‘चीनको हाइपरसोनिक क्षेप्यास्त्रबाट चिन्तित अमेरिका उत्तर कोरियासँग सहकार्य गर्न तयार’

‘चीनको हाइपरसोनिक क्षेप्यास्त्रबाट चिन्तित अमेरिका उत्तर कोरियासँग सहकार्य गर्न तयार’

विश्वका शक्ति राष्ट्रहरुबीच शक्तिशाली हतियार प्रदर्शन गर्ने होड चलिरहँदा उनीहरुबीच सबैभन्दा शक्तिशाली मानिएको हाइपरसोनिक हतियार बनाउने प्रतिस्पर्धा पनि चलेको छ।

हाइपरसोनिक हतियार अर्थात् ध्वनीको गतिभन्दा ६ गुणा तिव्र हतियार जसमा आणविक क्षमता हुन्छ। यस्ता हतियारले हजारौं किलोमिटरको दुरी पार गर्नसक्छ र लक्षित क्षेत्रलाई ध्वस्त पारिदिन्छ।

यो हतियार हाल अमेरिका, चीन, उत्तर कोरिया र रुससँग भएको सैन्य विश्लेषकहरु बताउँछन्। रुसले हालै अन्तरिक्षमै हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको भन्दै अमेरिकाले चिन्ता प्रकट गरेको थियो।

Europass CV in Nepal

यतिबेला अमेरिकी रक्षामन्त्री लोएड अस्टिनले चीनको हाइपरसोनिक हतियारले तनाव उत्पन्न भएको बताएका छन्। चिनियाँ शक्तिशाली हतियारले आफू र आफ्ना सहयोगीलाई चिन्ता थपेको उनको भनाइ छ।

बिहीबार रक्षामन्त्री अस्टिन दक्षिण कोरियासँग सुरक्षाको विषयमा वार्ता गर्न कोरियाको राजधानी सोल पुगेका थिए। त्यहाँ दुवै देशले चीन र उत्तर कोरियाबाट उत्पन्न भएको खतराको विषयमा छलफल गरे।

चीन र उत्तर कोरिया अहिले ज्यादै शक्तिशाली हतियार बनाउने प्रयासमा लागि परेका छन्। उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको प्रतिबन्ध बाबजुद लगातार क्षेप्यास्त्र परीक्षण गरिरहेको छ।

चीनले पनि केही वर्षयता शक्तिशाली हतियार परीक्षण गरेको अमेरिकी भनाइ छ। अमेरिकाका अनुसार चीनले ‘पृथ्वी पुरै परिक्रमा गर्नसक्ने हाइपरसोनिक क्षेप्यास्त्र’ बनाएको छ। चीनले यो हतियार सफल रुपमा परीक्षण गरेपछि अमेरिका तनावमा छ।

चिनियाँ परीक्षण

यसैवर्षको जुलाईमा चीनले एक परीक्षण गरेको थियो जसलाई जानकारहरुले हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण भनेका छन्। तर चीनले भने सो परीक्षण पुरानो अन्तरिक्षयानलाई पुनः प्रयोग गर्नेसँग सम्बन्धित कार्य भनेका थियो।

सो परीक्षणको विषयमा अमेरिकी रक्षामन्त्री लोएड अस्टिन भन्छन्,‘चीन जुन सैन्य क्षमताको विकास गरिरहेको छ त्यसबाट हामी चिन्तित छौं किनभने सो कार्यले विश्वमा तनाव उत्पन्न भएको छ।’

चीनले सैन्य क्षमतालाई बढाउन नयाँ हतियार विकास गरिरहेको उनको भनाइ छ। तर चीनको खतराविरुद्ध तयार हुने उनी बताउँछन्। उनी भन्छन्,‘हामी आफ्नो र हाम्रा सहयोगीको रक्षाको लागि आफ्नो सैन्य क्षमता बढाउन जारी राख्छौं। चीनको जुनसुकै खतरासँग जुध्न तयार रहन्छौं।’

अमेरिकाले पनि बनाउँदै हाइपरसोनिक हतियार

गत महिना अमेरिकी सेनाका जोइन्ट चिफ अफ जस्टिस जनरल मार्क मिलेले अमेरिकाले हाइपरसोनिक हतियार बनाउन कदम चालिरहेको बताएका थिए। उनले कस्तो हतियार भनेर खुलाएनन् यद्यपी एन्टी मिसाइल प्रणालीले रोक्न नसक्ने हतियार बनाउनमा अमेरिका लागि परेको बताइन्छ। उनले सो क्रममा चीनले हाइपरसोनिक हतियार परीक्षण गरेको र अमेरिकाले त्यो अहिलेसम्म गर्न नसकेको बताएका थिए।

यद्यपी जानकारहरु त्यो पत्याउँदैनन्। यसैवर्षको सेप्टेम्बरमा अमेरिकाले हाइपरसोनिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको समाचारहरु आएका थिए। अर्को, अमेरिका विश्वमै आणविक हतियार सम्पन्न राष्ट्र हो।

उत्तर कोरियासँग सहकार्य गर्न तयार अमेरिका

अमेरिकी रक्षामन्त्री अस्टिनका अनुसार अमेरिका उत्तर कोरियासँग सहकार्य गर्न तयार छ। दक्षिण कोरियाका रक्षामन्त्री सु वुकसँगको छलफलका क्रममा अस्टिनले अमेरिका र उत्तरबीच साझेदारी हुनसक्ने विषयमा छलफल गरेका थिए।

अस्टिनका अनुसार उत्तर कोरियाको विषयमा अमेरिका र दक्षिण कोरिया दुवै सकरात्मक छन् र कूटनीतिक छलफलबाट समस्या टुंग्याउन प्रतिवद्ध छन्। उत्तर कोरियाले लगातार क्षेप्यास्त्र परीक्षण गरिरहँदा क्षेत्रीय सुरक्षामा चुनौती थपिएको र अस्थिरता पैदा भएको अमेरिका र दक्षिण कोरिया बताउँछन्।

राम्रो सम्बन्धको लागि सुरुमा उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणजस्ता उत्तेजक कदम त्याग्नुपर्ने अमेरिकी भनाइ छ।

उत्तर कोरियामा कोरोना महामारीका कारण आर्थिक संकट, खाद्य संकट उत्पन्न भएको छ। अमेरिका लगायत धेरै राष्ट्रले सहयोग गर्ने बताएपनि उत्तर कोरिया छलफलमा आउनै चाहँदैन। उत्तर कोरियाले भने आफूमाथिको अमेरिकी गलत रबैया हट्नु पर्ने र अन्तर्राष्ट्रियस्तरमा लगाएको प्रतिबन्ध हटाउनुपर्ने माग गर्दै आएको छ। बीबीसीको सहयोगमा

 

Europass CV in Nepal