कतारद्वारा विश्वकप विशेष नयाँ नोट र सिक्का जारी, एउटाको मूल्य ७५ रियाल

कतारद्वारा विश्वकप विशेष नयाँ नोट र सिक्का जारी, एउटाको मूल्य ७५ रियाल

दोहा। कतारको राष्ट्रिय बैंकले २२ रियालको नयाँ नोट र सिक्का जारी गरेको छ।विश्वकप–२०२२ को अवसरमा देशको सांस्कृतिक सम्पदा झल्काउने हेतुले नयाँ नोट र सिक्का जारी गरेको हो।

फिफा र सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसीसँगको समन्वयमा राष्ट्र बैंकले विश्वकप विशेष नोट र सिक्का सार्वजनिक गरेको हो।नोट र सिक्कामा विश्वकपको लोगो, ट्रफी, लुसेल र अल बायत रंगशालालगायत कतारको सांस्कृतिक सम्पदा झल्काउने प्रतिकहरु समावेश गरिएको छ।

Europass CV in Nepal

राष्ट्र बैंकका गभर्नर शेख बन्दर बिन मोहम्मद बिन सउद अल थानीलले विश्वकपको लागि बैंकिङ क्षेत्रले नयाँ मुद्रामार्फत योगदान गरेकोे बताए।नयाँ मुद्राले कतारको फुटबल इतिहासलाई प्रतिनिधित्व गर्ने छ। नोट र सिक्का विश्वकप दर्शक र स्थानीयले बैंक तथा एक्सचेञ्ज हाउसमार्फत पाउने छन्।

फिफा विश्वकप २०२२ को अवसरमा कतारको केन्द्रीय बैंकले अनावरण गरेको २२ रियालको नोट र सिक्कालाई कतारी रियाल ७५ पर्नेछ।+

यो पनि : ब्राजिलले पचाएपछि यसरी बनेको थियो नयाँ विश्वकप ट्रफी

विश्व फुटबल महासंघ (फिफा) का तत्कालीन अध्यक्ष जुलेस रिमेतले सन् १९२८ मा विश्वकपको योजना अघि सारेपछि दुई वर्षलगत्तै सम्भव भएको थियो ऐतिहासिक संस्करण र बनेको थियो विजेतालाई प्रदान गरिने आकर्षक ट्रफी ।

फ्रान्सका मूर्तिकार अबेल लाफलेउरले बनाएको ट्रफी ग्रिक सभ्यतामा विजयीका भगवान मानिने ‘नाइक’ले माला लगाएर दुई हातले टाउकोमा राखेर ट्रफी समातिरहेको स्वरुपको थियो ।

३५ सेन्टिमिटर उचाइ र ३ किलो ८०० ग्राम तौलको उक्त ट्रफीको ‘बेस’ नीलो रङको बहुमूल्य ढुंगा लापिस लाजुलीबाट बनेको थियो । बेसको चारै भागमा सुनका प्लेट जोडिएको थियो । जहाँ लेखिन्थ्यो विश्वकप विजेताको नाम । रिमेतले फिफा अध्यक्षका रुपमा कार्यकाल सम्हालेको २५ वर्ष पूरा भएको अवसरमा उनको योगदानलाई समर्पित गर्दै उक्त ट्रफीको नाम जुलेस रिमेत ट्रफी राखियो ।

विश्वकप विजेताको नाम अट्ने ठाउँ बढाउन सन् १९५४ मा जुलेस रिमेत ट्रफीको बेस हटाएर त्यसमा अझ अग्लो बेस राखियो । तर, सन् १९७० को विश्वकपले फिफालाई समस्यामा पार्‍यो । ब्राजिलले तेस्रोपटक विश्वकप जितेर ट्रफी पचाएपछि अर्को ट्रफी बनाउनुपर्ने बाध्यता फिफालाई आइपरेको थियो । त्यतिवेलासम्म तीनपटक विश्व विजेता बने ट्रफी सधैंभरिका लागि लैजान पाउने ‘पचाउने’ व्यवस्था थियो ।

हालको विश्वकप ट्रफी सन् १९७४ देखि प्रदान हुँदै आएको हो । त्यतिवेला नयाँ ट्रफी बनाउन विश्वभरका मूर्तिकारका लागि विज्ञापन आह्वान गरिएको थियो । ७ वटै महादेशबाट ५३ वटा आवेदन परेको थियो । अन्ततः इटालीका मूर्तिकार सिल्भियो गज्जानिगाको आवेदनलाई ‘अवार्ड’ गरियो । यसपटक ट्रफीमा भगवान अटाएनन् । बरु मानिसले विश्व जितेको ‘थिम’ले स्थान पायो ।

