काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयलाई जरिवाना गरिने घोषणा गरेका छन् । सबै निजी विद्यालयहरूलाई जेठ मसान्तभित्र छात्रवृत्ति वितरण विवरण बुझाउन सार्वजनिक सूचना जारी गरे पनि केही विद्यालयले पालना गर्न सकेका छैनन् । जसका कारण प्रमुख साहले एक लाख जरिवाना लगाएर विवरण पेश गर्न विद्यालयलाई आग्रह गरेका छन् ।
महानगरीय शिक्षा ऐन २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयको स्वीकृति वा स्वीकृति खारेज हुन सक्ने भन्दै प्रमुख साहले सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन् । हाल काठमाडौं महानगरपालिका भित्र रहेका ५०४ निजी विद्यालयमध्ये ४६५ विद्यालयले छात्रवृत्ति विवरण बुझेको सामाजिक संजाल मार्फत जानकारी दिएका छन्। महानगरको पहलपछि लक्षित वर्गका १३ हजारभन्दा बढी विद्यार्थी छात्रवृत्ति प्राप्त लाभ लिएका कामपाका प्रमुख साहले जानकारी गराएका छन् ।
महानगरले प्राप्त जानकारीको समीक्षा गरी सार्वजनिक गर्ने योजना बनाएको छ । नियम अनुसार प्रत्येक विद्यालयले आफ्नो कुल विद्यार्थीको १० प्रतिशतलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्ने हुन्छ । बारम्बार अनुरोध गरेपछि अहिले ९० प्रतिशत विद्यालयले छात्रवृत्ति वितरण गरेका छन् ।
महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले यसअघि विद्यालयलाई १० प्रतिशत छात्रवृत्ति चालू शैक्षिक सत्रको जेठ २८ गतेसम्म उपलब्ध गराउन निर्देशन दिएका थिए । यति हुँदाहुँदै पनि महानगरका झण्डै ७० प्रतिशत विद्यालयले विवरण बुझाउन सकेनन् । पालना नगर्ने अधिकांश विद्यालय उच्च शुल्क लिएका थिए । कम्पाले आगामी शैक्षिक सत्रदेखि विद्यालयले आफ्ना कुल विद्यार्थीको ५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने र बाँकी ५ प्रतिशत कम्पा शिक्षा कोषमा जम्मा गर्ने घोषणा गरेको छ ।