काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति तथा टेस्ला कम्पनीका सीईओ एलन मस्कले सन् २०२२ को सुरुवातमै माइक्रो ब्लगिङ साइट ट्वीटर खरीद गर्ने प्रस्ताव गरेका थिए । उनले ट्वीटर कम्पनीको शतप्रतिशत शेयर ४४ अर्ब डलरमा खरीद गर्ने बताए ।
सोही बमोजिम मस्क र ट्वीटर कम्पनीबीच सम्झौता पनि भयो । तर पछि एलन मस्क ट्वीटर खरीद गर्ने सम्झौताबाट पछि हटे । मस्कको यस्तो एकतर्फी निर्णय विरुद्ध ट्वीटरले अदालत गुहारेको छ र निकट भविष्यमै मस्क विरुद्ध अमेरिकी अदालतमा ट्वीटरले हालेको मुद्दाको सुनुवाइ हुँदैछ । आफू विरुद्ध अदालतमा मुद्दा दायर भएको अवस्थामा एलन मस्कले पुनः ट्वीटर कम्पनी खरीद गर्ने मनस्थिति बनाएका छन् ।
ट्वीटरले आफ्नो प्लाटफर्ममा रहेका फेक अकाउन्टहरुको वास्तविक तथ्यांक उपलब्ध नगराएको आरोप लगाउँदै ट्वीटर कम्पनी खरीद गर्ने सम्झौताबाट पछि हटेका मस्क पुरानै प्रस्तावित मूल्यमा ट्वीटर खरीद गर्न तयार भएका छन् ।
पुरानै सम्झौता बमोजिम ट्वीटर खरीद गर्न एलन मस्क तयार भएको जानकारी ट्वीटरले गराएको छ । जस अनुसार प्रतिशेयर ५४.२० डलर मूल्यमा कूल ४४ अर्ब डलरमा मस्कले ट्वीटर कम्पनीको पूरै शेयर खरीद गर्नेछन् ।
पछिल्ला दिनहरुमा ट्वीटर र मस्कबीच लगातार नोकझोंक चलिरहेको थियो । ट्वीटरमा रहेका स्पाम तथा बोट्स अकाउन्टको तथ्यांकबाट मस्क बेखुस थिए । त्यसैले आफूले पहिले कबोल गरेको ४४ अर्ब डलर प्रस्तावित खरीद मूल्य घटाउनुपर्ने उनले माग गरेका थिए । यस विषयमा कम्पनीले यथार्थ जानकारी उपलब्ध नगराएसम्म पुरानो मूल्यमा खरीद कार्य गर्न नसक्ने अडान उनको थियो ।
तर हाल आएर मस्कले आफ्नो मन परिवर्तन गरेको देखिन्छ । उनले आफूले पुरानै मूल्यमा ट्वीटर कम्पनी खरीद गर्ने भनी ट्वीटरलाई पत्र लेखेका छन् । मस्कले ट्वीटर खरीद गर्न पुनः सहमति जनाएको खबर सार्वजनिक भएसँगै ट्वीटरको शेयर मूल्यमा पनि बढोत्तरी भएको छ । कम्पनीको शेयर मूल्यमा १२.७ प्रतिशतले बढेर ४७.९३ डलर पुगेको छ । –एजेन्सी