दुई मानिसले पृथ्वी उचालेको स्वरुपमा गज्जानिगाले बनाएको विश्वकप ट्रफी ३६.५ सेन्टिमिटर अग्लो र ६.१७५ केजीको छ । गोलाकार रहेको बेसको डायमिटर १३ सेन्टिमिटर रहेको छ । पृथ्वीलाई सुनौलो ढाँचामा प्रस्तुत गरिएको ट्रफीमा ७५ प्रतिशत सुनको मात्रा छ । ट्रफीको भित्री भाग भने खाली छ । ट्रफीको पिँधमा लेखिन्छ, विजेताहरुको नाम र हरेक संस्करणमा त्यहाँ थपिन्छन् विजेता ।

सन् १९९४ को विश्वकपपछि ट्रफीको पिँधमा प्लेट जडान गरेर विजेताको नाम ठाडो क्रममा लेख्न थालिएको थियो । सन् २०१४ को विश्वकपपछि विजेताको त्यसरी नाम लेख्ने तरिका फेरियो । धैरै विजेताको नाम अटोस् भनेर त्यसो गरिएको थियो । प्लेट विजेताको नामले भरिएपछि यही ट्रफीमा अन्य कुनै विकल्प खोजिन्छ वा अर्को ट्रफी तयार हुन्छ भन्नेबारे केही भनिएको छैन ।

तर, ब्राजिलले पचाएजस्तो अबको ट्रफी कुनै देशले पचाउन पाउने छैन । किनभने जतिपटक विश्वकप जिते पनि कुनै पनि देशले यो ट्रफी राख्न वा पचाउन पाउँदैनन् । जुरिचस्थित फिफा हेडक्वार्टरमा यसलाई राखिन्छ । ट्रफी टुर, विश्वकपको ड्र सार्वजनिक र फाइनल तथा समापन समारोहमा मात्र यसलाई बाहिर ल्याउने गरिएको छ ।

विश्वकप विजेतालाई फिफाले सुनको जलप लगाएको पित्तलको ट्रफी प्रदान गरिन्छ । फिफा वर्ल्डकप विनर्स ट्रफीका रुपमा प्रदान गरिने यो ट्रफी भने विजेताले आफूसँगै स्थायी रुपमा राख्न पाउँछन् । यस्तो ट्रफी सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजित विश्वकप दौरान नेल्सन मन्डेलालाई पनि प्रदान गरिएको थियो ।

विश्वकप ट्रफीको इतिहासमा व्यक्ति विशेषलाई दिइएको यही एकमात्र घटना हो । यस्तै राज्य प्रमुख र विश्वकप विजेतालाई मात्र विश्वकपको ‘सक्कली’ ट्रफी छुन दिने गरिएको छ । ट्रफी नक्कली पाए पनि विश्वकप विजेताले उपाधि राशि भने सक्कली नै पाउनेछन् । कतार विश्वकपमा यसपटक विजेताले ४२ मिलियन अमेरिकी डलर पाउनेछ ।

यस्तै उपविजेताले ३० मिलियन, तेस्रो स्थानको टोलीले २७ मिलियन, चौथोले २५ मिलियन अमेरिकी डलर प्राप्त गर्नेछन् । क्वार्टरफाइनल पुग्ने टोलीले १७-१७ मिलियन र प्रि-क्वार्टरफाइनल पुग्ने टोलीलाई १३-१३ मिलियन अमेरिकी डलर दिइनेछ ।

समूहगत चरणबाटै बाहिरिने टोलीले पनि ९-९ मिलियन अमेरिकी डलर प्राप्त गर्नेछन् । चार वर्षअघि रुसमा सम्पन्न विश्वकपको विजेता फ्रान्सले ३८ मिलियन अमेरिकी डलर र उपविजेता क्रोएसियाले २८ मिलियन अमेरिकी डलर पाएको थियो । सन् २००६ को विश्वकपअघिसम्म विजेताले १० मिलियन अमेरिकी डलरभन्दा बढी उपाधि राशि पाएको इतिहास थिएन ।

Europass CV in Nepal