पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प २०२४ को राष्ट्रपति चुनावमा फेरी उठ्ने

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प २०२४ को राष्ट्रपति चुनावमा फेरी उठ्ने

काठमाडौँ ।  सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनावमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प उठ्ने भएका छन् । यसअघि रिपब्लिकन पार्टीबाट ट्रम्पले मंगलबार राति आगामी राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् ।

ट्रम्पले उम्मेदवारी दिने घोषणा गर्दै भनेका छन्, ‘अमेरिकालाई पुन: महान र गौरवशाली बनाउन मैले आज राति राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा गर्दैछु ।’ आफूले अमेरिकी नागरिकहरूबाट अपार माया पाएको उल्लेख गर्दै उनले अगाडि भने, ‘आजदेखि चुनावको दिनसम्म यसअघि कसैले नलडेको जसरी म लड्नेछ । हामीले अमेरिकालाई तहसनहस पार्न खोज्ने ‘कट्टरपन्थी डेमोक्रेटिक’ लाई हराउनेछौँ ।’

ट्रम्पले रुसले नेटोलाई आक्रमण गरिरहँदा राष्ट्रपति बाइडेन निदाइरहेको समेत आरोप लगाएका छन् । ट्रम्पले बाइडेनले युक्रेन द्वन्द्वलाई सम्बोधन गर्न नसकेको आरोप लगाउँदैृ अमेरिकालाई आणविक युद्धमा तानेको बताएका छन् । राष्ट्रपति बाइडेन भने जी-२० सम्मेलनका क्रममा यतिबेला इन्डोनेसियाको बालीमा छन् । उनले विश्वका विभिन्न देशका नेताहरूसँग भेटिरहेका छन् ।

राष्ट्रपति भएपछि उनले पहिलो पटक चिनियाँ समकक्षी सी चिनफिङसँग पनि प्रत्यक्ष कुराकानी गरेका छन् । यसले अमेरिकी-चीन सम्बन्धमा थप सुधार हुने अपेक्षा गरिएको छ ।

ट्रम्पले आगामी चुनावमा उम्मेदवारी दिने घोषणा गरिरहँदा बाइडेनको टिमले प्रतिक्रिया जनाएको छ । ट्रम्पले ‘अमेरिकालाई महान बनाउन’ आफूले पुन: उम्मेदवारी दिने घोषणा गरिरहँदा जो बाइडेनको निजी ट्विटर ह्यान्डलमा लेखिएको छ, ‘ट्रम्पले अमेरिकालाई असफल बनाए ।’