाग्य हुने थियो, कमसेकम मकै गोड्नका लागि त हुन्थ्यो ।’

Europass CV in Nepal

स्थानीय अर्का किसान नवीन वलीले मल समयमा नआएपछि आफूहरूले यस वर्ष मल बिना नै मकै गोडेको बताए । ‘समस्या अहिले मात्र हैन, गएको वर्षपनि यस्तै समस्या भोगेकै हो, सरकारले समयमा चासो निदँदा हरेक वर्ष हामी किसानले असार लागेसँगै मलको समस्या भोग्दै आइरहेका छौ,’ उनले भने, ‘मल बिना नै मकै गोडे पछि अहिले धानको ब्याड राख्ने तयारीमा छौ, हामी धेरै समस्यामा छौँ न त समयमा मल पाइन्छ , न त सिँचाइको राम्रो व्यवस्था नै छ ।’ आफूहरूले आकाशे पानीको भरमा खेतीपाती गर्नुपरेको उनले दुखेसो पोखे ।

बिर्खबहादुर र नवीन त प्रतिनिधि पात्र मात्रै हुन् । अहिले देशभर मलको चरम अभाव हुँदा किसानहरू निकै चिन्तामा परेका छन् । असारमा मानो रोपेर असोज र कार्तिकमा मुरी भित्र्याउने किसानहरू खेतिपातीको समय शुरु हुन लाग्दा समेत मल नआएपछि चिन्तित भएका हुन् । रासायनिक मल व्यवस्थापनमा गर्ने सरकारी निकायले माग अनुसारको मल उपलब्ध गराउन नसक्दा किसानहरूलाई समस्या परेको हो ।

तुलसीपुर दुधरास स्थित जनता बहुमुखी सहकारी तथा दुग्ध उत्पादन संस्थाले विगत २४ वर्ष देखि स्थानीय किसानहरूलाई वर्षाको सिजनमा ११ हजार बोरा सम्म रासायनिक मल उपलब्ध गराउँदै आएका थियो । तर, अहिले मल अभाव हुँदा किसानलाई रित्तो हात फर्काइरहेको छ । तुलसीपुर कृषि सामाग्री केन्द्रले मल उप्लबध गराउन नस्क्दा दैनिक जसो २÷३ सय मल किन्न आएका किसालाइ खाली हात फर्काउने गरेको छ ।

त्यसो त किसानको माग अनुसार रासायनिक मल उपलब्ध गराउन नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुर शाखाले जनाएको छ । आलोपालो गरेर सहकारीमार्फत रासायनिक मल वितरण गर्दै आएको भए पनि अझै अभाव रहेको कार्यालयको भनाइ छ । कार्यालयका अनुसार दाङमा मात्रै सबै बालीको लागि वार्षिक युरिया १५ हजार मेट्रिक टन र डिएपी १० हजार मेट्रिक टन आवश्यक पर्छ ।

अहिले नेपाल सरकारले ५० हजार मेट्रिक टन मल आयातको लागि बोलपत्र गरेकाले असार महिनाभित्र मल प्राप्त हुने अपेक्षा गरिएको छ । बोलपत्र नपरे पनि सरकारले भारतबाट ‘जिटुजी’ अन्तर्गत मल आयात गर्ने सहमति भएकाले धानखेतीको समयमा मलको हाहाकार नहुने बतायो । दाङका लागि कृषि ज्ञान केन्द्रले ४ सय ९७ मेट्रिक टन मल उपलब्ध गराएको थियो ।

दाङका तीन वटा कृषि सामग्री कम्पनीबाट ती मल वितरण गरिन्छ । कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुरका लागि २ सय २६ मेट्रिक टन डिएपी मल आवश्यक पर्नेमा ५०÷६० टन मात्रै आउन बाँकी रहेको कार्यालयले दाबी गरेको छ । कृषि सामग्री लिमिटेड तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका, दङ्गीशरण गाउँपालिका र बबई गाउँपालिकासँग समन्वय गरेर वितरण गरिरहेको छ ।

त्यस्तै अहिले दाङमा डिएपी मल केही मात्रामा पाइए पनि युरिया मल भने जिल्लामै नभएको कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुर शाखाले जनाएको छ । कार्यालयका अनुसार अहिले दाङलगायत देशैभरि युरिया मलको अभाव छ । तर, सालटट्रेडिङ कर्पोरेशनबाट युरिया र डिएपी मल ल्याउने प्रक्रिया भइरहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार असारको दोस्रो सातासम्म मल आउन सक्ने सम्भावना धेरै छ ।

Europass CV in Nepal