लुगा नबिकेर झन्डै छाडेको व्यापार पाँच वर्षमा भयो ७ करोडको

लुगा नबिकेर झन्डै छाडेको व्यापार पाँच वर्षमा भयो ७ करोडको

तपाईंले आफू र परिवारका सदस्यका लागि चाहिने लुगा किन्न बजारका धेरै पसल चहार्नुपरेको छ भने अब चिन्ता नगर्नुहोस्। परिवारका बालबालिका, किशोरकिशोरी, वयस्क, वृद्ध सबैका लागि एकै ठाउँमा लुगा किन्न काठमाडौंको कमलपोखरीस्थित सिटी-सेन्टरको ‘मेलान्ज फेसन स्टोर’ जानुभयो भने ढुक्क हुन्छ।

मेलान्जमा विभिन्न ब्रान्डका स्वदेशी र विदेशी तयारी लुगा पाइन्छ। काठमाडौं उपत्यकाभित्र मात्र नभई मेलान्जका शाखा र फ्रेन्चाइज पूर्वको इटहरीदेखि पश्चिमको धनगढीसम्म छन्।

‘देशभरका सबै मेलान्ज स्टोरमा एकै प्रकारका लुगा समान मूल्यमा किन्न पाइन्छ,’ मेलान्जकी कार्यकारी निर्देशक रुबी रिजाल लोहनीले भनिन्।

Europass CV in Nepal

करिब पाँच वर्षअघि सुरू भएको मेलान्जले छोटो समयमै लोभलाग्दो गति समातेको छ। सुरूमा महिलाका पहिरन मात्रै राखेको मेलान्जले ग्राहकहरूको चाहनाअनुसार विविधता बढाउँदै गयो। अहिले सबै उमेर समूहका महिला र पुरूषका लागि समयानुकूल लुगा किन्न पाइन्छ। पर्स, ब्याग, जुत्ता, घडी, टाई, बेल्ट इत्यादि पनि पाइन्छ।

खासमा मेलान्ज पारिवारिक सपिङ स्टोर हो। मेलान्जको पृष्ठभूमि ‘मेगाटेक’ र ‘सोचेकोडटकम’ सँग जोडिएको छ। मेगाटेक सन् १९९७ मा रुबीका श्रीमान शैलेश लोहनीले विराटनगरमा सुरू गरेका थिए।

रुबी सन् २००८ देखि मेगाटेकमा सक्रिय भइन्। यसै अन्तर्गत अनलाइन सपिङको काम गर्न ‘सोचेकोडटकम’ सुरू भयो। रुबीका अनुसार सन् २०१५ मा शैलेशको उपचारका लागि उनी दिल्ली पुगेकी थिइन्। काम सकेपछि उनीहरू त्यहाँका केही सपिङ सेन्टर घुमे।

nic
जो जुन पेसा-व्यवसायमा छ, उसले जहाँ गए पनि आफ्नै क्षेत्रमा चासो राख्छ, सम्भावना खोज्छ। शैलेश र रुबी त्यहाँका ठूला व्यापारिक घरानाले पनि तयारी लुगा बेच्ने स्टोर सञ्चालन गरेको देखेर प्रभावित भए। रुबीले भनिन्, ‘त्यही बेला हामीले आइटीसँगै तयारी लुगाकपडा बेच्ने काम पनि गर्ने सोच बनायौं।’

आइटी व्यवसाय सफल रहे पनि ‘सोचेकोडटकम’ अन्तर्गत अनलाइनबाट लुगा बेच्ने काम सहज भएन। दिल्लीबाट फर्किँदा साढे दुई लाख रूपैयाँको लुगा ल्याएका रहेछन्। ती लुगा अनलाइनमा राख्दा राम्रो प्रतिक्रिया आए पनि ग्राहकले झट्ट विश्वास नगरेको अनुभव रुबीले गरिन्।

रुबीका अनुसार दिल्लीबाट ल्याएको लुगा अनलाइनमा बिकेन। त्यसैले अब यो व्यवसाय नगर्ने सोच बनाउँदै थिइन्। यतिकैमा तिज आयो। उनले लुगा प्रदर्शनीमा राखिन्।

‘दर्शकले प्रत्यक्ष छामेर किन्न पाए। धेरैले मन पराए,’ उनले भनिन्, ‘यसबाट मेरो मन फेरियो। अनि पसल खोल्ने निर्णय गरेँ।’

यसकै उपज हो मेलान्ज फेसन स्टोर।

त्यो सही निर्णयकै परिणामस्वरूप मेलान्ज आफैंमा ब्रान्ड बनेको छ। रुबीका अनुसार काम गर्ने सोच र शैलीका कारण मेलान्जले ग्राहकको मन जित्न सकेको हो।

