तीन महिनामै नेपालबाट २४ करोडको पानी निर्यात

तीन महिनामै नेपालबाट २४ करोडको पानी निर्यात

काठमाडौँ । आयातको ग्राफ उच्च हुँदै जाँदा विदेशी मुद्राको सञ्चिति घट्दै गएको तथ्यांक बाहिर आएको छ । यस्तोमा स्वदेशमा पनि उत्पादन हुने वस्तुको आयात कसरी कम गर्ने भन्दै अर्थ मन्त्रालय र राष्ट्र बैंकका अधिकारीहरू दिनहुँजसो समीक्षा गरिरहेका छन् । मुलुकमा आयात हुने वस्तुका तुलनामा निर्यात नबढेको चिन्ता गर्नेहरूका लागि खुसीको खबर छ– नेपालबाट प्रशोधित पानी निर्यात बढेको छ ।

मुलुकको व्यापार घाटा कम गराउन परिमाण उल्लेख्य होइन तैपनि आयातका तुलनामा प्रशोधित पानीको निर्यात उच्च रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको ३ महिनामा मात्र २४ करोड ३५ लाख ४५ हजार रुपैयाँ बराबरको पानी निर्यात भएको छ । मंसिर, पुस, माघमा मात्र ४४ लाख ४७ हजार ५ सय ३३ लिटर पानी निर्यात भएको तथ्यांक छ । नेपाली उद्योगले प्रशोधन गरेको पानी अस्ट्रेलिया, यूएई, भारत, पोल्यान्ड, जापान, बेलायतमा निर्यात भइरहेको हो । पानी र आइस पनि आयातनिर्यात हुने गरेको विभागले जनाएको छ । गत वर्ष ६ करोड ३ लाख ८१ हजार रुपैयाँको १० लाख ९१ हजार ४ सय २८ लिटर पानी चीन, कतार र भारतमा निर्यात भएको थियो ।

Europass CV in Nepal

चालु आर्थिक वर्षमा अन्य देशको तुलनामा सबैभन्दा बढी पानी बोटलर्स नेपालले भारतमा निर्यात गरेको भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले बताए । ‘पानीको निर्यात बढेको हो, तथ्यांकमा कुनै गडबडी छैन,’ उनले भने । प्रशोधित पानीको निर्यात क्रमिक बढ्दा आयात घट्न थालेको उनले बताए ।

आर्थिक वर्ष २०७६/७७ मा ५ लाख २३ हजार रुपैयाँ र त्यसअघि त्यस्तै आव २०७५/७६ मा १६ लाख ९३ हजार रुपैयाँ बराबरको पानी निर्यात भएको थियो । विभागका अनुसार नेपालबाट अन्य देशमा किन्ले, एक्वाफिना, म पानी, रसुवा पानीलगायत ब्रान्डका पानी निर्यात हुन्छ । निर्यातलाई नै लक्ष्य गर्दै उद्योगहरूले अत्याधुनिक प्रशोधन प्लान्ट राखेका छन् । प्रशोधित पानीको निर्यात छिटपुटरूपमा १५ वर्षअघि सुरु भएको हो । विदेश निर्यातका लागि नेपाली उद्यमीले पानीको गुणस्तर पुर्‍याउन तयारी गरिसकेको रसुवाको गोसाइँकुण्ड–६ स्थित रुद्रगंगा प्राकृतिक पानी उद्योगका सञ्चालक गणेश भण्डारीले बताए । ‘हामीले १३/१४ महिनामा ८० लाखको पानी बेच्यौं,’ उनले भने, ‘हाम्रो रसुवा ब्रान्ड पानी भारतबाहेकका अरु देशमा गइरहेको छ ।’

स्वदेशबाट पानी निर्यात हुन थाले पनि आयात भने रोकिएको छैन । चालु आर्थिक वर्षको ७ महिनामा २४ लाख ३१ हजार रुपैयाँ बराबरको १५ हजार २ सय २० लिटर पानी आयात भएको छ । पानीबाहेक आइस/स्नोजन्य पदार्थ ८१ लाख १४ हजार रुपैयाँ बराबरको ७२ हजार ३ सय ७६ लिटर भित्रिएको विभागको तथ्यांक छ । विभागका अनुसार आव ०७५/७६ तुलनामा भने पानीको आयात घट्दो देखिएको छ । उक्त आव २ करोड २५ लाख ४५ हजार रुपैयाँ बराबरको पानी भित्रिएको छ ।

आव ०७६/७७ मा २७ लाख ५२ हजार रुपैयाँ बराबरको पानी र आइस/स्नोजन्य पदार्थ १ लाख ७१ हजार रुपैयाँको आयात भएको छ । त्यस्तै गत आर्थिक वर्ष ९० लाख ५० हजार रुपैयाँ बराबरको पानी र ३ लाख १२ हजार रुपैयाँको अन्य आइस/स्नो आयात भएको तथ्यांकमा छ ।

 

Europass CV in Nepal