चीनमा भएको देशव्यापी प्रदर्शनले काम गर्यो, विरोधपछि लकडाउन खुकुलो बनाइयो

चीनमा भएको देशव्यापी प्रदर्शनले काम गर्यो, विरोधपछि लकडाउन खुकुलो बनाइयो

बेइजिङ । चीनले विरोध प्रदर्शनहरू देशव्यापी बन्दै गएपछि कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएका लकडाउन खुकुलो पारेको छ ।सांघाई र गोङजाउ सहरका एक दर्जन जिल्लामा लकडाउन हटाइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । लकडाउन हटाइएका जिल्लामा पछिल्ला केही दिनमा भने भाइरसको संक्रमण बढेको जनाइएको छ । त्यसैगरी चोङकिङ्गमा पनि लडाउन खुकुलो बनाइएको छ ।

चीनका उपप्रधानमन्त्रीले देशले ‘नयाँ परिस्थिति’ को सामना गरेको जनाएका छन् । उपप्रधानमन्त्री सन चुनलानले ‘भाइरसका कारण हुने मृत्युदर निकै कममा झरेको’ भन्दै कोभिड नीति खुकुलो पारिएको बताएका बीबीसीले उल्लेख गरेको छ । पश्चिमी चीनको उरुम्चीमा कडा प्रतिबन्ध जारी रहेका बेला गत साता एक अपार्टमेन्टमा फैलिएको आगलागीमा १० जनाको ज्यान गएको थियो । भाइरससम्बन्धी कडा प्रतिबन्धका कारण उनीहरूको ज्यान गएको भन्दै स्थानीयले चीनको शून्य कोभिड नीतिको विरोधमा प्रदर्शन सुरु गरेका थिए । पछि उक्त प्रदर्शन देशका अन्य सहरहरूमा पनि फैलिएको थियो ।

चिनियाँ अधिकारीहरूले भने भाइरससम्बन्धी प्रतिबन्धका कारण उरुम्चीमा दस जनाको ज्यान गएको अस्वीकार गर्दै आएका छन् । तर आवासीय क्षेत्रमा जारी कडा लकडाउन मृत्युको कारक भएको भन्दै इन्टरनेट प्रयोगकर्ताहरूले चिनियाँ अधिकारीको भनाइको प्रतिरोध गर्दै आएका छन् ।

Europass CV in Nepal

सांघाई सहरमा सयौं स्थानीयले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजीनामा माग्दै प्रदर्शन गरेका थिए । त्यस्तै, राजधानी बेइजिङ, नान्जिङ, गोङजाउ, चोङकिङ्गलगायतका स्थानमा प्रदर्शहरू चर्केका थिए । चीनमा भएका पछिल्ला प्रदर्शनहरू चिनियाँ कम्युनिस्ट पार्टी र नेतृत्वविरुद्ध भएका निकै दुर्लभमध्येका भएका जनाइएको छ ।

चिनियाँहरूले खुला रूपमै राष्ट्रपति सीको राजीनामा माग्दै प्रदर्शन गर्नुलाई उनीविरुद्ध बाहिर देखिएको हालसम्मकै कडा आलोचना हो । प्रदर्शनकारीले ‘सी चिनफिङ राजीनामा देऊ, पीसीआर परीक्षण चाहिँदैन, हामीलाई स्वतन्त्रता देऊ’ भन्दै नाराबाजीसमेत गरेका थिए । लकडाउनले दैनिक जनजीवन निकै कष्टकर बनेको प्रदर्शनकारीको भनाइ छ ।

चीनले कोरोना भाइरसविरुद्ध सुरु देखि नै ‘शून्य सहनशीलता’ नीति अख्तियार गर्दै आएको छ । विश्वका अधिकांश देशले कोभिडसँगै जीउने नीति लिइरहेका बेला पनि चीनका दर्जनौं सहरमा दसौं लाख मानिसहरू लकडाउनमा छन् । जसका कारण सरकारको ‘शून्य कोभिड’ नीति र यसका सूत्रधार राष्ट्रपति सीविरुद्ध आन्दोलन चर्केको हो ।

Europass CV in Nepal