‘ग्राहकले मोलमोलाइ गर्नु नपर्ने मूल्य, विश्वसनीय सेवा र लक्षित ग्राहकप्रतिको समर्पणले नै मेलान्ज विस्तार भएको हो,’ उनी भन्छिन्।

फ्यामिली सपिङ स्टोरको रूप लिनुअघि मेलान्जले गृहिणीका रूचि र प्राथमिकता ध्यानमा राखेको थियो। सुरूदेखि नै मोटो ज्यान भएकालाई चाहिने प्लस-साइजका लुगा पनि राखिएका थिए। रुबीका अनुसार सबै उमेर समूहका लुगा पाइए पनि मेलान्जले वयस्क उमेरका ग्राहकको रूचिलाई प्राथमिकतामा राखेको छ।

‘गृहिणी महिलासँग समय कम हुन्छ। उनीहरूको रोजाइमा धेरै परिवर्तन पनि आउँदैन। उनीहरू हाम्रो दीर्घकालीन ग्राहक हुन्,’ रुबी भन्छिन्, ‘अहिलेका टिनएजर्सहरूको रोजाइ परिवर्तन भइरहन्छ।’

काठमाडौंमा मेलान्ज सुरू भएको अर्को वर्ष धनगढीमा यसको शाखा खुलेको हो। त्यसपछि पेप्सीकोला र सुनसरीको इटहरीमा पसल थपिए। यसपछि मेलान्ज नेपालगञ्ज पुग्यो। तर नेपालगञ्जमा शाखा खुलेकै साता कोरोना संक्रमण फैलिएर लकडाउन भएपछि व्यापार बन्द भयो।

‘कोरोनाका कारण सिटी सेन्टरको पसल एक वर्षसम्म बन्द भयो,’ रुबीले भनिन्, ‘सिटी सेन्टरमा बिक्री बन्द भए पनि पेप्सीकोलामा राम्रै व्यापार भयो।’

रुबीका अनुसार कोरोनाका बेला न्युरोड वा सिटी सेन्टरजस्ता मुख्य बजारभन्दा भित्री बजारमा किन्ने सुविधा पाएकोले पनि पेप्सीकोलामा राम्रो व्यापार भएको हो। उनले कोरोनाकै समयमा काठमाडौंको गोल्फुटारमा पसल थप्ने जोखिम उठाइन्।

विराटनगरकी रुबीले वातावरण विज्ञानमा स्नातक गरेकी छन् तर व्यापारतिर लागिन्। चालीस वर्षीया रुबी व्यवसायका सिलसिलामा नेपालका विभिन्न सहर घुम्छिन्, विदेश भ्रमणमा जान्छिन्, व्यवसायको सम्भावना र सुधारका पक्ष खोजी गर्छिन्।

उनी धेरै जसो भारत, चीन र थाइल्यान्ड पुग्छिन्।

भन्छिन्, ‘हामी दुवै जना (श्रीमान–श्रीमती) सँगै विदेश जाँदा उहाँ कम्प्युटर बजार जानुहुन्छ, म कपडा बजार जान्छु।’

रुबीलाई मेलान्ज यति चाँडै यसरी विस्तार होला र व्यस्तता बढ्ला भन्ने अनुमान नै थिएन।

‘कपडा व्यवसायमा सधैं नयाँ सामान खोज्न सक्नुपर्ने रहेछ,’ उनी भन्छिन्, ‘जाडोको लुगाबारे गर्मीमै र गर्मीको लुगाबारे जाडोमै योजना बनाउनु पर्ने रहेछ।’

रुबीका अनुसार दिल्लीबाट साढे दुई लाख रूपैयाँका लुगा ल्याएर सुरू गरेको व्यापार विस्तार हुँदै मेलान्जको पुँजी सात करोड रूपैयाँ नाघेको छ। मेलान्जले हाल २५ जनाभन्दा धेरैलाई रोजगार दिएको छ। यसमा महिलाको संख्या बढी छ।

वैदैशिक रोजगारीबाट फर्केका व्यक्ति रोजेर रोजगारी दिएको उनले बताइन्। उनका अनुसार यस्ता व्यक्ति समयको ख्याल गर्छन्, काममा ध्यान दिन्छन्।

आफूले फेसनमा कर्पोरेट कल्चर अभ्यास गरेको रुबीको भनाइ छ।

‘आगामी दिनमा लाइफ-स्टाइलसँग जोडिएका सबै खालका सामान राख्ने योजना छ,’ उनले भनिन्, ‘यस्तो लाइफ-स्टाइल स्टोर भारत र अन्य देशमा प्रचलनमा छ।’

अहिले विभिन्न ठाउँमा मेलान्जका ६ वटा पसल पुगिसके। चाँडै चितवन, बुटवल, पोखरा र हेटौंडाजस्ता सहरमा पनि खोल्ने योजना उनले बनाएकी छन्। सेतोपाटीबाट 

Europass CV in Nepal