मुख्य सामग्रीमा जानुहोस्
Saturday, 12 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
सम्पादकीय

जेनजी शहीदको अन्तिम संस्कारमा बालेन अनुपस्थित, डर कि स्वार्थ?

Himali Patrika 1 मिनेट पढाइ

नेपालमा पछिल्ला दिनमा जेनजी आन्दोलनले अभूतपूर्व रूप लिएको छ। हजारौं युवा सडकमा ओर्लिए, नेतृत्वविहीन तर ऊर्जाशील आन्दोलनले सत्तालाई चुनौती दियो। यो आन्दोलन सुरु हुँदा काठमाडौँ महानगरका मेयर बालेन शाहले खुलेर युवालाई साथ दिए। सामाजिक सञ्जालमार्फत उनले युवालाई हौसला मात्र दिएनन्, आन्दोलनमा सहभागी हुन पनि अप्रत्यक्ष रूपमा उक्साए। तर, आन्दोलन हिंसात्मक बन्दै गएपछि र सयौं घाइतेसँगै केही युवाले ज्यान गुमाएपछि शाह अचानक मौन भए। सुरुवातमा समर्थनको भाषा बोल्ने उनी अन्ततः न त घाइते आन्दोलनकारीलाई भेट्न पुगे, न त शहीद बनेका युवाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न।

जेनजी आन्दोलनले नेपालको राजनीतिक भूमिमा नयाँ ऊर्जा ल्याएको थियो। लामो समयदेखि दलहरूले बेवास्ता गरेका मुद्दा र युवाको पीडाले यो आन्दोलनलाई दह्रिलो बनायो। सडकमा लाखौं युवाले बालेन शाहलाई सम्भावित वैकल्पिक नेता ठानेर अगाडि बढाउन आग्रह गरे। तर, शाहले त्यो आग्रहलाई वेवास्ता गरे। नेतृत्व लिन सक्ने अवस्थामा हुँदा पनि उनले आफ्नो जिम्मेवारीबाट पलायन गरे।

मंगलवार सरकारले जेनजी आन्दोलनका शहीदहरूलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्‍यो। गृहमन्त्री ओम प्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङ स्वयं उपस्थित भएर राष्ट्रिय झण्डा ओढाएर शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरे। तर, राजधानीका जनप्रतिनिधि, आन्दोलनलाई नै प्रोत्साहन गर्ने बालेन शाह भने त्यहाँ अनुपस्थित रहे। यो दृश्यले धेरैलाई चकित तुल्यायो।
उनको अनुपस्थितिले प्रश्न खडा गर्‍यो—के शाह डराएका हुन्? वा उनले आफ्नै राजनीतिक भविष्यलाई सुरक्षित राख्न युवाको बलिदानलाई वेवास्ता गरे? जुन युवाले उनलाई ‘नयाँ पुस्ताको आवाज’ माने, उनीहरूकै चिताभस्ममा चुपचाप टाढा बस्नु नैतिक जिम्मेवारीको अस्वीकार जस्तै लाग्छ।

अझै गम्भीर कुरा के हो भने शाहले कुनै पनि सार्वजनिक अभिव्यक्ति दिएनन्। उनले न त आन्दोलनकारीको पीडा सम्बोधन गरे, न त जनतामा शान्तिको सन्देश दिन खोजे। यस्तो मौनतालाई धेरैले ‘राजनीतिक स्वार्थ’सँग जोडेका छन्। सुरुवातमा लोकप्रियता बटुल्नका लागि आन्दोलनलाई प्रयोग गर्ने तर संकट बढ्दा आफ्नो भूमिका पन्छिनु गम्भीर आलोचनाको विषय बनेको छ।
स्मरणीय छ, आन्दोलनलाई बलियो बनाउनेतर्फ शाहकै बयानहरूले युवालाई प्रेरित गरेका थिए। तर, जब आन्दोलनले रगत बगायो, त्यसै युवाले उनलाई नेतृत्वको जिम्मेवारी सुम्पिन खोज्दा उनले ‘म तयार छैन’ भन्ने संकेत मात्र दिए। यो व्यवहारले जनविश्वासमा ठूलो आघात पुर्‍याएको छ।

बालेन शाहले आफूलाई राजधानीको मेयर मात्र नभई नयाँ पुस्ताको प्रतिनिधि नेता भनेर स्थापित गराएका थिए। तर जेनजी आन्दोलनको संवेदनशील घडीमा देखाएको मौनताले उनको चरित्रप्रति गम्भीर प्रश्न उठाएको छ। आन्दोलन उक्साउने तर परिणाम भोग्न तयार नहुने नेतृत्व नैतिक रूपमा अस्वीकार्य हुन्छ।

नेता भन्नु केवल बोल्ने वा लोकप्रिय बन्ने माध्यम होइन; नेता भन्नु जिम्मेवारी लिने साहस हो। शाहले यो आन्दोलनबाट एउटा ठूलो अवसर गुमाए। युवाले दिएका विश्वास र आशालाई उनले निराशामा बदलिदिए।

अब पनि ढिलो भएको छैन। शाहले आफ्नो मौनता तोडेर खुला र ईमानदार संवाद गर्नुपर्नेछ। आन्दोलनकारी परिवारसँग प्रत्यक्ष सहानुभूति जनाउनुपर्नेछ। भविष्यमा यस्तो संवेदनशील परिस्थितिमा राजनीतिज्ञहरूले आफ्नो स्वार्थभन्दा माथि उठेर नैतिक जिम्मेवारी निर्वाह गर्नुपर्ने स्पष्ट सन्देश दिनुपर्नेछ।

नत्र, बालेन शाह जस्ता लोकप्रिय नामहरू केवल ‘फेसबुकका नेता’ र ‘स्वार्थी अवसरवादी’को रूपमा मात्र इतिहासमा दर्ज हुनेछन्। युवाले चाहेको वैकल्पिक नेतृत्व त्यसरी जन्मिँदैन। साँचो नेता बन्न चाहनेले संकटमा साथ दिनुपर्ने हो, चुप लागेर पन्छिनु होइन।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।